२५ मंसिर, काठमाडौं । यतिबेला सेयर लगानीकर्ताका लागि सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।
लगानी गर्नुको प्रमुख उद्देश्य नै लाभांश र पूँजीगत लाभ हो । तर लगानीकर्ताले वर्षौंदेखि नलिएको लाभांश रकम साढे ५७ करोड रुपैयाँ पुगेको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालय अन्तर्गत रहेको लगानीकर्ता संरक्षण कोषमा असार मसान्तसम्म ५७ करोड ४६ लाख १० हजार ३ सय ७२ रुपैयाँ अवितरित लाभांश थन्किएको हो ।
सूचीकृत पब्लिक कम्पनीले लाभांश घोषणा गरेको तर पाँच वर्ष बित्दा पनि लगानीकर्ताले नलिएको रकम यस कोषमा जम्मा हुने गरेको छ । विभिन्न ५५ कम्पनीले अवितरित लाभांश कोषमा जम्मा गरेका छन् ।
यसरी लाभांश जम्मा गर्नेमा बैंक तथा वित्तीय संस्था धेरै छन् । कृषि विकास बैंकको सबैभन्दा धेरै ८ करोड २८ लाख रुपैयाँ कोषमा जम्मा भएको छ । थोरै सेयरधनी रहेको युनिलिभर नेपालबाट समेत लगानीकर्ताले लाभांश नलगेको देखिन्छ । यस कम्पनीको २ करोड २६ लाख रुपैयाँ अवितरित लाभांश कोषमा जम्मा भएको छ ।
त्यस्तै सर्वसाधारणलाई सेयर नै जारी नगरेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पनि २ लाख २५ हजार रुपैयाँ लाभांश जम्मा भएको छ ।
लगानीकर्ता संरक्षण कोषले यो रकम अहिले विभिन्न बैंकमा निक्षेपका रूपमा जम्मा गर्दै आएको छ । उक्त रकमको ब्याजमार्फत कार्यालय सञ्चालन खर्च जुटाउने गरिएको कम्पनी रजिस्ट्रार कार्यालय प्रमुख प्रदीप अधिकारीले जानकारी दिए ।
पछिल्लो समय बैंक खातामै कम्पनीहरूले नगद लाभांश जम्मा गरिदिन थालेका छन् । तर, पनि कतिपय लगानीकर्ताको नाम र बैंक खाता नम्बर नमिल्ने गरेको छ । जसले गर्दा लाभांश सेयरधनीका नाममा जम्मा हुन सकेको छैन ।
अझै पनि लगानीकर्ताले आफ्नो लगानी र लाभांश बेवास्ता गर्ने गरेको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षमात्र २ करोड १६ लाख रुपैयाँ कोषमा जम्मा भएको छ । आफ्नो लगानी सुरक्षित गर्ने, लाभ लिने कार्यमा लगानीकर्ता आफै सक्रिय हुनुपर्नेमा कम्पनीहरूले पटक–पटक लाभांश लिन बोलाउँदा समेत जाँदैनन् ।
कतिपय कम्पनीका पुराना लगानीकर्ताले अहिले पनि सेयर प्रमाणपत्र नै राखिरहेकाले उनीहरूका हकमा नगद लाभांश समेत दिन नसकिएको कम्पनीहरूको भनाइ छ ।
सीडीएस एन्ड क्लियरिङको तथ्यांकअनुसार ७५ करोड कित्ता सेयर अझै डिम्याटमा आएका छैनन् । ती सेयर प्रमाणपत्रकै रूपमा छन् वा कतिपय प्रमाणपत्र हराएका वा नष्ट भएका छन् ।
यद्यपि, आफूसँग सेयर भएको यकिन भए प्रमाणपत्र हराए वा नष्ट भए पनि लगानीकर्ताले पाउने सीडीएसका डेपुटी म्यानेजर सुरेश न्यौपानेले बताए । जब सेयर डिम्याटमा आउँछ, त्यसपछि नगद लाभांश पनि बैंक खातामा प्रदान हुन्छ ।
