२७ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले सत्ता र गठबन्धनको खेलबाट पार्टीलाई अलग गर्नुपर्ने प्रस्ताव ल्याएका छन् । बुधबार सुरु भएको स्थायी कमिटी बैठकमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको दस्तावेज पेश गर्दै महासचिव भूसालले आगामी निर्वाचन एक्लै लड्नुपर्ने प्रस्ताव गरेका हुन् ।
‘अब फेरि गठबन्धनका आधारमा निर्वाचनमा जाने कुरा हामीले सोच्नै सक्दैनौँ । एक त हामी आफैले गठबन्धनका दुष्परिणाम भोगिसकेका छौँ । दोश्रो, गठबन्धनका कारणले नेपालको राजनीति नै बदनाम हुँदै गएको छ’, उनले लेखेका छन् । गठबन्धन गर्दा पार्टीहरु वैचारिक रुपले भुत्ते हुने र सत्ता स्वार्थको खेलमा मात्र अल्मलिने निष्कर्ष उनले प्रस्तुत गरेका छन् । ‘गठबन्धनले क्रान्तिकारी पार्टीहरुलाई वैचारिक रुपले नै भुत्ते बनाउँछ । त्यसले अन्त्यतः पुँजीवादी तथाकथित उदारवादलाई, दलाल पुँजीवादलाई नै सेवा गर्छ’ भूसालको निष्कर्ष छ ।
वाम एकता आजको आवश्यकता भएपनि व्यवहारिक रुपले तत्काल संभव नरहेकाले एकीकृत समाजवादी प्रष्ट भएर अघि बढ्नुपर्ने उनको प्रस्ताव छ । ‘अब नेकपा एकीकृत समाजवादी ठोस् राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकता बाहेक अरु कुनै पनि गठबन्धन गर्दैन भन्ने कुरामा आफै पनि स्पष्ट हुनु पर्छ’, उनको निचोड छ । त्यसरी प्रष्ट आन्दोलन लिएर अगाडि बढ्दा वाम एकताको आधार तयार हुने भूसालले विश्वास गरेका छन् ।
तर केही नेताहरुको सत्ता स्वार्थले गरिने एकता वा चुनावी तालमेल भरपर्दो नहुने निष्कर्षका रुपमा भूसालले ०७४ को चुनावपछि उत्पन्न परिस्थितिलाई प्रस्तुत गरेका छन् । जसलाई अहिलेको राजनीतिक संकटको जग नै मानेका छन् ।
‘कम्युनिष्ट आन्दोलनको भविष्य भन्दा ठूलो पार्टी बनाउने र सत्तामा राज गर्ने स्वार्थमा आधारित भएर गरिएको पार्टी एकताले परिणाम दिएन’ भूसालको दस्तावेजमा भनिएको छ, ‘.. संसदको विघटन र पार्टीको विभाजन भयो । केपी ओलीले संविधानमाथि नै पटकपटक आक्रमण गरेपछि त्यसको प्रतिरोध आवश्यक हुन गयो । संसदको पुनर्स्थापनाले मुलुकको तात्कालिक संवैधानिक सङ्कट त समाधान गर्यो, तर अस्थीर राजनीतिले आर्थिक सङ्कट बढाउने र फेरि आर्थिक सङ्कटले राजनीतिक सङ्कटलाई अझ बढाउने दुश्चक्र भने यथावत् नै रह्यो ।’
देशले खेप्दै आउनु परेको संकटहरुको ऐतिहासिक शृङ्खला संक्षेपमा प्रस्तुत गरेका भूसालले पछिल्लो संकटका कारण ओलीलाई नै मानेका छन् । तर विकसित संकटको भूमरीमा गणतान्त्रिक प्रणाली परेको उनको निष्कर्ष छ । ‘गणतन्त्रका शक्तिहरुले गणतन्त्रको नेतृत्व गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठेको छ । जसले गर्दा जनतामा निराशा र आक्रोश बढ्दैछ’ दस्तावेजमा लेखिएको छ, ‘कम्युनिष्ट आन्दोलनमा त ठूलो मनोवैज्ञानिक आघात लागेको छ । यही मौकामा सामाजिक लफङ्गाहरुले सडकमा गणतन्त्रलाई दुत्कारिरहेका छन् । विचार/सिद्धान्तको खिल्ली उडाईंदैछ ।’
