१० मंसिर, कीर्तिपुर (काठमाडौं) । सोमबार बिहान आँगनमै हात जोड्दै आइपुगेका प्रा.डा. शिवशरण महर्जनसँग कीर्तिपुर–६, लङोलकी एक वृद्धाले भनिन्, ‘मत खेर जान्छ होला !’
शिवशरणले फ्याट्ट जवाफ फर्काइहाले, ‘यसपटक खेर जाँदैन, म जित्छु ।’ कीर्तिपुर नगरपालिकामा हुन लागेको उपचुनावमा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रहेका महर्जनले यस्तै प्रकृतिका जिज्ञासा लगातार सम्बोधन गरिरहनुपरेको छ ।
समय नलिइकन ती वृद्धालाई आश्वस्त पार्नुले पनि महर्जनले सामना गर्नुपरिरहेको यो एक महत्वपूर्ण जिज्ञासा रहेको पुष्टि हुन्थ्यो । यदि यस्तो जिज्ञासा राख्ने ती वृद्धा पहिलो व्यक्ति हुन्थिन् भने जवाफ फर्काउन पक्कै केही समय लाग्नुपर्ने हो । किनकि यो जिज्ञासाभित्र जितप्रति संशय त लुकेकै छ, सँगै यसअघि पनि मजर्हनलाई मत दिएको विश्वास छ ।
ती वृद्धाबाट छुटेर अर्को घर पुग्दा भने शिवशरणलाई अविरमालाले स्वागत गरियो । सायद, त्यो घर शिवशरणलाई समर्थन जनाउने व्यक्तिको हुनुपर्छ । त्यसैले गज्जबको स्वागत भयो, तर धेरै कुराकानी र अलमल भएन ।
‘अहिलेसम्म हामीले यहाँ (कीर्तिपुरको मेयर) जित्न सकेको छैन, यसपटक अलिक मेहनत गरेका छौं । माहोल बन्दैछ’ शिवशरणसँगै मत माग्न हिंडिरहेका पूर्व सभासद राजकाजी महर्जनले भने । उनका अनुसार पार्टीका तर्फबाट प्रा.डा. शिवशरण उम्मेदवार टुंगिएसँगै दिनरात नभनी माओवादी नेता–कार्यकर्ता मतदाता रिझाउन खटिएका छन् ।
गत २८ कात्तिकमा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं उपस्थित भएर शिवशरणलाई उम्मेदवार घोषणा गरेका थिए । उम्मेदवार घोषणा सभाबाटै प्रचण्डले यसपटक कीर्तिपुरमा माओवादीले कीर्तिमान रच्नुपर्ने दाबी गरेका थिए ।
‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं । अब हामी बदलिन चाहन्छौं, अवसर दिनुस् भनेर जनताको बीचमा जानुस्, टोलटोल र घरघरमा पुग्नुस्’, प्रचण्डले भनेका थिए ।
प्रचण्डको निर्देशन जस्तै सकेसम्म धेरै मतदातासम्म पुग्ने नीति स्थानीय नेताहरूले लिएका छन् । ‘०७९ को स्थानीय चुनावमा हाम्रो उम्मेदवार सबै वडामा भएन, एमाले हराउनुपर्छ भन्ने कुरामा मात्रै जोड भयो’ मेयरका उम्मेदवार शिवशरणले भने, ‘अहिले विगतका गल्ती सच्याएका छौं । धेरैभन्दा धेरै घर पुगिरहेका छौं ।’
सोमबार बिहान लङोलदेखि टौदहसम्म चलेको घरदैलो अभियानमा पनि सकभर घर नछुटाउनेगरी उम्मेदवार शिवशरण सहितको टोली हिंड्यो । ‘बिहान–साँझ टोली बनाएर घरघर हिंडिरहेका छौं । बाँकी समयमा जनताको कुरा सुन्ने अरु विकल्पमा हुन्छौं’, माओवादीका अर्का स्थानीय नेता किशोर महर्जनले भने ।
