वीर अस्पतालको नाक, कान तथा घाँटीरोगको ओपीडीमा दैनिक १० देखि १५ जना बिरामी कान बज्ने समस्या लिएर पुग्छन् । यसको मतलब यो समस्या हुनेहरूको संख्या बढ्दो छ ।
जसले अनुभव गरेको छैन, उनीहरूलाई कान बज्छ भनेको सुन्दा पनि अनौठो लाग्न सक्छ । तर जो भोगिरहेको छ, उसका लागि यो एक किसिमको बोझ नै भएको अनुभव हुनसक्छ । किनकि कान बजेको आवाजले गर्दा न दिनमा आरामसँग बस्न सकिन्छ, न रातमा निद्रा पार्छ । यो समस्या रहिरह्यो भने मानसिक समस्या नै ल्याउन सक्छ ।
खासमा यो कस्तो समस्या ?
कान कराउने समस्यालाई चिकित्सकीय भाषामा ‘टिनाइटिस’ भनिन्छ । यो समस्या हुँदा कानमा अप्राकृतिक आवाज आउँछ । जस्तो कि कानमा घण्टी बजेको जस्तो अनुभव हुनसक्छ । त्यो आवाज घण्टी बजेको जस्तो मात्र नभएर कतिपयले कहिलेकाहीं बाघको जस्तो गर्जन, सुकेको पात हल्लिएको जस्तो, सर्पको आवाज, घडीको सुई टिकटिक गरेको जस्तो आवाज आउन सक्छ ।
कान बज्ने कारण
कान बज्ने कारण एउटा मात्र नभई धेरै छ । जसले कान बज्नुको कारण पत्ता लगाउन गाह्रो हुन्छ । कान बज्ने कारणलाई दुई भागमा वर्गीकरण गरिएको छ । एउटा कानभित्रको समस्या र अर्को कान बाहिरको समस्या ।
कानभित्रको समस्या
कानभित्रको समस्या पनि व्यक्ति स्वयंले अनुभव गर्ने र कानको आवाज बिरामी बाहेकको व्यक्तिले पनि सुन्ने गरी दुई प्रकारका हुन्छन् ।
व्यक्ति स्वयंले अनुभव गर्ने
कानमा कानेगुजी भरिएमा, कानको जाली फुटेमा, कान पाकेमा, कानको मध्य भागमा पानी जमेमा, बाहिरी होहल्ला, औद्योगिक आवाजले कानको जालीमा असर गरेमा कान कराउन सक्छ । एन्टीबायोटिक तथा औषधि तथा पेनकिलर औषधिको बढी सेवन गर्दा पनि कान कराउन सक्छ ।
वृद्ध उमेर
७० वर्ष कटे पनि कानको श्रवण शक्ति गुम्न सक्छ । किनकि जति उमेर बूढो हुँदै गयो त्यति दिमाग र कानलाई जोडने नसा कमजोर हुन्छ । कमजोर भएपछि स्वरलाई लैजाने त्यसमा हुने विद्युतीय तरङ्गहरू पहिलेको जस्तो काम गर्न सक्दैनन् । जसकारण उनीहरूसँग कुरा गर्दा जोडले बोल्नुपर्ने हुन्छ । उनीहरूमा बाहिरको स्वर कम सुन्ने र कानभित्र बढी बजिरहेको अनुभव हुनसक्छ । कानको मध्यभागमा नसाबाट पलाएको ट्युमर, ब्रेन ट्युमरले गर्दा कान कराउन सक्छ ।
त्यस्तै, अटोस्क्लेरोसिस (कानभित्रका हड्डी खिइने) समस्या भएपनि कान कराउँछ । कानभित्र तीनवटा हड्डी हुन्छ । जुन आवाज आइसकेपछि हल्लिनुपर्छ । तर अटोस्क्लेरोसिसको समस्या भएमा हड्डी जाम भएर हल्लिन पाउँदैन । जसकारण कान कराउँछ ।
अरूले पनि सुन्न सक्ने समस्या
कानको भित्र रहेको रक्तनलीमा खराबी आएमा कान कराउँछ । जुन अरूले पनि सुन्न सक्छन् । कानभित्र रहेको रक्तनलीमा दबाब परेर सुन्निएर ठूलो भयो भने कानबाट आवाज आउन सक्छ । कान हुँदै मस्तिष्कमा पुग्ने नसा ठूलो भएमा रिंगटा लाग्ने र कानबाट आवाज आउन सक्छ ।
कानबाहिरको समस्या
मस्तिष्कमा भएको ट्युमर, रक्तअल्पता, रक्तचाप उच्च वा अति न्यून भएमा, छारेरोग र माइग्रेनको समस्याले पनि कान बज्न सक्छ ।
मानसिक अवस्था
मानसिक अवस्थामा सन्तुलन बिग्रिएमा पनि कान कराउन सक्छ । जस्तै, डिप्रेसन, एन्जाइटी, सिजोफ्रेनिया भएमा पनि कानबाट आवाज आएको अनुभव हुन्छ । मानसिक समस्याले गर्दा व्यक्ति भ्रमित हुन्छ । जसले गर्दा कोही नहुँदा पनि उनीहरूले कोही बोलेको, केही आवाज आएको अनुभव गर्न सक्छन् ।
कानको समस्याले पनि बिग्रिन्छ मानसिक सन्तुलन
कान बजिरहेमा दैनिकी मात्र बिग्रँदैन । यसले व्यक्तिलाई २४ घण्टा नै तनावग्रस्त बनाउन सक्छ ।
कस्तो अवस्थामा त ?
