+
+

माग्ने बुढा महंगो बन्दा खुसी देखिएका जितु : ‘गीताञ्जली’ गर्दा बल्लबल्ल ३ सय दिन्थ्यौं

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १४:५४
आर्काइभ तस्वीर

काठमाडौं । केहीदिनअघि अभिनेता केदार घिमिरेले पछिल्ला फिल्मबाट आफूले ५० लाख रुपैयाँभन्दा धेरै पारिश्रमिक लिने गरेको बताएका थिए । उनले रकम त खुलाएनन् तर निर्माताले नै आफूलाई त्यति रकमको अफर गरेको बताए ।

यो स्वभाविक पनि हो किनभने, घिमिरे पछिल्लो समयका ‘डिमान्डेड’ अभिनेता हुन् । यो दाबी सहि हो भने, घिमिरे पछिल्लो समयका महंगा अभिनेता हुन् । यतिबेला घरेलु फिल्म वृत्तमा घिमिरेको पारिश्रमिकको चर्चा छ ।

यस्तोमा, लामो समय घिमिरेसँग सहकार्य गरेका अभिनेता जितु नेपालले घिमिरे महंगा कलाकार बनेकोमा खुसी व्यक्त गरेका छन् । केही मिडियासँगको कुराकानीमा उनले यो कुराले आफू प्रसन्न भएको बताए ।

‘कुनैबेला गीताञ्जली गर्दा केदारलाई ३ सय रुपैयाँ पारिश्रमिक दिन्थ्यौं’ उनले सम्झिए, ‘त्यतिबेला बल्ल बल्ल त्यति पैसा भएपनि दिन्थ्यौं । आज केदार सबैभन्दा महंगा कलाकार भएकोमा खुसी लागेको छ ।’ केही दिनअघि एक कमेडी शोमा अतिथि बनेर पुगेका जितुलाई पत्रकारले यो सन्दर्भमा प्रश्न गरेका थिए ।

आफूले पारिश्रमिकलाई महत्व नदिने तर्क जितुको छ । ‘भविष्यमा सम्झिने भनेको काम हो, पारिश्रमिक होइन’ उनको तर्क छ, ‘म कलालाई पारिश्रमिकसँग दाँज्दिनँ । भोलिका दिनमा मैले गरेको काम मात्र देखिने हो । मैले कति पैसा लिएको थिएँ भन्ने देखिँदैन । यसैले हामी कलाकारले कृतिका लागि काम गर्ने हो । यो मेरो विचार हो ।’

जितु र केदारले पछिल्लो समय ‘छक्कापञ्जा’का केही श्रृंखलामा सहकार्य गरेका थिए । जितु यतिबेला २६ पुसदेखि प्रदर्शन तयारीमा रहेको ‘कार्साङ’को प्रवर्धनमा ब्यस्त छन् । केदारले भने कंगारु, माइतीघर, माग्ने राजामा साइन गरेका छन् । उनले केही दिनअघि ‘जेरी अनटप’को सुटिङ सकेर एक फिल्म अवार्डमा सहभागि हुन अमेरिका लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?