+
+

डब्लूटीओ महानिर्देशकमा डा. इवेला पुनः नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १८:३१

१४ मंसिर, काठमाडौं । विश्व व्यापार संगठन (डब्लूटीओ) को महानिर्देशक पदमा दोस्रो कार्यकालका लागि डा. एनगोजी ओकोन्जो इवेला नियुक्त भएकी छन् । उनलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिन सबै सदस्यहरू सहमति भएपछि डब्लूटीओको विशेष जनरल मिटिङले उनको नियुक्ति गरेको हो । उनको दोस्रो कार्यकाल आगामी १ सेप्टेम्बर २०२५ मा सुरु हुनेछ ।

विश्व व्यापारको सर्वोच्च संस्थाको आगामी नेतृत्व छनोटका लागि आवेदन माग गरिएकोमा निर्धारित अवधि ८ नोभेम्बरसम्म इवेलाको मात्रै आवेदन परेको डब्लूटीओको जनरल काउन्सिलका अध्यक्ष तथा नर्वेका राजदूत पिटर ओल्बर्गले जानकारी गराएका थिए ।

नयाँ महानिर्देशक पदमा ओकोन्जोको एकल आवेदन परेकाले उनी नै सो पदमा नियुक्ति भएकी हुन् ।

उनको अहिलेको कार्यकाल अर्को वर्ष ३१ अगस्त २०२५ मा सकिँदै छ । सन् २०२१ मा सो पदमा नियुक्त भएकी उनी डब्लूटीओको इतिहासमा पहिलो महिला प्रमुख र पहिलो अफ्रिकन प्रमुख हुन् । नाइजेरियाकी अर्थशास्त्री उनले सन् २०१२ मा विश्व बैंकको अध्यक्षमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

आफूलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेकोमा उनले डब्लूटीओ जनरल काउन्सिल र सदस्यहरूलाई धन्यवाद दिएकी छन् ।

आफू अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलगायत सबै विश्व नेताहरूसँग सहकार्य गर्न तयार रहेको बताएकी छन् ।

‘विश्वको ८० प्रतिशत वस्तुको व्यापार डब्लूटीओको प्रावधानअनुरूप हुने गर्छ, यसलाई कसैले चुनौती दिन सकेको छैन,’ उनले भनेकी छन् ।

डब्लूटीओमा धनी र गरिब, ठूला र साना देशको आवाज समान रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?