स्तन क्यान्सर, फोक्सोको क्यान्सर, पाठेघरको क्यान्सर, आन्द्राको क्यान्सर गरी क्यान्सरका धेरै प्रकार हुन्छन् । यी सबै क्यान्सरको पछाडि एउटा साझा कारण छ, कोषिकाहरुको असामान्य वृद्धि । यो रोगमा शरीरको कुनै पनि अंगमा कोषिकाहरुको अनियन्त्रित विभाजन हुन थाल्छ ।
केमोथेरापी क्यान्सरको उपचारमा प्रयोग हुने सबैभन्दा सामान्य उपचार पद्धति हो । केमोथेरापी क्यान्सर कोषिकाहरु नष्ट गर्न प्रयोग गरिन्छ । केमोथेरापीले क्यान्सर कोषिकाहरु फैलिनबाट रोक्छ । अरू कोषहरूलाई बनाउन, बढ्न र विभाजित गर्नबाट रोकेर काम गर्छ । किनभने क्यान्सरका कोषहरू आम रुपमा सामान्य कोषहरूको तुलनामा तीव्र रुपमा बढ्छ र विभाजित हुन्छ ।
यसैले केमोथेरापी गर्दा यसले क्यान्सर कोषहरूमा अधिक प्रभाव पर्छ । तर केमोथेरापीको लागि उपयोग गरिने औषधि यति धेरै शक्तिशाली हुन्छन् कि कहिलेकाहीं त्यसले स्वस्थ कोषहरूलाई पनि असर गर्न सक्छन् ।
जसरी ब्याक्टेरियाको उपचारमा प्रयोग गर्ने औषधिलाई एन्टिबायोटिक भनिन्छ त्यसरी नै क्यान्सर उपचारमा प्रयोग गर्ने औषधिलाई केमोथेरापी भनिन्छ । केमोथेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापी, इम्युनो थेरापी, कार टी सेल थेरापी र बोनम्यारो (हड्डीभित्र हुने मासी) प्रत्यारोपण सबै क्यान्सरको उपचारमा प्रयोग हुने प्रणालीगत थेरापी अन्तर्गत पर्छ ।
कुन स्टेजको क्यान्सरका बिरामीलाई केमोथेरापी दिइन्छ ?
क्यान्सरको अवस्था, स्टेज र प्रकारअनुसार बिरामीलाई केमोथेरापी दिनुपर्ने हुन्छ । कसैलाई सुरुवाती स्टेजमै केमो दिनुपर्छ भने कसैलाई चौथो स्टेजमा मात्रै दिनुपर्ने पनि हुन्छ । प्रायः पहिलो स्टेजमा भन्दा दोस्रो तेस्रो र चौथो स्टेजमा यो थेरापी बढी आवश्यक हुन्छ ।
कुनै क्यान्सरको निदान गर्न, कुनैलाई घटाउन र कुनै बिरामीलाई बढ्न नदिन केमो दिइन्छ । स्तन क्यान्सरको पहिलो स्टेजमा शल्यक्रिया र विकिरणले सेकेर नै क्यान्सर निको हुन सक्छ, केमो दिइरहनु पर्दैन । ठूलो आन्द्राको क्यान्सरको सुरुवाती चरणमा पनि केमो दिनु पर्दैन । यी दुईबाहेक केही क्यान्सरमा भने पहिलो चरणमै केमो दिनुपर्ने हुनसक्छ ।
क्यान्सरको बिरामीलाई सामान्यतया कति पटक केमोथेरापी दिनुपर्छ ?
कुन क्यान्सर हो र अवस्था कस्तो छ ? त्यसअनुसार केमोको संख्यामा फरक पर्न सक्छ । डिम्बाशयको क्यान्सरमा ६ साइकल केमो दिए पुग्छ, स्तन क्यान्सरमा चारदेखि आठ साइकल दिए हुन्छ । अन्य क्यान्सरमा थपघट हुनसक्छ ।
विशेषगरी फोक्सोको क्यान्सरमा धेरै लामो समयसम्म केमो दिएको उदाहरण छ । तर सामान्यतया चार पटकदेखि जीवनभर दिनुपर्ने पनि हुनसक्छ ।
केमोथेरापीको केही साइड–इफेक्ट
क्यान्सर दीर्घरोग रोग हो । यसमा शरीरका कोषिकाहरु अनियन्त्रित भएर विभाजित हुन्छन्, यो विभाजित हुने प्रक्रियालाई केमोथेरापीले रोक्छ । केमोले अनियन्त्रित विभाजित हुने खराब कोषिकालाई पनि मार्छ र त्योसँगै प्रत्येक दिन विकसित हुने सामान्य कोषिकालाई पनि मार्छ । कपालको कोषिका दैनिक विकास हुन्छ । केमोले त्यसलाई असर गर्छ, जसले गर्दा कपाल झर्छ ।
अर्को हाम्रो पाचन प्रणाली मुखदेखि मलद्वारसम्मको कोषिका पनि दैनिक विकास हुन्छ । त्यसलाई पनि असर गर्छ, जसले गर्दा वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, कब्जियत हुने जस्ता समस्या देखिन्छ । सेतो, रातो रगतको कमी हुने । साथै महिलामा महिनावारी सुक्ने, पुरुषमा शुक्रकीट नहुने जस्ता समस्या पनि देखिन्छ । केमोले नयाँ बन्ने कोषिकालाई मार्ने भएकाले यस्ता समस्या देखिएका हुन् ।
मेडिकल साइन्सले केमोथेरापीको बेला हुने यी साइड-इफेक्टलाई कम गर्ने औषधिहरूको विकास पनि गरिसकेको छ । त्यसैले यो औषधि प्रयोग गर्न डराउनु पर्दैन ।
कसरी दिइन्छ केमोथेरापी ?