राजनीतिक संकट बनेर पपुलिज्म संस्थागत हुनुमा ओली सहित पुराना पार्टीका नेताहरु जिम्मेवार रहेको उनको निष्कर्ष छ । ‘आजको अर्थराजनीतिक सङ्कटले विचार/सिद्धान्त केही पनि नमिसिएको विशुद्ध ‘नयाँ’ पपुलिष्टहरु जन्माएको छ । जुन सुकै मुलुकको पपुलिज्म पुरानो राजनीति अर्थात् पुराना पार्टीका नालायकीको घोडा चढेर आउँछ’ भूसालले लेखेका छन्, ‘अहिले त्यही भैरहेको छ । प्रधानमन्त्रीका विरुद्ध नाराबाजीका घटना त्यसकै निरन्तरता हुन् ।’
सत्ताको खेल समाधान होइन
नेकपाको विभाजनपछि सुरु भएको गठबन्धनको राजनीतिले मुलुक फासिवाद र अराजकताको खतरामा पुर्याएको भूसाललले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् । ‘अहिले नेकपा एमाले र नेपाली काङ्ग्रेसको सरकार बनेको छ । ती पार्टी र खासगरी नेतृत्वका कारणले गर्दा यसले सङ्कट÷दुश्चक्रलाई समाधान गर्न सक्दैन’, भूसालको निष्कर्ष छ ।
यी दुई पार्टीको फरक विचारधारात्मक अडान, नेतृत्वमा रहेको समस्या र वर्तमान संकटको पृष्ठभूमिका आधारमा मुलुकलाई निकास दिन यो सरकारले नसक्ने उनको विश्लेषण छ । ‘संसदीय मूल्यका हिसाबले यिनीहरु दुई ठूला पार्टीहरु मिलेर बनेका छन्, विचारका हिसाबले समाजवादी र पुँजीवादी हुन्, राजनीतिक हिसाबले अदालतको परामादेशद्वारा सरकारमा पुर्याइएको र सरकारबाट निकालिएको पार्टीहरु हुन्’ दस्तावेजमा लेखिएको छ, ‘प्रवृत्तिका हिसाबले सत्ताका लागि जेसुकै गर्न तयार नेताहरु हुन् । जसले गर्दा यिनीहरुबाट मुलुकका समस्याको समाधान हुने कुनै सम्भावना छैन ।’
बरु पपुलिष्ट अराजकतालाई बढाएर लैजाने उनको बुझाइ छ । ‘अब यिनीहरुले जेसुकै गरे पनि समस्या बढ्दै जानेछ । सत्ताको विरोध अझ बढ्छ’ भूसालले विश्लेषण छ, ‘सत्ता गठबन्धनले विरोधको जवाफ दमन र षडयन्त्रबाट दिने प्रयत्न गर्छ । त्यसले पपुलिष्ट अराजकतालाई अझ बढाउनेछ ।’ अन्ततः यो सरकार फासिस्ट बन्दै जाने संभावना भूसालले देखेका छन् ।
तर यो गठबन्धन आगामी चुनावसम्मै जान पनि सक्ने संभावना उल्लेख गरिएको छ । यो गठबन्धनको विकल्पमा बन्ने सरकारले पनि मुलुकको संकट थेग्न नसक्ने भूसालको निष्कर्ष छ । ‘वर्तमान संसदभित्र बन्न सक्ने गठबन्धन मध्ये अहिलेको गठबन्धन सबैभन्दा बलियो गठबन्धन हो । यसका ठाउँमा बन्ने सक्ने कमजोर गठबन्धनले पनि मुलुकलाई अझ डरलाग्दो अस्थिरता र अराजकतातर्फ लैजान नै मद्दत गर्ने छ’, दस्तावेजमा लेखिएको छ ।
