+
+
Shares

काठमाडौं महानगरले भन्यो- पैदल यात्री बस्ने कुर्सी हटाइएको होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १६:१२

११ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी हटाउने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

साथै, महानगरले कुर्सी व्यवस्थापनको काम थालिएको पनि जनाएको छ ।

यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरुपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइने महानगरले जनाएको छ ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले भने, ‘उमेर समूह, शारीरिक अवस्था जस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ । यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरुपता कायम गराउन साटफेर हुन सक्छ ।’

यसअन्तर्गत सिंहदरबार भद्रकाली सडक खण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरू मर्मत थालिएको उनले बताएका छन् ।

यस ठाउँमा २ प्रकारका कुर्सी थिए । यीमध्ये पुराना बेञ्च मर्मतसम्भार र रंगरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख राईले जानकारी दिए ।

यसअघि राखिएका ठाउँबाट कुर्सी यताउता सार्ने गरिएको थियो । यसलाई पनि व्यवस्थापन गर्ने गरी काम गरिने उनको भनाइ छ ।

महानगरपालिकाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन् । यसमध्ये पनि आयोजनाले प्राथमिकता दिएको छ । २०८१ साल असोजमा महिनामा सहरका विभिन्न ठाउँमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो ।

यी कुर्सीहरू १ दशमलव ५ मिटर लम्बाइ र आधा मिटर चौडाइका छन् । यी सार्वजनिक खरिद प्रक्रियाबाट हरेक कुर्सी करसहित हरेक कुर्सीको मूल्य १८ हजार ६५५ रुपियाँ परेको छ । यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडक खण्डअन्तर्गत पैदल मार्गमा ११ वटा कुर्सी राखिएका हुन् । यसबाहेक बागमती र बागमती नदीका करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचनलगायतका ठाउँमा राखिएका थिए ।

दोस्रो चरणमा ४९ प्राप्त भएका छन् । यी कुर्सीहरू नापी विभाग, तीनकुने कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर बबरमहल, कलपोखरीलगायत स्थानमा राखिनेछन् ।

ट्याक्टिकल अर्वानिजमअन्तर्गत तेस्रो प्याकेजमा १५० वटा कुर्सी प्राप्त हुनेछन् । यी कुर्सीहरू माग र आवश्यकताका आधारमा विभिन्न स्थानमा राखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?