सामान्यता ९० प्रतिशत जस्तो केमोथेरापी रगतका नसाबाट दिइन्छ । इन्जेक्सनबाट दिनुपर्ने खण्डमा भर्ना राखी सुईबाट केमो औषधि दिइन्छ ।
कतिपय बिरामीलाई खाने औषधिको रुपमा पनि दिइन्छ । साथै कसैको क्यान्सर मस्तिष्कमा फैलिएको छ भने ढाडबाट पनि केमोथोरपी दिइन्छ । कसैलाई छालाको क्यान्सर भएको छ भने मल्हमको रुपमा पनि दिइन्छ ।
केमोथेरापी लिइरहेका व्यक्तिले ध्यान दिनुपर्ने कुरा
केमोथेरापी लिइरहेको व्यक्तिले सबैभन्दा पहिले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । किनकि हाम्रो शरीरमा नयाँ कोषिका बन्न आवश्यक पर्ने कुरा स्वस्थ र सन्तुलित खानपानबाट नै प्राप्त हुन्छ । घरमै बनेका ताजा खानेकुरा त्यसमा पनि अलि बढी प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
केमो लिइरहेका व्यक्तिले पर्याप्त मात्रामा आराम गर्नु पनि जरुरी छ । दैनिक सातदेखि १० घण्टासम्म आराम गर्नुपर्छ । दैनिक रुपमा हल्का व्यायाम गर्नु पनि राम्रो हुन्छ । हिंड्डुल, योगा र हल्का व्यायाम घरमै गरेर शरीरलाई सक्रिय राख्नुपर्छ ।
क्यान्सरको उपचार लिइरहेका बेला रोगप्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ यस्तोमा संक्रमण हुने सम्भावना बढी हुन्छ । यस्तोमा सरसफाइमा विशेष ध्यान दिनुपर्छ, भीडभाडमा नजाने जानैपरे मास्कको प्रयोग गर्ने लगायत कुरामा पनि ध्यान दिनुपर्छ ।
केमोथेरापी लिइसकेपछि शरीरमा निलो डाम देखा पर्यो, बिमिराहरू देखा पर्यो, गिजा वा नाकबाट रगत बग्यो भने तुरुन्त उपचार गरिरहेको चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
क्यान्सरका लागि अन्य औषधि उपचार
टार्गेटेड थेरापी : यो उपचारले क्यान्सर कोषहरूमा पाइने जिन वा प्रोटिनलाई लक्षित गर्छ । ती जिन वा प्रोटिन विशेष क्यान्सर कोषहरू विकास गर्ने आवश्यकता हुन्छ ।
इम्युनो थेरापी : यस उपचारले शरीरलाई प्राकृतिक सुरक्षा क्यान्सरबाट लड्न मद्दत गर्छ । यो उपचारको उपयोग आजभोलि केही प्रकारको क्यान्सरका लागि गरिन्छ ।
हर्मोन थेरापी : यो उपचारले शरीरमा हर्मोनको मात्रा बदल्छ । हर्मोनमा रासायनिक हुन्छ । हर्मोन शरीरमा स्वभाविक रूपले उत्पादन हुन्छ । यसले केही कोषहरू वा अङ्गको गतिविधिलाई नियन्त्रण गर्नमा मद्दत गर्छ । हर्मोनको स्तरले कैयौं प्रकारको क्यान्सरलाई नियन्त्रित गर्ने भएकाले चिकित्सकहरूले हर्मोन थेरापीको उपयोग गर्छन् । यसमा केही स्तन र प्रोस्टेट क्यान्सर समावेश छन् ।
कार–टी सेल थेरापी : कार–टी सेल एक विशेष उपचार पद्धति हो, जुन रक्त क्यान्सरका बिरामीमा निकै प्रभावकारी देखिएको छ । बिरामीकै शरीरभित्र रहेको ‘टी’ नामक प्रतिरक्षा कोषको प्रयोग गरेर उपचार गरिने प्रविधि हो । शरीरभित्र, खासगरी रक्तप्रणालीमा हुने ‘टी’ कोषलाई निकालेर प्रयोगशालामा जेनेटिक इन्जिनियरिङ गरी क्यान्सर चिनेर त्यस विरुद्ध क्रियाशील हुन सक्ने बनाएर बिरामीको शरीरभित्र पठाइन्छ, जसले क्यान्सरलाई मार्न सक्छ ।
बोनम्यारो प्रत्यारोपण : केमोथेरापीबाट निको नहुने रक्त क्यान्सरको उपचार बोनम्यारो (हड्डी भित्र हुने मासी) प्रत्यारोपणबाट गरिन्छ । शरीरमा भएको अस्वस्थ बोनम्यारोलाई नष्ट गरेर अर्को स्वस्थ बोनम्यारो राख्ने प्रक्रिया नै बोनम्यारो प्रत्यारोपण हो ।
प्रतिक्रिया 4