२०७३ सालदेखि डिम्याट खाता अनिवार्य गरिएको हो । त्यसअघि लाभांश लिन लगानीकर्ता आफै धाउनुपर्ने बाध्यता थियो, यही कारण पहिले वितरण नभएको लाभांश धेरै रहेको र पछिल्ला वर्ष घट्दै गएको न्यौपानेले बताए ।
‘पछिल्ला वर्ष लगानीकर्ताले नलगेको लाभांश घटेको देखिन्छ, कम्पनीहरूले लगानीकर्ताको बैंक खातामा जम्मा गरिदिने गरेका छन्, खाता नम्बर नमिलेको अवस्थामा वा सेयरधनी नै फेला नपरेको अवस्थामा त्यो लाभांश मात्रै कोषमा आउन थालेको छ,’ उनले भने ।
डिम्याट खाता अनिवार्य गर्नुअघि (२०७३ पहिले) लाभांश लिन कम्पनीमै धाउनुपर्ने, लाभांशभन्दा गाडी भाडा नै धेरै लाग्ने गरेकाले लगानीकर्ता थोरै लाभांश लिन जाँदैनथे । पछिल्लो समय भने एक रुपैयाँ लाभांश पनि बैंक खातामा जम्मा हुने गरेको छ ।
सेयरधनीले डिम्याट खातामा बैंक खाता विवरण उपलब्ध गराउँदा त्रुटिपूर्ण हुन गएकाले लाभांश प्रदान हुन नसकेको कृषि विकास बैंकले जनाएको छ ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै लगानीकर्तालाई लाभांश लिनका लागि डिम्याट खाता खोल्न, नवीकरण गर्न तथा सही बैंक खाता नम्बर प्रदान गर्न आग्रह गरेको छ ।
यो लाभांशलाई लगानीकर्ताकै हितका लागि खर्चिनुपर्ने माग लगानीकर्ताले गर्दै आएका छन् । धितोपत्र बोर्ड र बजारसँग आबद्ध व्यक्ति तथा कर्मचारीलाई आवश्यक तालिम र प्रशिक्षण उपलब्ध गराउन यो रकम खर्चिनुपर्ने माग लगानीकर्ताको छ ।
‘त्यो पैसा लगानीकर्ताकै भएकाले उनीहरूको संरक्षणकै लागि खर्चिनुपर्छ,’ सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले भने ।
कम्पनी र पूँजीबजारसँग सम्बन्धित कानुनी तथा लगानीकर्ता संरक्षणका विषयमा सञ्चारमाध्यम मार्फत प्रचार–प्रसार गर्नुपर्ने, तालिम, गोष्ठी र छलफल मार्फत सचेतना बढाउन प्रयोग गर्नुपर्ने माग लगानीकर्ताले गर्दैै आएका छन् ।
यो रकम सम्बन्धित लगानीकर्ताले जुनसुकै समय दाबी गर्न सक्ने भएकाले यसको संरक्षण आवश्यक रहेको न्यौपाने बताउँछन् । कम्पनीको सेयर रजिस्ट्रार कार्यालयमा पाँच वर्षअघिको लाभांश पनि दाबी गरे फिर्ता हुने उनले स्पष्ट पारे ।
‘लगानीकर्ताले आफ्नो लाभांश दाबी गरे कम्पनीहरूले कोषमा आवेदन दिन्छन्, सोही अनुसार कम्पनीले कोषमा जम्मा गरेको रकमबाट फिर्ता दिइन्छ,’ उनले भने ।
गत आव २०८०/८१ मा मात्रै ८ लाख ५४ हजार रुपैयाँ लाभांश रकम फिर्ता भएको रजिस्ट्रार कार्यालयले जनाएको छ ।
अझै केही कम्पनीले कोषमा अवितरित नगद लाभांश जम्मा नगरेकाले यो पटक सूचीकृत सबै कम्पनीलाई त्यस्तो लाभांश रहेको खण्डमा जम्मा गर्न निर्देशन दिइने उनले बताए ।
प्रतिक्रिया 4