काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपालमा डिजिटल सुरक्षा र डिजिटल साक्षरताको प्रबर्द्धनमा कार्य गर्ने जनाएको छ । मंगलबार आयोजित डिजिटल सुरक्षा सम्मेलनमा टिकटकका अधिकारीहरूले यसका लागि सरकारसँग मिलेर कार्य गर्न प्लाटफर्म तयार रहेको बताए ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता भएकोमा टिकटकलाई बधाई दिँदै डिजिटल सुरक्षा र साक्षरता विकासमा मिलेर कार्य गर्न सरकार तयार रहेको बताए । उनले मेटा, एक्स, गुगललगायतका अन्य सामाजिक संजाललाई पनि नेपालमा दर्ता हुन आग्रह गरे ।
संचार सचिव राधिका अर्यालले टिकटकले नेपालमा दर्ता भएर सरकारसँग मिलेर काम गरिरहेको बताइन् । नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई विश्वमाझ चिनाएर पर्यटन प्रबर्द्धनमा टिकटकले भूमिका खेलेको बताउँदै उनले उपयुक्त कन्टेन्टमार्फत डिजिटल अर्थतन्त्र निर्माणमा पनि योगदान दिने अपेक्षा गरिन् ।
‘डिजिटल इको–सिस्टम बनाउन टिकटकको भूमिकाले योगदान दिनसक्छ’ उनले भनिन्, ‘शिक्षा र संस्कृति प्रबर्द्धनमा हामीले अझै धेरै भूमिकाको अपेक्षा गरेका छौं’ उनले भनिन्, ‘यो कानूनी ढाँचामा आउन मेटासहितका प्लाटफर्मलाई सहकार्यको लागि ढोका खुला छ ।’ नेपालमा साइबर कानून मस्यौदाको चरणमा रहेको उनले जनाइन् ।
टिकटकको सार्वजनिक नीति र सरकारी सम्बन्धका दक्षिण एसियाली प्रमुख फिरदौस मोटाकिनले विशेषगरि युवा र बाल प्रयोगकर्ताको अनलाइन सुरक्षा र हितलाई सुनिश्चित गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । ‘सम्मेलनले ती प्रयोगकर्तालाई सुरक्षित अनलाइनको वातावरण सिर्जना गर्नेतर्फ योगदान दिने हाम्रो अपेक्षा छ’ उनले भने, ‘हाम्रा अभियानमार्फत हामी अनलाइन सुरक्षा र डिजिटल साक्षरताको प्रबर्द्धनमा प्रतिबद्ध छौं । यी लक्ष्य हासिल गर्न हामी नेपाल सरकारसँग मिलेर कार्य गर्न तयार छौं ।’
टिकटकको सार्वजनिक नीति तथा साझेदारी कार्यक्रमकी प्रमुख जारा बासारत हिग्सले डिसेम्बर महिनाको अन्त्यमा डिजिटल सुरक्षाबारे महत्वपूर्ण घोषणा हुने बताइन् । पाकिस्तान र बंगलादेशको अनुभव बाँड्दै उनले नेपालको शैक्षिक विकासमा टिकटकले प्राथमिक, माध्यमिक र उच्च शिक्षाका विद्यार्थीको पठनपाठनमा योगदान दिनसक्ने बताइन् । यसका लागि टिकटकमार्फत खास विषय पढाउन सक्नेदेखि छात्रवृत्ति उपलब्ध गराउन सक्नेतर्फ विचार हुने बताइन् ।
टिकटकको पहुँच र साझेदारी कार्यक्रमकी व्यवस्थापक सिद्रा जलीलले सुरुमा मनोरञ्जनको उद्देश्यले प्लाटफर्मको विकास भएपनि सिर्जनशिलता र शिक्षाजस्ता कुरालाई पनि सँगै प्रबर्द्धन गरिरहेको बताइन् । डेढसय मुलुक र त्यहाँका ७५ भाषामा टिकटक प्रयोग भैरहेको जनाउँदै उनले सिर्जनालाई प्रोत्साहन गर्न र आनन्द ल्याउन सकेको बताइन् । आफूले टिकटकमार्फत नेपालका परिकारको प्रबर्द्धन गरेको उनले बताइन् ।
उनले उक्त अवसरमा नेपालबारेका केही विवरण पनि प्रस्तुत गरिन् । अहिलेसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गरिएका ६ लाख ७८ हजार भिडियो हटाइएको, २४ घण्टाभित्र ९३.२ प्रतिशत भिडियो हटाइएको र ९९.१ प्रतिशत भिडियोलाई पब्लिस हुनुअघि नै सिस्टमले हटाएको तथ्य उनले पेश गरिन् ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख नविन्द अर्यालले पछिल्लो समय नेपालमा सामाजिक संजालजस्ता प्लाटफर्ममार्फत वित्तिय अपराधका घटना बढेको बताए । उनका अनुसार गतवर्ष अनलाइनबाट हुने यस्ता घटना २००० थिए भने, यसवर्ष त्यो बढेर ६,८४२ पुगेको छ ।
यस्ता घटनालाई नियमन गर्न प्रहरी मात्र लागेर नहुने बताउँदै सबैको उत्तिकै दायित्व हुने उनले बताए । टिकटक लगायतका सामाजिक संजालको दुरुपयोग गर्दै महिला र बालबालिका लक्षित अनलाइन अपराध बढेको बताउँदै उनले यसका घटना रोक्न विद्यमान कानूनमात्र पर्याप्त नहुने बताउँदै विशेष कानून नै ल्याउनुपर्ने बताए ।
पाठ्यक्रम विकास केन्द्रसँग मिलेर साइबर सुरक्षा र साक्षरताबारे पाठ्यक्रम तयार भैरहेको र चाँडै लागू हुने उनको भनाइ छ । सम्मेलनमा टिकटकको सार्वजनिक नीति र सरकारी सम्बन्धका दक्षिण एसियाली प्रमुख फिरदौस मोटाकिनले साइबर ब्युरो प्रमुखसँग प्रश्नोत्तर गरेका थिए ।
सम्मेलनमा सरकारी अधिकारी, शिक्षा क्षेत्रका व्यक्तिहरु, डिजिटल अधिकार विज्ञ, बाल सुरक्षा अधिकारकर्मी र प्रविधि क्षेत्रका व्यक्ति सहभागि थिए । सो अवसरमा ‘प्रयोगकर्ताको सुरक्षाको लागि जोखिम पहिचान : डिजिटल सुरक्षाको लागि सहभागितामूलक दृष्टिकोण’ विषयमा टिकटक क्रिएटर सुवास घिमिरे, संचार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुर, डिजिटल सुरक्षा विज्ञ सन्तोष सिग्देल लगायतका व्यक्तिले छलफल सत्रमा यसबारे चर्चा गरे ।
सम्मेलनपछि टिकटकले विज्ञप्ति जारी गर्दै नेपाली समुदायको सुरक्षित डिजिटल वातावरण सिर्जना गर्ने कार्यमा सम्मेलन फलदायी रहेको जनाएको छ । सम्मेलनले अर्थपूर्ण साझेदारी, सचेतना वृद्धि र युवा प्रवद्र्वनको लागि भूमिका खेलेको समेत विज्ञप्तिमा उल्लेख छ । उक्त अवसरमा टिकटक र चाइल्ड सेफनेटबीच समझदारीपत्रमा हस्ताक्षर भयो ।
संचार तथा सूचना प्रविधि मन्त्रालयसँग मिलेर टिकटकले सम्मेलन आयोजना गरेको हो ।
थप तस्वीर :
प्रतिक्रिया 4