काठमाडौं । केही सातायता अभिनेता पल शाह विवाहको खबरले चर्चामा छन् । टिकटकदेखि रिल्ससम्म उनको विवाहको खबर छ्याप्छ्याप्ती छ । केही युट्युबरले उनको विवाह माघमा हुन लागेको दाबी गरिरहेका छन् ।
विवाहको हल्ला आगो जसरी फैलिंदै गर्दा उनलाई देश विदेशबाट बधाईको ओइरिरहेको रहेछ । यतिसम्म कि केही टिकटकरले केही अभिनेत्रीसँगको फोटो सेयर गर्दै पलको विवाह हुन लागेको भन्दै बधाई दिइरहेका छन् ।
विवाहको हल्ला यति फैलियो कि यतिबेला स्वयं पल शाहले सामाजिक सञ्जालबाट प्रष्टीकरण दिनुपरेको छ । आफ्नो विवाहको खबरले आफैं चकित परेको उनको भनाइ छ । यो खबरमा सत्यता नरहेको उनले बताएका छन् ।
पल फेसबुकमा लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु । साथीभाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’
पलको यो फेसबुक पोस्टमा धेरै प्रतिक्रिया आइरहेका छन् । एकजना कमेन्टमा लेख्छन्– चाँडै विवाह गर्नुपर्छ भाइ ।’ अर्को एकजना लेख्छन्, ‘सिंगल लाइफ जिन्दावाद ।’
कामको कुरा गर्दा पल अभिनित फिल्म ‘मायावी’ प्रदर्शन तयारीमा छ । उनको पछिल्लो रिलिज ‘रावायण’ बक्स अफिसमा असफल रह्यो । यतिबेला भने पल म्युजिक भिडियोहरूमा व्यस्त छन् ।
प्रतिक्रिया 4