 
																			३० असोज, काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको अनधिकृत संरचना हटाउन भन्दै गएको काठमाडौं महानगरपालिकाको टोलीको दुई वटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरका प्रेस संयोजक सुरेन्द्र बजगाईंका अनुसार, पशुपति क्षेत्र विकास कोष र महानगरबीच भएको सम्झौता अनुसार धर्मशाला खाली गराउन नगर प्रहरीको टोली बुधबार दिउँसो गौशाला पुगेको थियो ।
त्यसक्रममा नेपाल प्रहरीको टोली पहिल्यैदेखि घेरा हालेर बसेको थियो भने अनाधिकृत संरचना हटाउन खोज्दा प्रहरीले महानगरको दुई वटा डोजर नै नियन्त्रणमा लिएको उनले बताए ।
‘२२ असोजमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभासचन्द्र जोशी र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच महानगरपालिकाले संरचना सञ्चालन गर्ने गरी सम्झौता भएको थियो’, उनले भने, ‘त्यसको कार्यान्वयनका लागि जाँदा अवरोध गर्ने काम भयो ।’
महानगरको टोली यसअघि पनि धर्मशाला खाली गराउन जाँदा माडवाडी सेवा समिति आबद्ध व्यक्तिहरु र नगर प्रहरीबीच धकेलाधकेल भएको थियो । माडवाडी सेवा समितिले जबरजस्ती धर्मशाला खाली गराउन खोजिएको भन्दै विरोध जनाएका थिए ।
पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले १७ साउन २०८० मा मारवाडी सेवा समितिसँगको सम्झौता खारेज गरिदिएको थियो । यसक्रममा गौशालामा काठमाडौं महानगरका प्रहरी र माडवाडी सेवा समितिबीच विवाद भइरहेको छ ।
यहीबीचमा नेपाल प्रहरीले भने शान्ति सुरक्षाका लागि आफूहरु खटिएको दाबी गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले महानगरका डोजर नियन्त्रणमा नलिएको दाबी गर्दै अनलाइनखबरसँग भने, ‘हामीले शान्ति सुरक्षा कायम गराउन मात्र खोजेका हौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4