आँगनमै आइपुगेका उम्मेदवार शिवशरणप्रति स्थानीयको प्रतिक्रिया भने मिश्रित नै थियो । कतिले समाधान हुन नसकेका समस्या सुनाउँथे भने कतिले भोट मागेको सुनेर त्यसै टारिदिन्थे ।
‘पुराना नेताहरूको कुरा सुनेर वाक्क भइसकियो । के बोल्नु र !’, लङोलका स्थानीय मिश्रा थापागमरले भनिन् । १० वर्षअघि यहाँ बसाईं आएका छबिलाल निरौलाले त माओवादीलाई पार्टी बन्नै नसकेको टिप्पणी गरिदिए । ‘कुरा फेरिरहन्छ, टोलसम्म सञ्जाल (संगठन) बनाउन सकेको छैन । त्यसो हुँदा माओवादी पार्टी नै हुन सकेन, मत दिने भनेको विश्वास पनि हो’, निरौलाले भने । अप्ठ्यारो पर्दा साथ दिने व्यक्तिलाई मत दिनुपर्ने उनको तर्क थियो ।
तर माओवादी उम्मेदवार प्रा.डा. शिवशरण खासै खुलेर नबोलिरहेकाले घरदैलो अभियानमा अन्तरक्रिया धेरै भइरहेको थिएन । हात जोडेर ढोकाढोका पुग्दा प्रायःजसो शिवशरण भनिरहन्थे– विश्वास गर्नुस् ।
टोलीमा सहभागी स्थानीय नेताहरू चाहिं केही भूमिका बाँधेर मत माग्थे । बाहिरबाट जाने नेताहरू टोलीको आकार बढाउने भूमिकामा सीमित थिए । सोमबारको घरदैलो अभियानमा शशी श्रेष्ठ, हितमान शाक्य, रेखा शर्मा, हिमाल शर्मा लगायत केन्द्रीय नेताहरू पनि सामेल थिए ।
कीर्तिपुरमै हुर्किएकी पूर्वमन्त्री शशी श्रेष्ठ तुलनात्मक खुलेर हिंडे पनि अरु नेता भीडका एक सदस्य मात्र थिए । जति बोल्नुपर्ने हो, शिवशरण आफैं बोल्थे ।
एकप्रकारले माओवादीको चुनावी अभियान प्रा.डा. शिवशरण महर्जनमा केन्द्रित छ, उनैलाई विश्वास गर्न आग्रह गरिंदैछ । ‘म कीर्तिपुरको इतिहास र शिवशरणको भूमिकासँग परिचित छु । शिवशरणले गरेको योगदान मात्र यहाँका जनताले बुझे भने धेरै फराकिलो अन्तरले जित्नु हुन्छ’, पूर्वमन्त्री श्रेष्ठले भनिन् ।
उनका अनुसार कीर्तिपुरको खानेपानी, यातायात, सहकारी र स्कूलहरू बनाउन शिवशरणले लिएको नेतृत्व बिर्सन सकिंदैन ।
‘कीर्तिपुरमा खानेपानीको समस्या थियो, सानो माइक्रोबसमा हिंड्दा सास्ती हुन्थ्यो । तर शिवशरण महर्जनकै नेतृत्वमा खानेपानी र यातायात आजको अवस्थामा छ’, उनले भनिन्, ‘त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेर शिक्षा क्षेत्रमा योगदान पुर्याउनुभयो ।’
गल्ती सच्याउने प्रतिबद्धता
मेयर पद जनतासँग प्रत्यक्ष जोडिने भएकाले उम्मेदवारको प्रशंसामा नेता–कार्यकर्ताले शक्ति खर्चनु स्वाभाविकै हो । सबैले त्यसै गर्छन् । तर यहाँको परिस्थिति अलिक भिन्न छ ।
माओवादीले पहिलोपल्ट चुनाव लडेको २०६४ सालको संविधान सभामै ‘सुप्रिम कमाण्डर’ प्रचण्डले यही क्षेत्रबाट चुनाव जितेका थिए । ‘कुन घर माओवादी थिएन जस्तो हुन्थ्यो । कीर्तिपुरको मुख्य बजारमै हाम्रो पकड थियो’ माओवादीका स्थानीय नेता किशोर महर्जनले भने, ‘धेरै मतदाता भएको ठाउँ माओवादीमय हुँदा अरुतिर पनि त्यसको प्रभाव थियो ।’
