 
																			१३ कात्तिक, हेटौंडा । मकवानपुरको मनहरी बजारबाट अनुगमन टोलीले बरामद गरेको ६० बोरा चामल गायब भएको छ ।
६ असोज ०८१ मा मनहरी बजारको मंगलमय ट्रेडर्समा शील गरिएको ६० बोरा चामल हराएको हो । सोमबार शील गरिएको चामलको परीक्षणका लागि नमूना संकलन गर्न जाँदा चामल हराएको पत्ता लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए । अनुगमन टोलीले चामल हराएको विषयमा कारबाही गर्न गाउँपालिका कार्यालयलाई लिखित अनुरोध गरेको छ ।
यसअघि ओम कैलाश ब्राण्डका ५३ बोरा र लक्ष्मी राइस मिलबाट उत्पादित ७ बोरा चामल बिक्री बितरण र उपभोग गर्न प्रशासन र गाउँपालिका आफैंले शील गरेको थियो । यी दुई वटा ब्राण्डका चामलका बोरामा उपभोग्य मिति, उत्पादन मिति र ब्याचसमेत नभेटिएपछि चामल शील गरिएको अनुगमन मुचुल्कामा उल्लेख छ ।
एक महिनाअघि नै शील गरिएको चामलको सोमबार मात्रै नमूना संकलनका लागि मनहरी गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय मनहरीको टोली पुगेको थियो । नमूना संकलनका लागि जाँदा यसअघि नै शील तोडेर चामल गायब पारिएको थाहा भएको प्रमुख घिमिरेले बताए ।
उनकाअनुसार नमूना संकलनका लागि गएको खाद्यको टोलीले पसलमा बिक्रीका लागि राखेको सोही ब्राण्डको अर्को चामलको नमूना लगेको छ । ‘त्यो चामल त हराइसकेको रहेछ । पसलको चामलको नमूना संकलन गरेर ल्याएका छौं’, घिमिरेले भने ।
मनहरी गाउँपालिकाले सोमबार मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई प्रयोगशालामा परीक्षणका लागि नमूना संकलनका लागि पत्राचार गरेको घिमिरे बताउँछन् । गाउँपालिकाले शील गरेको लामो समयपछि मात्रै नमूना संकलन गर्न खाद्यलाई पत्राचार गर्नुमा आशंका गरिएको छ ।
‘त्यो चामलको गाउँपालिकाले नै निगरानी राखेको हो । हामीलाई परीक्षण गर्न मात्रै भनिएको हो । त्यसको कारबाही पनि गाउँपालिकाबाट संघीय कानुनअनुसार अगाडि बढाउने गरी अगाडि बढेको थियो । अब एक महिनापछि मात्रै नमूना संकलनका लागि गाउँपालिकाले किन बोलायो भन्ने विषय हामीसँग जोडिँदैन’, घिमिरेले भने ।
६ असोजमा बरामद चामल शील गर्ने अनुगमन टोलीका नेतृत्व गरेका गाउँपालिकाको शाखा अधिकृत शैलेश बाँस्कोटाले शील गरेको एक महिनापछि मात्रै नमूना संकलन गर्न जानुपर्ने अवस्था कसरी आयो भन्ने अनलाइनखबरको प्रश्नको जवाफ दिएनन् । ‘म अहिले व्यस्त छु । पछि कुरा गर्छु है’, बाँस्कोटाले यति भन्दै फोन काटे ।
यस विषयमा थप बुझ्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई पटक–पटक फोन र मोबाइलमा सन्देश पठाउँदासमेत उनी सम्पर्कमा आउन चाहेनन् । गाउँपालिकाको सूचना अधिकारी राजेन्द्र भट्टराईले चामल हराएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘मलाइ यसबारे केही थाहा छैन । प्रमुख प्रशासकीय अधिकृतज्यू कार्यालयमै हुनुहुन्छ । उहाँसँग नै सोध्नु न’, उनले भने ।
नूमना संकलन गर्न पुगेको अनुगमन टोलीले चामल फेला नपरेपछि तयार पारिएको मुचुल्कामा व्यवसायीले नै उद्योगलाई चामल फिर्ता गरेको बुझ्न आएको उल्लेख छ । तर, यसलाई पुष्टि गर्ने आधार नै नभएको अनुगमनमा सहभागी एक अधिकारीले जानकारी दिए । ‘मुचुल्कामा व्यवसायीले उद्योगलाई फिर्ता गरेको बुझ्न आएको लेखेर दोषीलाई उम्काउन खोजिएको छ । पुष्टि नै नभएको कुरा मुचुल्कामा लेखिनु सामान्य कुरा हैन’, ती अधिकारीले भने ।
गाउँपालिकाका शाखा अधिकृत बाँस्कोटाले उद्योगमै फिर्ता पठाइए पनि व्यवसायीले अनुगमन टोलीलाई जानकारी नै नगराएको बताए ।
‘शील तोडेर सरकारी नियन्त्रणमा रहेको चामल गायब बनाउने घटनाको पहिलो शंकामा रहेका व्यवसायीले नै मिलमा चामल फिर्ता गरेको भनेपछि मुचुल्कामा लेखिएको हो’, उनले थपे ।
मंगलमय ट्रेडर्सका सञ्चालक ज्योति साहले मनहरी गाउँपालिका–७ नम्बर वडाका वडा सदस्य नवराज सुवेदीलाई सोधेर चामललाई सम्बन्धित मिलमै फिर्ता पठाएको अनुगमन टोलीलाई बताएका छन् ।
व्यवसायीले पटक–पटक गुनासो गर्न आएपछि ‘जहाँबाट ल्याइएको हो त्यहीँ पठाइदिनु’ भनेर मौखिक जवाफ दिएको वडा सदस्य सुवेदीले स्वीकार गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4