सडक, सदन र प्रशिक्षण
सत्ता स्वार्थमा आधारित पपुलिज्मको राजनीतिले मुलुकको संकट झनै गहिरिदै गएकाले प्रष्ट राजनीतिक आन्दोलनको कार्यक्रम घोषणा गरेर जानुपर्ने प्रस्ताव भूसालको छ । आन्दोलनका कार्यक्रमबाटै मुलुकको संकट समाधान उन्मुख हुने र नागरिकमा ब्याप्त निराशा घटाउन सकिने उनको निष्कर्ष छ ।
तर संगठन सानो रहेको लघुताभास त्याग्नुपर्ने, सत्ता र गठबन्धनको खेलमा अल्मलिन नहुने जस्ता सर्तहरु उनले अगाडि सारेका छन् । जनताको पक्षमा आन्दोलन लिएर जाँदा संगठन आफै निर्माण हुँदै जाने तर्क भूसालले गरेका छन् । ‘कहिले कहीँ हामीलाई के लाग्छ भने पहिले सङ्गठन बनाउनु पर्छ, त्यसपछि मात्रै आन्दोलन गर्न सकिन्छ । सङ्गठन नै नभएको अवस्थामा कसले आन्दोलन गर्छ ? भन्ने प्रश्न झट्ट सुन्दा तार्किक लागे पनि त्यो गलत हो । आजसम्मको इतिहासमा न क्रान्तिकारी पार्टीको निर्माण भएपछि क्रान्तिकारी आन्दोलन भएको छ, न त क्रान्तिकारी आन्दोलन पूरा भएपछि पार्टी बनेको छ’, दस्तावेजमा लेखिएको छ ।
बरु राजनीतिक मागहरु घोषणा गरेर जाँदा बढीभन्दा बढी जनता सहभागी हुने र पार्टी निर्माण हुने तर्क गरेका छन् । भूसालले लेखेका छन्, ‘आफ्ना राजनीतिक मागहरु सार्वजनिक रुपमा घोषणा गरेर, बढी भन्दा बढी जनतालाई त्यसका वरिपरी परिचालित नगरिकन संसारको कुनै पनि राजनीतिक पार्टी स्थापित भएको छैन । अझ आफुलाई क्रान्तिकारी, प्रगतिशील दाबी गर्ने पार्टीको हकमा त यो नियम अकाट्य रुपले लागू हुन्छ । तिनीहरु आन्दोलनमै जन्मिन्छन् र आन्दोलनमै हुर्किन्छन् ।’
प्रस्तावका रुपमा भूसालले एक वर्षे राजनीतिक कार्यक्रमहरु प्रस्तुत गरेका छन् । ‘हामी अहिले नै राष्ट्रव्यापी आन्दोलनको हावा हुरी ल्याउन सक्ने अवस्थामा छैनौँ । तर फेरि राष्ट्रव्यापी आन्दोलन नगरिकन राष्ट्रव्यापी पार्टी बनाउन सकिन्न । त्यसैले पहिलो चरणमा हामीले आन्दोलनलाई राष्ट्रिय बनाउन सम्पूर्ण तागत लगाउनु पर्छ’ उनको प्रस्ताव छ, ‘पहिलो एक महिना हामीले देशभरी समस्या सङ्कलन गर्छौँ । समस्या सङ्कलनको काम पनि हामीले अभियानकै रुपमा गर्नु पर्छ । हाम्रा सबै पार्टी कमिटी र जनसङ्गठनहरुले आआफ्ना कार्यक्षेत्रका समस्याहरु सङ्कलन गर्ने छन् ।’
भूसालका प्रस्ताव अनुसार एकीकृत समाजवादीले सडक, सदन र प्रचारका क्षेत्रबाट आवाज उठाउनुपर्नेछ । जसको परिणामबारे उनले लेखेका छन्, ‘… नेकपा एकीकृत समाजवादी सत्ताको लुछाचुँडीभन्दा अलग, सत्ताधारी गठबन्धनको नालायकी वा षडयन्त्रका विरुद्ध र पपुलिष्ट अराजकतावादको विकल्पको मुलुकको वास्तविक रुपान्तरणकारी राजनीतिक शक्ति हो भन्ने कुरा स्थापित हुनेछ ।’
प्रतिक्रिया 4