+
+

हलिउड प्रतिबन्धबीच रुसमा भारतीय फिल्म प्रदर्शन गर्न दिने पुटिनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३ गते ११:५९

काठमाडौं । युक्रेनमाथि आक्रमण गरेयता रुसमाथि हलिउड र ठूला फेस्टिभलले प्रतिबन्ध लगाएको स्थिती छ । यस्तोमा, रुसले आफ्नो मनोरञ्जन बजारलाई चलायमान बनाउन भारतीय फिल्मलाई प्रवर्धन गर्नेतर्फ चासो देखाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय फिल्मलाई रुसमा वितरण गर्न दिनेबारे छलफल चाँडै सुरु हुने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रुसमा भारतीय फिल्मको प्रवर्धनको लागि सहकार्य गर्न उत्सुकता व्यक्त गर्दै पुटिनले भारतीय फिल्मको लोकप्रियताबारे चर्चा गरे ।

कजानमा हुन लागेको ब्रिक्स शिखर सम्मेलनअघि बोल्दै पुटिनले रुसमा विदेशी फिल्ममध्ये भारतीय सिनेमालाई ‘सबैभन्दा लोकप्रिय’ भनेर प्रशंसा गरे ।

उनले भारतसँग रुसको सांस्कृतिक सम्बन्धमा जोड दिए । भारतीय फिल्मलाई रुसको एक टेलिभिजन च्यानलमा चौबिसै घण्टा देशब्यापी प्रसारण गरिने पनि पुटिनले बताए ।

आफ्नो सरकारी निवासमा भएको अन्तरक्रियामा पुटिनले भारतीय फिल्म निर्मातालाई रुसमा छायांकन गर्न प्रोत्साहन गर्ने सम्भावना रहेको संकेत गरे । यस्तो सांस्कृतिक पहलका लागि प्रधानमन्त्री मोदीसँग थप छलफल हुने उनले बताए ।

रुसी नेताले ब्रिक्स फिल्म फेस्टिभलको बारेमा पनि चर्चा गरे । मस्को अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले ब्रिक्स राष्ट्रहरूका फिल्महरू प्रदर्शन गर्न थालेको उल्लेख गर्दै उनले सिनेमा र औषधि निर्माणमा भारतसँग सहकार्य गर्न रुसको उत्साहलाई जोड दिए ।

पुटिनको यस्तो अभिव्यक्ति अक्टोबर २२–२३ मा हुने १६ औं ब्रिक्स शिखर सम्मेलन अघि आएको छ, जहाँ दुई नेताहरूले भेट्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?