+
+
Shares

काठमाडौं महानगरका १० वटा वडाका ५०९ स्थानको मौलिक नाम यकिन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाको १० वडाभित्रका ५०९ स्थानका प्राचीन र मौलिक नाम निश्चित भएका छन्।
  • सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँग सहकार्यमा तेस्रो चरणमा थप ८ वडाका नाम अध्ययन गर्ने सम्झौता गरेको छ।
  • पहिलो र दोस्रो चरणमा वडा नं. ५, ६, ७, १८, २४ र ८, १७, १९, २०, २५ मा मौलिक नाम अध्ययन भइसकेको छ।

१० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका १० वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएका छन् ।

सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि २ चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन गरेको हो । तेस्रो चरणमा अब थप ८ वटा वडाहरूको मौलिक र प्राचीन नाम अध्ययन गर्ने सम्झौता अवसरमा यस सम्बन्धी जानकारी दिइएको हो ।

तेस्रो चरणको अध्ययनका लागि कार्यबाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको रोहबरमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक रिजा जोशीले हस्ताक्षर गरेका छन् । यस चरणमा वडा नं. १२, १३, १५, २१, २२, २३, २७ र २८ का वस्ती तथा स्थानहरुको मौलिक नामको अध्ययन गरिनेछ ।

सम्झौता अवसरमा कार्यवाहक प्रमुख डंगोलले नाम केवल बोलाउनका लागि प्रयोग गरिने शब्द मात्र नभएको उल्लेख गरिन् । ‘हरेक नामको पछाडि केही न केही तथ्य हुन्छ । इतिहास, संस्कृति, सभ्यता तथा समाजको कथा हुन्छ । यसकारण नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रुपमा लिन हुँदैन’, उनले भनिन् । नामसम्बन्धी परिचय पाटी राख्ने विषय उठाउँदै उनले थपिन्, ‘परिचयपाटी राख्दा दृश्य प्रदूषण हुने गरी नराख्नुहोला । सकेसम्म पहिलेकै ठाउँमा राख्नुहोला । नत्र हेर्दा आँखा नबिझाउने, अरुलाई असर नपार्ने ठाउँमा राख्नुहोला ।’

पहिलो चरण र दोस्रो चरणमा भएका काममध्ये पहिचान भएका ठाउँमा परिचयपाटी राख्ने काम तत्काल सक्नु पर्नेमा जोड दिँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भने, ‘नाम लेख्दा एउटै शब्द प्रयोग गर्नुहोला ।’ उनले प्रतिनिधि घटना सुनाउँदै भने, ‘इन्द्रचोकमा राखिएको बोर्डमा इन्द्रचोक पनि राखियो, वंघ पनि राखियो । यसरी फरक नाम राख्दा हामीले फिर्ता गर्न खोजेको इतिहास स्थापित गर्न कठिन हुन्छ । त्यसैले, प्राचीन र मौलिक नाम नै परिचय पाटीमा राख्नुपर्छ ।’

अध्ययन गर्दा प्राप्त भएका कथ्य तथ्यलाई लिखित प्रमाणमा आधारित बनाउन प्रयत्न गर्नु पर्ने, नामलाई स्थानीयले अपनत्व ग्रहण गर्न सक्ने हुनुपर्नेमा संगतको जोड थियो ।विभाग प्रमुख राईका अनुसार यसअघि पहिलो चरणमा वडा नं. ५, ६, ७, १८, २४ को र दोस्रो चरणमा वडा नं. ८, १७, १९, २०, र २५ मा मौलिक नाम अध्ययन भइसकेको छ ।

अध्ययनका क्रममा वडाभित्र भएका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व मा आधारित स्थान तथा वस्तीहरूको मौलिक एवम् प्राचीन नामाकरण सम्बन्धी अध्ययन तथा अभिलेखीकरण भएको हो ।

अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, बही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ । यसरी पाइएका नामहरुलाई स्थानीयबासी, समुदाय, संस्कृतिविद, पुरातत्वविद, भाषाविद् तथा इतिहासविदहरुसँग नाम पुष्टि गराइन्छ ।

वडाका प्रचलित नाम र मौलिक नाम तथा संख्या

वडा नं. ५ हाँडीगाउँका नामले परिचित छ । यस ठाउँको प्राचीन नाम नरः हो । यस क्षेत्रभित्रका विभिन्न ५२ वटा ठाउँको मौलिक नाम भेटिएको छ । वडा नं. ६ बौद्धको प्राचीन नाम खस्योरः/खास्ती हो ।

यस क्षेत्रभित्रका ५० वटा प्राचीन नाम भेटिएका छन् । वडा नं. ७ चाबहिलको प्राचीन नाम चावहीः हो । यस क्षेत्रमा ७१ वटा ठाउँको प्राचीन नाम पाइएको छ । वडा नं. १८ नरदेवीको प्राचीन नाम ङेतः हो । यस क्षेत्रभित्रका ३६ वटा ठाउँको मौलिक नाम पाइएको छ ।

वडा नं. २४ मखनका नामले परिचित ठाउँको प्राचीन नाम मखं हो । यस क्षेत्रका ४९ वटा मौलिक नाम पाइएका छन् । २०८० साल जेठ १८ गतेदेखि मंसिर मसान्तसम्म पहिलो चरणमा यी वडाहरूको अध्ययन भएको थियो ।

२०८१ बैशाख ९ गतेदेखि असोज मसान्तसम्म दोस्रो चरणको अध्ययन भयो । यस चरणमा अध्ययन गरिएको वडा नं. ८ जयबागेश्वरीको प्राचीन नाम पनि जयबागेश्वरी नै हो । महालक्ष्मी, महाकाली र महासरस्वतीका शक्ति मिलेर उत्पत्ति भएकी जयबागेश्वरी तान्त्रिक देवी हुन् । यस वडामा मूल १८ वटा र सहायक ४४ वटा गरी ६२ वटा ठाउँको मौलिक नाम पाइएको छ ।

वडा नं. १७ धोवी चौरको प्राचीन नाम येँपिख्यः हो । यस वडाभित्रका २३ वटा ठाउँको मौलिक नाम पाइएको छ । वडा नं. १९ दमाइटोलका नामले परिचित छ । यस क्षेत्रको प्राचीन नाम दमै टोल हो । यस वडाभित्र मुल ३८ तथा सहायक ९ वटा गरी ४७ वटा वटा स्थान प्राचीन नामका पाइएका छन् ।

वडा नं. २० क्षेत्र भीमसेन स्थान हो । यस क्षेत्रको प्राचीन नाम तव हो । यस वडाभित्र ४९ वटा ठाउँको मौलिक नाम पाइएको छ । वडा नं. २५ मासंगल्लीको नाम मसां गल्ली हो । अध्ययनका क्रममा यस वडाभित्र मूल ४७ तथा सहायक २६ वटा गरी ७३ वटा वटा ठाउँको मौलिक नाम पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?