 
																			१० मंसिर, कीर्तिपुर । नेपाली कांग्रेसलाई कीर्तिपुर नगरपालिकाको ५ नम्बर वडाले सधैं साथ दियो । कतिसम्म भने सबैतिर हार्दा पनि यो वडामा कांग्रेसले जित्दै आएको छ ।
गत चुनावकै कुरा गर्दा पनि दोब्बर अन्तरले यो वडामा कांग्रेसले जित्यो । कांग्रेसका राजेन्द्रकुमार महर्जनले १३४० मत ल्याएर वडाध्यक्ष जित्दा नेकपा एमालेका सुशील महर्जनले ७३१ मत पाएका थिए ।
तर यसपटक यो वडामा कांग्रेस पहिलेजस्तो नरहने अड्कलबाजी भइरहेको छ । किनकि कांग्रेस परित्याग गरेका कविकुमार महर्जन र दिनेशकुमार अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यस्ता छिटफुट समस्या बिर्सने हो भने कांग्रेसले आफ्नो जित जोगाउन बलियो दाबी पेश गरिरहेको छ । त्यसैअनुसार प्रचार अभियान चलिरहेको छ ।
  
सोमबार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल सहितका नेताहरू जित सुनिश्चित गर्ने उद्देश्य बोकेरै घरदैलो अभियानमा निस्किएका थिए । टोलीमा दुई दर्जन बढी स्थानीय नेता कार्यकर्ता सहभागी थिए ।
प्रचार टोली भत्केपाटीतिर अघि बढ्दै गर्दा दूध बेचेर फर्केकी महिलाले निराशा व्यक्त गरिन्, ‘जसलाई भोट दिए पनि उस्तै हो ।’
डंगोलको प्रचार टोली मतदाताका कुरा सुन्ने भन्दा पनि आफूहरू आएको जानकारी गराउने गरी कुदिरहेको थियो । जनप्रतिनिधि भएपछि उम्मेदवारसँग मतदाताले गर्ने अपेक्षा समेत सुनिएन । कांग्रेसका चुनावी प्रचारमा बजाउने गीत संगीतसहित अघि बढ्दा एकाध स्थानमा उम्मेदवार डंगोलले वृद्धहरूसँग आर्शिवाद लिन आएको सुनाउँथे । चुनावी एजेण्डा र आफ्ना प्रतिबद्धता कहिंकतै सुनाएनन् ।
जनसेवा माविबाट सुरु भएको प्रचार टोली विष्ट गाउँ पुग्यो । अधिकांश घरहरू विष्टहरूको भएकाले गाउँको नाम नै ‘विष्ट गाउँ’ राखिएको स्थानीय राजु विष्टले जानकारी गराए । उनले भने,‘४/५ वडामा विष्टहरूको चार सय जति घर छन् । कसलाई जिताउने कसलाई हराउने हामी निर्णायक हौं ।’

कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने उनले आकलन गरे । विष्ट गाउँमा चियापसल गर्ने एक महिलाले पनि उनका विष्टको कुरामा समर्थन जनाइन् । स्वतन्त्र उम्मदेवार धेरै भएकाले कांग्रेस–एमालेलाई लाभ पुग्ने उनको विश्लेषण थियो । उनले भनिन्, ‘स्वतन्त्र धेरै उम्मेदवार भएकाले उनीहरूले पाउने मत छरिने भयो । कांग्रेस–एमालेमा एउटाले जित्ला ।’
प्रमुख पदका लागि स्वतन्त्रबाट ११ जना उम्मेदवार छन् । डंगोलको चुनावी घरदैलोमा सहभागी कांग्रेसकी एक स्थानीय कार्यकर्ताले भने युवा पुस्ताको मत स्वतन्त्रहरूको पक्षमा खस्ने आकलन गरिन् ।
कांग्रेस उम्मेदवार डंगोल २० बुँदे प्रतिबद्धता सहित चुनावी मैदानमा छन् । ‘म र मेरो कीर्तिपुरको विकास र समुन्नति खोज्दैछु’ भन्ने डंगोलले चुनावी नारा बनाएका छन् । ‘सिक्दै कमाउँदै र कमाउँदै सिक्दै’ कार्यक्रम सञ्चालन गरिने उनको घोषणापत्रमा उल्लेख छ ।
सुविधा सम्पन्न नगर अस्पतालको स्थापना, ६८ वर्ष माथि जेष्ठ नागरिकलाई निःशुल्क उपचारको प्रतिबद्धता गरेका छन् । कीर्तिपुरलाई पर्यटकीय नगरीको रूपमा स्थापना गर्ने, स्थानीय आदिवासीको संस्कृतिको प्रवद्र्धन गर्न अनुदान व्यवस्था गरिने लगायतका उनले प्रतिबद्धता मतदाता सामू गरेका छन् ।
विगतमा प्रतिबद्धता गर्ने, तर कार्यान्वयन नहुने प्रवृत्ति रहेको स्थानीयहरू बताउँछन् । वडा नम्बर ५ मा बोसन खोलामा हरेक वर्ष बाढी आउने गरेको, तर जनप्रतिनिधिले त्यसतर्फ ध्यान नदिएको स्थानीय रघुनाथ विष्टले बताए ।
२०७९ सालको निर्वाचनमा कांग्रेसले फोहोरमैला बापतको शुल्क नलिने घोषणा गरे पनि कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । प्रमुख पदका उम्मेदवार डंगोलले फोहोर मैला बापतको शुल्क क्रमशः घटाउने योजनामा रहेको सुनाए ।
व्यक्ति भेट्नु भन्दा पनि सबै स्थान पुग्ने गरी गरिएको घरदैलो वडा नम्बर ४ र ५ को सीमा स्थान सीममा पुगेर डंगोलले टुंगाए ।
एकताबद्ध बनेको दाबी
नेपाली कांग्रेसका स्थानीय नेताहरू यसपटक पार्टी पंक्ति एक ढिक्का रहेको दावी गर्छन् । उम्मेदवारका लागि ११ जना सिफारिस भएकोमा डंगोलले टिकट प्राप्त गरेका थिए ।
अन्य दश जनालाई निर्वाचन जिताउन पार्टीले खटाएको निर्वाचन परिचालन समितिका संयोजक हिमाल कार्कीले जानकारी गराए । कीर्तिपुरमा गुटगत समस्याले बागी उठ्ने कार्य इतिहासमै नभएको कार्कीले दाबी गरे ।
टिकटका लागि आकांक्षी र तेस्रो नम्बरमा सिफारिसमा परेका हिमाल कार्की निर्वाचन परिचालन समितिको संयोजक बनेका छन् । कार्कीले अनलाइनखबरसँग भने, ‘टिकट नपाउँदाको आक्रोश एक घण्टा मात्रै रह्यो । अहिले सबै जना १५/१६ घण्टा हाम्रो उम्मेदवारलाई जिताउन लागेका छौं ।’

कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जना प्रमुख पदका उम्मेदवार छन् । कांग्रेस नेताहरूका अनुसार स्वतन्त्रबाट खतरा महसुस पार्टीले गरेको छैन ।
कांग्रेसका पालिका तहका एक नेताले प्रतिस्पर्धी शक्ति एमाले नभई माओवादी हुने दाबी गरे । ‘कांग्रेसको प्रतिस्पर्धी एमाले भन्दा माओवादी बलियो हो कि भन्ने हामीले आँकलन गरिरहेका छौं । कांग्रेसलाई कुनै पनि शक्तिले हराउन सक्दैन,’ उनले भने ।
कांग्रेस एकढिक्का भएको हुँदा अन्तर्घातको समस्या नरहेको उम्मेदवार डंगोल दाबी गर्छन् । ‘आकांक्षीहरू धेरै भएकाले यहाँ अन्तर्घात हुन्छ कि भन्ने आकलन गरेका थिए । हामी त्यसमा सचेत छौं । सुक्ष्म तरिकाले अवलोकन गरिरहेका छौं,’ डंगोलले भने,‘अन्तर्घातको डर मेटिएको छ । प्रचार प्रसारमा एक ढिक्का भएर लागेका छौं । शत्रुता पार्टीभित्र छैन ।’
स्थानीय नेता कार्यकर्ता चुनावमा परिचालन गर्नका संयोजन गर्नेगरी नयाँबजारमा सम्पर्क कार्यालय खोलिएको छ । नेता कार्यकर्ता यही भेला भएर चुनावी योजना बनाउँछन् । पार्टीमा आवद्धदेखि शुभेच्छुकहरू समेत सम्पर्क कार्यालयमा भेटिन्छन् । २०१५ सालको चुनावको अनुभव गरेका ८१ वर्षीय ध्रुव खनाल सम्पर्क कार्यालयमा भेटिए । दोस्रो जनआन्दोलनका घाइते समेत रहेका खनालले कीर्तिपुरमा फेरि पनि कांग्रेसले जित्ने दाबी गरे ।

डंगोलका पक्षमा माहोल बनाउन केन्द्रीय नेता बोलाएर १३ मंसिरमा कांग्रेसले कीर्तिपुरमा चुनावी सभा गर्दैछ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनावी सभालाई सम्बोधन गर्ने मेयरका उम्मेदवार डंगोलले जानकारी गराए ।
जनप्रतिनिधिहरूको कार्य, तीनपटक नगर सभापति बनेका डंगोल, अन्तर्घातको भय अन्त्य लगायतले कांग्रेसले पुनः जित्ने उक्त दलका नेताहरू दाबी गर्छन् । ३१ हजार ११२ मतदाता रहेको यस पालिकामा अघिल्लो पटक भन्दा मतान्तर बढाएर जित्ने दाबी कांग्रेसका नेताहरू गर्छन् ।
गत निर्वाचनमा कांग्रेसबाट प्रमुखको उम्मेदवार बनेका राजकुमार नकर्मीले ९०४३ मत ल्याई जितेका थिए । एमालेका केशरत्न बज्राचार्यले ५५०७ मतान्तरले पराजित भएका थिए ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4