काठमाडौं । नेपाली फिल्म ‘पूजार सार्की’को निर्माता कम्पनी किङ्डम नेटवर्कले अंग्रेजी फिल्म ‘फ्र्याक्चर’को निर्माणमा सहकार्य गरेको छ । फिल्मको ७० प्रतिशत छायांकन नेपालमा गरिएको छ ।
निर्माणमा यो नेपाली कम्पनीले क्रिस बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज, दुई पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसनसँग सहकार्य गरेको हो । निर्माता सुवास भुसालले अमेरिकामा समेत कम्पनी स्थापना गरेर फिल्मको निर्माण गरिएको बताए ।
एमी अवार्ड विजेता रायन ट्राभिस यसका निर्देशक हुन् । उनले ‘एनएफएल ३६०’ जस्ता प्रोजेक्टमा एमी पुरस्कार जितेका छन् । कथानक फिल्म ‘गेम थेरापी’सहित ‘केभिन हार्ट’सँगको ‘हार्ट अफ इट अल’ र ईएसपीएनको हिप हपमा आधारित वृत्तचित्र ‘द क्रसओभर’ जस्ता फिल्म पनि निर्देशन गरेका हुन् ।
फिल्ममा नेपाली अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको प्रमुख अभिनय छ । सहायक कलाकारमा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत छन् ।
अभिनेता ट्रेन्टनले ‘हलिउड किल्स’, ‘अन्डर द वेस्टर्न सन,’ ’सिरोनिया,’ ’द रेड, ब्ल्याक एन्ड ब्लोन्ड : गड सेभ,’ ’बिटविन किंग्स एन्ड क्विन्स,’ ’लस एन्सिनोस’ लगायतका फिल्ममा र टिभी श्रृंखलामा अभिनय गरेका छन् ।
‘यस फिल्मले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अन्तर्राष्ट्रिय बजार र दर्शकसँग जोड्ने नयाँ प्रयासको प्रतिनिधित्व गर्नेछ’ निर्माता भुसालले भने ।
छायांकनर डकोटा डियल हुन् । उनले ‘आर्मी अफ द डेड,’ ‘नेक्स्ट अफ किन,’ ‘एनएफएल ३६० : द गिफ्ट अफ गाबा’ लगायतका फिचर खिचेका छन् । फिल्मका ७० प्रतिशत दृश्य काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला र सगरमाथा बेस क्याम्पसम्म खिचिएको छ ।
फिल्मले एक जना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको कथा भन्छ जसले नेपालमा हराएको साथीलाई बचाउन सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । यस फिल्ममा मानवीय साहसलाई उतारिएको निर्देशक ट्राभिसले बताए । फिल्मको विश्वब्यापी रिलिजको लागि तयारी भैरहेको निर्माता भुसालले बताए ।
नेपालमा मनोज जोशी निर्माण नियन्त्रकको रुपमा छन् । विकास सुवेदी लाइन प्रोड्युसर हुन् । फिल्म छायांकन गरेर टोली अमेरिका फर्किएको छ । फर्किनुअघि चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले टीमलाई बिदाइ गरेका थिए । उक्त अवसरमा डीसीले बोर्डको तर्फबाट छायाङ्कनको लागि लोकेसन गाइड पुस्तक प्रदान गरे ।
प्रतिक्रिया 4