कतिपय अवस्थामा धेरै चिकित्सकलाई जचाउँदा पनि समस्या पत्ता लागेको हुँदैन । जसकारण उनीहरू विक्षिप्त अवस्थामा पुग्न सक्छन् ।
उनीहरू चिन्तित हुने, मुड स्वीङ हुने, झर्को लाग्ने, टाउको दुख्ने र त्यो आवाजले गर्दा २४ घण्टै डिस्टर्ब भइराख्छन् । कतिपयलाई भने मानसिक समस्या नियन्त्रण गर्ने औषधिले पनि कान कराउन सक्छ । लामो समयसम्म औषधि खाँदा पनि त्यसको असरको रूपमा कान कराउन सक्छ ।
यसो भन्दैमा सो औषधिले नै मानसिक सन्तुलन कायम गर्ने हुँदा खान छोड्नु भने हुँदैन । कान कराउने समस्या आए सम्बन्धित चिकित्सकलाई बताउनुपर्छ ।
लक्षण
कान नसुन्नेसँगै अन्य लक्षण पनि बिस्तारै देखिन सक्छ । जस्तै, कान नसुन्ने, कानमा आउने आवाजले रिंगटा चल्ने र कान डम्म हुने जस्ता लक्षण पनि हुनसक्छ ।
कति बेला अस्पताल जाने ?
कान कराउने समस्याले दैनिक क्रियाकलापमा असर पर्ने गरी एक दिनभन्दा बढी समय अनुभव गरेमा तुरुन्त चिकित्सकलाई देखाउनु उचित हुन्छ । किनकि जति छिटो समस्या पहिचान र उपचार भयो त्यति छिटो यो समस्या निको हुन्छ ।
जति ढिला गर्यो त्यति यो समस्याले कानको अन्य कार्य पनि कम गराउँदै लैजान्छ । निको पार्न पनि कठिन हुन जान्छ ।
जस्तै, कोही कराउने बित्तिकै आएमा छिटो समस्या पत्ता लाग्छ । तर, वर्षौसम्म उपचार नभएको समस्या त्यत्तिकै जटिल भइदिन्छ । कतिपय अवस्थामा असम्भव जस्तै हुन्छ ।
पहिचान
यसको पहिचानको लागि सबैभन्दा पहिला कानको कुन समस्या हो भनेर विस्तृत विवरण लिइन्छ । यसबाट कुन समस्याले कान बजेको भनेर अनुमान लगाउने प्रयास हुन्छ ।
त्यसपछि कानको श्रवणको जाँच गर्ने विधि (पीटीए)को परीक्षण गरिन्छ । साथै कानको मध्य भागको परीक्षण पनि गरिन्छ । यसबाट पनि पत्ता नलागे मस्तिष्कको समस्याको कारणले हो कि भनेर मस्तिष्कको सिटी स्क्यान र एमआरआई गरी हेरिन्छ ।
तर विडम्बना के छ भने कतिपय केसमा यी सबै परीक्षणपछि कारण नै पत्ता लाग्न सक्दैन । फलस्वरुप सही उपचार हुन पाउँदैन ।
उपचार
कारण पत्ता लागेपछि सोही अनुसारको उपचार हुन्छ । कानमा पिप, पानी भरिएको, कानेगुजी भरिएको भए झिकेमा कान कराउने समस्या निको हुन्छ । त्यस्तै कानको ट्युमर, ब्रेन ट्युमर वा जाली फुटेमा शल्यक्रिया गरी उपचार हुन्छ ।
उपचार नै नभेटिएको केसमा के गर्ने ?
कारण पत्ता नलागेको खण्डमा बिरामी मात्र होइन, चिकित्सकलाई पनि एक चुनौती जत्तिकै हुन्छ । तसर्थ, त्यस समय पनि केही प्रयास चिकित्सकको तर्फबाट हुन्छ । जसले समस्या निको नपारेपनि बिरामीलाई राहत दिन केही हदसम्म मद्दत गर्छ ।
जस्तो कि, कारण पत्ता नलागेका व्यक्तिलाई पहिला परामर्श दिइन्छ । परामर्शमा हरेश नखाई धैर्य गर्न र कानको आवाजबारे मात्र सोची बस्नु हुँदैन भनेर सम्झाई उनीहरूलाई सहज पार्ने प्रयास गरिन्छ ।
यसले सुताइमा समेत प्रभाव पार्ने भएकाले कान बज्ने आवाजलाई नियन्त्रण गर्न सकिंदैन । तर बाहिरी आवाजले त्यसलाई दबाउने प्रयास गर्न लगाइन्छ ।
उदाहरणका लागि, आवाज आउने भित्ते घडी सिरानी नजिक राखेर सुतेमा त्यसबाट निस्कने आवाजले कानबाट निस्कने आवाजलाई दबाइदिन्छ । जसले गर्दा शान्तसँग सुत्न सम्भव बनाउँछ । यसको विकल्पमा म्युजिक बजाएर सुत्न सकिन्छ ।
केही औषधि थेरापी दिइन्छ । हर्बल औषधि कानमा लगाउन दिइन्छ । भिटामिन बी कम्प्लेक्स खान सिफारिस गरिन्छ । कतिपय केसमा कारण पत्ता नलागे पनि यी औषधिले पनि निको पारेको छ ।
यस बाहेक पोषणयुक्त खानेकुरा माछामासु, पूर्ण अन्न भएका खाद्यान्न, भिटामिनयुक्त खानेकुराको तालमेल मिलाउन सुझाइन्छ । यो समस्या भएकालाई ध्वनि थेरापी पनि गरिन्छ । यसले बाहिरबाट केही यन्त्रले कानमा आवाज पठाएर कानभित्र बजेको आवाजलाई नियन्त्रण गर्ने प्रयास गरिन्छ ।
प्रतिक्रिया 4