२१ मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने बताएका छन् । कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला देउवाले पत्रकारहरुलाई उक्त जवाफ दिएका हुन् ।
तपाईंको उत्तराधिकारी गगन थापा हो ? भनी पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ ?’
संविधान संशोधनको प्रसंगमा देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए ।
‘उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो,’ देउवाले भने ।
संविधान संशोधन राजनीतिक दलहरूको सहमतिमा गरिने उनको भनाइ छ । संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक भएकाले दलहरूबीच वार्ता एवं सहमति कायम गर्ने उनले स्पष्ट पारे ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेला बीआरआईमा ऋण लिने सहमति नभएको उल्लेख गर्दै देउवाले ओलीलाई धन्यवाद दिए ।
नेता शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा सोधिएको प्रश्नमा देउवाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । पार्टी महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनवाट नेतृत्व चयन हुने उनले बताए ।
वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उनको दाबी थियो ।
प्रतिक्रिया 4