+

सिजेरियन डेलिभरीपछि के-कस्ता कुरामा ध्यान दिनुपर्छ ?

२०८१ साउन  २२ गते १३:२५ २०८१ साउन २२ गते १३:२५
सिजेरियन डेलिभरीपछि के-कस्ता कुरामा ध्यान दिनुपर्छ ?

अहिले बच्चा जन्माउने विभिन्न विधि प्रचलनमा छन् । अत्याधुनिक प्रविधिको उपलब्धतासँगै डेलिभरी गर्न विभिन्न विकल्प अपनाउन थालिएको छ ।

सामान्य प्रसूति नहुने स्थितिमा वा कुनै अप्रत्यासित जटिलतामा अन्य विकल्प अपनाइने गरिन्छ । यस्तै विकल्पमध्ये मुख्य मानिन्छ सिजेरियन । अर्थात् शल्यक्रियाबाट गरिने प्रसूति ।

यस विधिबाट बच्चा जन्माउँदा तुलनात्मक रुपमा पीडा र जोखिम कम भए पनि पछि सुत्केरी अवस्थामा तंग्रिन समय लाग्छ । शरीर छिट्टै फूर्तिलो हुँदैन र घाउ निको हुन पनि समय लाग्छ । यस्तो अवस्थामा सुत्केरीले के गर्ने, के नगर्ने, के खाने, के नखाने भन्ने कुरामा चासो दिनुपर्छ ।

शल्यक्रियापछिको पहिलो चार दिन

यदि शल्यक्रियाबाट बच्चा जन्माएको छ भने २४ घण्टासम्म सुत्केरी महिलालाई अस्पतालको विशेष निगरानीमा राखिन्छ । त्यसपछि केही दिनसम्म अस्पतालमा राखेर हेरचाह गर्नुपर्ने हुन्छ ।

कसरी हुन्छ शल्यक्रिया ?

केही महिलालाई पूरा बेहोस बनाई सिजेरियन गरेपनि धेरैजसोलाई शल्यक्रिया गर्दा ढाडमा नदुख्ने खालको एनेस्थेसिया दिइन्छ । एनेस्थेसियाको औषधिको असर छउन्जेल महिलालाई घाउको दुखाइको अनुभव हुँदैन । सिजेरियन शल्यक्रिया गर्न करिब आधा घण्टा समय लाग्छ । औषधिको असर पनि आधा घण्टासम्म कायम रहन्छ । शल्यक्रिया सकिएको केही घण्टापछि औषधिको असर कम हुँदै जाने हुनाले काटेको घाउ पोल्न थाल्ने र खुट्टा पनि दुख्न थाल्ने हुन्छ । जसकारण हलचल गर्दा, बस्दा, हाँस्दा र खोक्दा पनि दुखाइको अनुभव हुनसक्छ ।

यस्तोमा महिलालाई बेडमा नै २४ घण्टासम्म आराम गर्न लगाइन्छ । यो समयमा शौचालय जान र उभिन पनि कठिन हुन्छ । त्यसकारण पिसाबको लागि ‘क्याथेटर’ राखिएको हुन्छ । जसबाट सुतिरहेको वा आराम गरिरहेको बेलामा पनि पिसाब सहजै संकलन भइरहेको हुन्छ ।

पहिलो स्तनपान

बच्चा जन्मिएको १-२ घण्टाभित्रै स्तनपान गराउन दिइन्छ । पहिलो पटक दूध खुवाउन कठिन र असहज हुनसक्छ । तर प्रयास भने जारी राख्नुपर्छ ।

महिलाले के खाने ?

शल्यक्रिया गरेको २४ घण्टासम्म सलाइनबाट नै शरीरलाई चाहिने पोषण दिइएको हुन्छ । त्यकारण केही खानेकुरा खान दिइँदैन र आवश्यक पनि हुँदैन । अर्को दिनबाट भने तरल खानेकुरा ज्वानोको झोल, दाल र गेडागुडीको झोल खान दिइन्छ ।

अस्पतालमा बसेको दोस्रो दिनबाट विस्तारै हिंडडुल गर्नेदेखि बच्चालाई दूध खुवाउन, आफैं दिसा, पिसाब गर्न जान अभ्यस्त गराइन्छ । चार दिनमा महिलाको स्वास्थ्यमा निकै सुधार आइसकेको हुन्छ । अस्पतालमा बसेको अन्तिम दिन शल्यक्रिया गरेको घाउ, बच्चाको अवस्था हेरेर अस्पतालले डिस्चार्ज दिन्छ ।

डिस्चार्जपछि केकस्ता कुरामा ध्यान दिने ?

