News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले इन्धन अभाव र दीर्घकालीन असरलाई मध्यनजर गर्दै अधिकारीहरूका लागि 'कार पुलिङ' प्रणाली लागू गरेको छ।
- महानगर कार्यबाहक प्रमुख सुनिता डंगोलले इन्धन खपत न्यूनीकरण र सम्भावित संकटबाट बच्न यो व्यवस्था लागू गरिएको बताउनुभयो।
- 'कार पुलिङ' अन्तर्गत एउटै आवासीय क्षेत्रका कर्मचारीहरूले आलोपालो सवारी प्रयोग गरी दैनिक कार्यालय आउने गाडीको संख्या घटाउने व्यवस्था गरिएको छ।
२९ चैत, काठमाडौं । विश्वव्यापी रूपमा बढ्दो इन्धन अभाव र त्यसले पार्न सक्ने दीर्घकालीन असरलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले आफ्ना अधिकारीहरूका लागि कार्यालय आउजाउ गर्न सवारी साधनको आलोपालो प्रयोग गर्ने ‘कार पुलिङ’ प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ ।
महानगर कार्यबाहक प्रमुख सुनिता डंगोलले इन्धन खपतलाई न्यूनीकरण गर्ने र सम्भावित संकटबाट बच्ने पूर्वतयारी स्वरूप यो व्यवस्था लागू गरिएको जानकारी दिइन् ।
यो निर्णयले महानगरको खर्च कटौती गर्ने मात्र नभई सडकमा सवारीको चाप घटाउन र वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । ‘विश्वभर इन्धनको अभाव छ, यस्तो अवस्थामा पहिलेकै जस्तो सवारी साधन चलाउँदै जाने हो भने अत्यावश्यक सेवाका लागि समेत इन्धन नपाइने स्थिति आउन सक्छ,’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘यही सम्भावित समस्यालाई रोक्न हामीले इन्धनको प्रयोग घटाउनुको विकल्प देखेनौँ ।’
महानगरले लागु गरेको यो नयाँ प्रणाली अनुसार, एउटै आवासीय क्षेत्रबाट कार्यालय आउने–जाने कर्मचारीहरूको समूह बनाइएको छ । उक्त समूहमा रहेका अधिकारीहरूले आफूलाई उपलब्ध गराइएको सवारी साधन आलोपालो गरी प्रयोग गर्नुपर्नेछ ।
एक दिन एकजना अधिकारीले आफ्नो गाडीमा समूहका अन्य सदस्यलाई लिएर कार्यालय आउने र लैजाने व्यवस्था मिलाइएको छ । यसले गर्दा दैनिक कार्यालय आउने गाडीको संख्यामा उल्लेख्य कमी आउने महानगरको विश्वास छ ।
प्रतिक्रिया 4