९ मंसिर, पोखरा । साहित्यकार दीपक समीपलाई प्रेम शान्ति आख्यान पुरस्कार २०८१ प्रदान गरिने भएको छ ।
लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याए वापते पुरस्कार समर्पण गर्न लागिएको हो ।
लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आइरहेका साहित्यकारसमीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन्।
हालसम्म उनको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह ), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह), नदीको राजमार्ग (लघुकथा सङ्ग्रह ) कृतिहरु प्रकाशित छन् भने उनले विभिन्न साहित्यिक पत्रिकाहरु पनि सम्पादन गरिसकेका छन् ।
साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरीको छनौट समितिले समीपलाई पुरस्कारकोलागि चयन गरेको हो ।
साहित्यकार दीपक समीपले यस अघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५४, राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५५, खुल्ला मुक्तक प्रतियोगिता २०५५ प्रथम , गजल साधना सम्मान २०६३, समता काव्य सम्मान २०६६, शिल्पी साहित्य सम्मान २०६६ लगायत प्राप्त गरेका छन् ।
लमजुङ पोखरा सम्पर्क समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थपित सो पुरस्कारको राशि दश हजार रुपैंया र सम्मान पत्र रहेको छ । हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यस अघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो।
यही मंसिर १५ गते शनिबार एक भव्य समारोहको आयोजना गरि साहित्यकार समीपलाई पुरस्कार प्रदान गरिने लमजुङ पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी गराएका छन् ।
प्रतिक्रिया 4