– सुत्केरीको सहजताको ख्याल गर्दै ट्याक्सी वा एम्बुलेन्सबाट मात्रै घर लैजानु उपयुक्त हुन्छ । सुत्केरी महिलालाई भर्‍याङ चढ्न र ओर्लिन कठिन हुने हुँदा सम्भव भएसम्म भर्‍याङ चढ्न र ओर्लिन नपर्ने कोठामा राख्नुपर्छ ।

 – सामान्य किसिमको घाउ एक हप्ताभित्र निको हुन्छ । तर सिजेरियन भनेको ठूलो शल्यक्रिया हो । घाउ भरिन र दुखाइ हराउन कम्तीमा पनि ६ साता लाग्न सक्छ । अत्यधिक दुखाइ भएमा चिकित्सकलाई सोधेर मात्र औषधि लिन सकिन्छ ।

– घाउमा राखिएको ब्यान्डेज पसिनाले भिजेर गन्हाइरहेको हुनसक्छ । यस्तोमा अनुभवी व्यक्ति वा स्वास्थ्यकर्मीले घाउ बेटाडिनले सफा गरी ब्यान्डेज लगाइदिन सकिन्छ ।

– सुत्केरी महिलाको १४ दिनसम्म रगत मिश्रित योनीस्राव हुनसक्छ । त्यसका लागि प्याड लगाइराख्नुपर्छ । त्यसपछि पनि यस्तो स्राव भइरहेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

– सिजेरियनको ५ देखि ९-१० दिनमा टाँका निकाल्न अस्पताल जानुपर्छ ।

– सुत्केरीको ६ देखि ८ सातासम्म भारी वस्तु उचाल्न वा काम गर्नुहुँदैन ।

– शरीरमा तागत ल्याउन छोटो दूरी बिस्तारै हिंड्ने प्रयास गर्नुपर्छ ।

– सुत्केरी महिलालाई सुतीको हल्का लुगा दिइन्छ । तर कसिलो लुगा लगाउनु हुँदैन ।

– शरीरको दुखाइ कम गर्न दैनिक बिहानको घाममा तेल लगाउन सकिन्छ । यसले रक्तसञ्चार प्रवाह गरी शरीरलाई आराम दिन मद्दत गर्छ ।

– सुत्केरी महिलाले दैनिक वा एक-दुई दिनको अन्तरालमा मनतातो पानीले नुहाउनु उपयुक्त हुन्छ । जति सरसफाइमा ध्यान दियो, त्यति शरीर फूर्तिलो र संक्रमणरहित हुन्छ ।

कस्तो खानपिन गर्ने ?

प्राकृतिक वा सिजरियन जुनसुकै विधिबाट सुत्केरी भएपनि खानामा कुनै रोकटोक हुँदैन । दुवै अवस्थामा उस्तै खानेकुरा दिइन्छ ।

सुत्केरी महिलालाई विशेषगरी ज्वानोको झोल, माछा मासु, गेडागुडीको झोल, सुत्केरी मसला (मेथी, गुद, काजु, बदाम, छोकडा, बत्तिसा, मिश्री, सक्खर) लगायत थप पोषिलो खाना खुवाए शिशुलाई प्रशस्त मात्रामा दूध पुग्न सक्छ । महिलाको शरीरमा पनि तागत बढ्छ र घाउ पुरिन मद्दत पुग्छ ।

शाकाहारी सुत्केरी महिलाले टुसा उमारेको गेडागुडी, दूग्ध पदार्थ, कुरिलो, च्याउ भटमास, तोफु, डाइफ्रुट्स लगायत खानेकुराहरु खान सक्छिन् ।

शिशु जन्मिएपछि आमालाई ४२ दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खुवाउनुपर्छ । भिटामिन ए क्याप्सुल खानाले आमाको दूध थप पोषिलो बनाउँछ, जसले शिशुलाई स्वस्थ र बलियो बनाउँछ मद्दत गर्छ ।

कति खाने ?

सुत्केरी भन्दैमा टन्न खानेकुरा खान दिनुपर्छ भन्ने हुँदैन । खानेकुरा पटक-पटक गरी थोरै थोरै मात्रा खान दिनुपर्छ  । यस दौरान दैनिक डेढ-दुई लिटर पानी पिउनुपर्छ । यसले कब्जियत हुन दिंदैन ।

कस्तो बेला तुरुन्त अस्पताल जाने ?

– लगातार अत्यधिक रक्तस्राव भएमा वा १४ दिनभन्दा लामो समयसम्म भएमा

– घाउ सुन्निएर रातो भई पाकेमा वा टाँका चुँडिएको अनुभव भएमा

– कम्मरमा अत्यधिक दुखाइ लगातार बढेमा

– स्तन सुन्निने, रातो हुने र एउटा स्तन तातो भएको अवस्था (यो लक्षण संक्रमण भएमा देखिन्छ)

– अत्यधिक ज्वरो आएमा ।

डा. सविता थापा प्रसूति सिजेरियन डेलिभरी
डा. सविता थापा
लेखक
डा. सविता थापा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. थापा भरतपुरस्थित वात्सल्य नेचुरल आइभिएफ सेन्टरमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१७९० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?