+
+

टुँडिखेल महांकाल मन्दिरको सत्तल पुनर्निर्माण

काठमाडौं महानगरपालिकाले टुँडिखेल पश्चिमतर्फको महांकाल मन्दिर परिसर चौघेरा सत्तलको पुनर्निर्माण सुरु गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १८:१०

२४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुँडिखेल पश्चिमतर्फको महांकाल मन्दिर परिसर चौघेरा सत्तलको पुनर्निर्माण सुरु गरेको छ ।

महानगरका उपप्रमुख सुनिता डंगोलले सोमबार जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्य प्रारम्भ गरिन् ।

सम्पदा तथा पर्यटन समिति संयोजक रहेका ८ नम्बर वडाध्यक्ष आशामान संगत, २२ का अध्यक्ष चिनीकाजी महर्जन लगायत गुठियार तथा पुजारीहरूले पूजा गरेर शिलान्यास गरेका हुन् ।

१० करोडमा बन्दैछ संरचना

महानगरले यो सत्तल पुनर्निर्माणका लागि १० करोड ५ लाख १० हजार रुपैयाँमा विनायक/एसपी/बोहोरा जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको छ ।

सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईका अनुसार परम्परागत निर्माण सामग्री र शैली पुनर्निर्माणको मुख्य विशेषता रहेको छ ।

विभागका वरिष्ठ इन्जिनियर रविन्द्र रिजालका अनुसार सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलको हुनेछ । हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ । यसमा भुइँ तलामा ९ कोठा हुनेछन् । पहिलो तलामा तीन सभाकक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ । त्यसमाथि बुइँगल हुनेछ । रिजालका अनुसार १९९७ सालमा खिचिएको तस्वीरका आधारमा पुनर्निर्माण गरिन लागेको हो ।

मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेशद्वार हुनेछ । सत्तल झिँगटीको छानायुक्त हुनेछ । यसको विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको हो ।

सत्तल पुनर्निर्माणका लागि ४ फागुन २०८० मा सार्वजनिक सूचना जारी गरिएको थियो । यसबाट पाँच प्रस्ताव पेस भएका थिए । यीमध्ये चारको प्राविधिक प्रस्ताव अस्वीकृत भए । निर्माण पक्षलाई १९ असारमा कार्यादेश दिइएको हो । सत्तल निर्माण अवधि १९ असार २०८३ सम्म छ ।

१३ सय ५ वर्ष पुरानो मन्दिर

मन्दिरका पुजारी दीपकहर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब १ हजार ३ सय ५ वर्ष अगाडि निर्माण भएको हो । मन्दिर स्थापनाबारे चलेको किंवदन्ती अनुसार तान्त्रिक शाश्वत बज्र र शिवको आकाश मार्गको यात्रासँग मन्दिर स्थापनाको कथा जोडिएको छ ।

प्रहरी कार्यालयसँगै अहिले महांकालको सानो मन्दिर छ । त्यहाँबाट टुँडिखेलमा सार्नुसँग नेपालकी छोरी भृकुटी तिब्बतबाट फर्कंदा टुँडिखेल छेउमा बास बस्ने गरेको भन्ने भनाइसँग जोडिन्छ ।

हिन्दु र बौद्ध धर्मावलम्बीले पूजा गर्ने यो मन्दिर बौद्धमार्गी तिब्बतीका लागि तीर्थस्थल नै रहेको बज्राचार्य बताउँछन् । मारवाडी समुदायले शनिदेवका रूपमा महांकालको पूजा गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?