+
+

पूर्वप्रेमिकाले एक खर्ब रुपैयाँको बिटक्वाइन फोहोरमा फ्याँकिदिएपछि…

एजेन्सी एजेन्सी
२०८१ मंसिर १७ गते ७:४५

संयुक्त अधिराज्य बेलायतको वेल्समा बस्ने एक युवककी भूपू प्रेमिकाले एउटा यस्तो गल्ती गरेकी छिन् कि त्यो सायद उनको जीवनको सबैभन्दा ठूलो गल्ती तथा पछुतोको विषय बनेको छ ।

समाचार अनुसार वेल्सका जेम्स हावेल्सले आफ्नो हार्ड ड्राइभमा ८ हजार बिटक्वाइन राखेका थिए । सो बहुमूल्य हार्ड ड्राइभ उनकी पूर्वप्रेमिका हेल्फिनाले भुलवस फोहोरमा फ्याँकिदिइन् । उक्त बिटक्वाइनको मूल्य आजको भाउमा करिब १ खर्ब रुपैयाँ हुन्छ ।

जेम्सकी पूर्वगर्लफ्रेण्ड हेल्फिना एडी इभान्सका अनुसार उक्त दुर्घटना घरको सरसफाइँ गर्ने क्रममा भएको हो । उनी भन्छिन्- जेम्सले मलाई फोहोरको एउटा झोला फ्याँक्नका लागि भनेका थिए । मलाई त्यो झोलामा के थियो भन्ने थाहा थिएन । त्यसैले जेम्सले उक्त क्षतिका लागि मलाई जिम्मेवार ठहराउन सक्दैनन् ।

फोहोरको झोला खोज्दै जेम्स

त्यो करोडौं डलरको बिटक्वाइन भएको हार्ड ड्राइभको खोजीमा जेम्स अहिले यत्रतत्र पुगिरहेका छन् । जुन झोलामा उनको हार्ड ड्राइभ थियो त्यो झोला न्यूपोर्ट सहरको डम्पिंग साइटमा पुगिसक्यो र एक लाख टन फोहोरको थुप्रोमा कही हराएको छ । त्यसैले त्यो हार्ड ड्राइभ खोज्ने कुरा असम्भव जस्तै बनेको छ, तथापि जेम्सको आशा मरेको छैन ।

कानूनी लडाइँमा उत्रिंदै

जेम्सले न्यूपोर्ट नगर परिषदमाथि ४९ करोड ५० लाख पाउण्ड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् । प्रशासनले आफूलाई आफ्नो हार्ड ड्राइभ खोज्नका लागि फोहोरको थुप्रोसम्म जान नदिएको उनको आरोप छ । उनी भन्छन्- यो खजानाको मूल्य हरेक दिन बढिरहेको छ । मैले यो भेटाउनै पर्दछ ।

यदि आफ्नो उक्त हार्ड ड्राइभ फेला परेमा सो बिटक्वाइटको १० प्रतिशत हिस्सा न्यूपोर्ट सहरको विकासका लागि खर्चिने पनि उनले घोषणा गरेका छन् ।

उता न्यूपोर्ट नगर परिषदले भने फोहोरको थुप्रो खोतल्ने अनुमति दिन अस्वीकार गरेको छ । पर्यावरणीय कारणले गर्दा फोहोरको उत्खनन् असम्भव रहेको परिषद्को भनाइ छ ।

जेम्सले नगर परिषद्‍विरुद्ध हालेको मुद्दाको सुनुवाई यही महिना हुनेछ । त्यसैले जेम्सलाई उनको १ खर्ब रुपैयाँ बराबरको बिटक्वाइन प्राप्त हुनेछ वा त्यो सधैंका लागि फोहोरमै दबिएर रहनेछ भन्ने कुरा भविष्यको गर्भमा रहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?