तर अहिले पहिलेजस्तो आकर्षण र अवस्था नरहेको उनी स्वीकार्छन् । ‘प्रचण्डबाटै कमजोरी भयो, जितेर गएपछि कीर्तिपुरमा एकपटक मात्रै आइदिएको भए, माओवादी बलियो नै रहन्थ्यो’, महर्जनले भने ।
हुनत प्रचण्डले गरेको गल्तीको सजाय ०७० को दोस्रो संविधान सभा चुनावमा उनी स्वयंले भोगिसकेका छन् । कीर्तिपुर समेत पर्ने काठमाडौं–१० बाट प्रचण्डले दोस्रो संविधानसभा चुनावमा हारेका थिए ।
नेपाली कांग्रेसका राजेन्द्र केशीले २० हजार ३९२ मत ल्याएर जित्दा नेकपा एमालेका सुरेन्द्र मानन्धरले १३ हजार ६१५ र प्रचण्डले १२ हजार ८५२ मत ल्याएका थिए । (त्यसयताको कुनैपनि चुनावमा यहाँबाट माओवादीले जित्न सकेको छैन ।) आफैं पराजित हुनु परेको क्षेत्र समेत भएकाले प्रचण्डले ‘घरघर पुगेर बदलिन्छौं’ भन्ने सन्देश छर्न कार्यकर्तालाई निर्देशन दिएको बुझ्न गाह्रो पर्दैन ।
तर प्रचण्डले भनेजस्तो सहज परिस्थिति यहाँ नरहेका एक नेता बताउँछन् । ‘माओवादी र प्रचण्ड भन्नासाथ यहाँका जनताले हेर्ने दृष्टिकोण अर्कै भयो, यो सत्य हो’ उनी भन्छन्, ‘त्यसैले हामीले प्रा.डा. शिवशरण महर्जनलाई बढी फोकस गरिरहेका छौं ।’
उम्मेदवार महर्जनले मतदातासँग ‘विश्वास गर्नुस्’ आग्रह गरिरहनुमा पनि यही कारण रहेको उनी बताउँछन् । ‘यहाँका जनताले धेरै राम्रोसँग चिनेको व्यक्ति हो, शिवशरण महर्जन । त्यसैले उहाँमै केन्द्रीत भएर उपचुनावको प्रचार गरिरहेका छौं’, ती नेताले भने ।
चुनावी अभियानको नारा समेत शिवशरणमै केन्द्रित छ । ‘अरूलाई हेर्यौं पटकपटक, शिवशरणलाई हेरौं यसपटक’, उपचुनावमा माओवादी अभियानको नारा छ । यस्तै नारा माओवादीले २०६४ को चुनावमा लगाएको थियो । त्यसबेला भनेको थियो, ‘अरुलाई हेर्यौं पटकपटक, माओवादीलाई हेरौं यसपटक ।’ अर्थात् माओवादी र प्रचण्डभन्दा माथि शिवशरणलाई राखेर प्रचार अभियान चलिरहेको छ ।
माओवादीका स्थानीय नेताहरू, यसपटक माओवादी घटकहरू एकताबद्ध हुने परिस्थिति समेत प्रा.डा. शिवशरणकै कारण बनेको बताउँछन् । ‘बाबुराम, वैद्य, विप्लव सहित सबै माओवादी घटकरु एकठाउँ छौं’ पूर्वसभासद राजकाजी महर्जन भन्छन्, ‘जसपासँग तालमेल छ, एकीकृत समाजवादीको समर्थन छ । त्यसैले हामी विगत भन्दा धेरै बलियो भएका छौं ।’
तर कांग्रेस र एमालेभित्र विवाद रहेकाले शिवशरणलाई जित्न थप सजिलो रहेको उनी बताउँछन् ।
अढाई वर्षअघि सम्पन्न चुनावमा पनि शिवशरण नै माओवादीबाट उम्मेदवार थए । कांग्रेसका राजकुमार नकर्मीले नौ हजार ४३ मत ल्याएर मेयर जित्दा शिवशरणले चार हजार ९० मत ल्याएका थिए । एमालेका केशरत्न महर्जनले पाँच हजार ५०७ मत ल्याएर दोस्रो भएका थिए । तर मेयर नकर्मीको निधन भएकाले उपचुनाव हुँदैछ ।
प्रतिक्रिया 4