२६ कात्तिक, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकारहरुले आफ्नो काममा ध्यान दिनुपर्ने बताएका छन् ।
विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रदेश सरकारको अधिकारको विषय मात्रै धेरै उठेको भन्दै पहिले काम गर्नुपर्ने धारणा राखेका हुन् ।
‘ती सबै अधिकारको कुरा भन्दा कामको कुरा गरौं न, काम चाहिँ अघि बढेको छैन केही, काम गर्नुपर्यो’, उनले भने, ‘काम गर्नुपर्यो, देश र जनताका लागि काम गर्नुपर्यो, विकासको काम गर्नुपर्यो, सुशासनको काम गर्नुपर्यो, यतापट्टि ध्यान दिनुपर्यो त पहिले ।’
प्रधानमन्त्री ओलीले ‘अधिकार, अधिकार मात्रै सधै’ भन्दै प्रश्न सोध्ने सञ्चारकर्मीलाई नै प्रतिप्रश्न गरे ।
विद्युत लाइन अझै जोडिएन ?
प्रधानमन्त्री ओलीले डेडिकेडेट र ट्रंकलाइन महशुल नतिरेका कारण लाइन काटिएका उद्योगमा पुन: लाइन नजोडिएको विषयमा असन्तोष व्यक्त गरेका छन् ।
‘विद्ययुतको लाइन जोडिएन होइन, ठीक छ हेर्दै जानुपर्छ’, उनले भने, ‘देश बिगार्न र उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइदैन ।’
उनले नेकपा माओवादी केन्द्र सत्ताबाहिर भएका कारण सरकारका विरुद्ध हल्ला चलाइरहेको बताए । प्रधानमन्त्री ओलीले आफूपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।
प्रतिक्रिया 4