१४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे–भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उनले शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्ने बताए ।
एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला, वृद्धवृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिए ।
तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सकेमात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थिरताका लागि अहिले संसदका दुई ठूला पार्टी मिलेर सरकार बनाएको बताए ।
‘राजनीतिक स्थिरता र स्थायित्व भयो भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाईं हामी सबैलाई महसुस भएको हुनुपर्छ,’ उनले भने, ‘त्यसैले अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । राजनीति स्थिरताको जगमा विकास र समृद्धिलाई प्राथमिकताममा राखेर सरकारले काम गरिरहेको छ ।’
प्रतिक्रिया 4