+
+

गर्लफ्रेण्डलाई प्रभावित पार्न सिंहको खोरमा छिर्दा गयो ज्यान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १८:१०

काठमाडौं। आफ्नो गर्लफ्रेण्डलाई खुसी पार्ने तथा आफूमा रहेका विभिन्न क्षमता देखाएर प्रभावित पार्ने चाहना सबैको हुन्छ । तर कहिलेकाहीँ यस्तो चाहनाले मानिसको ज्यानै जान सक्दो रहेछ। हालै उज्वेकिस्तानमा यस्तै दर्दनाक घटना भएको छ ।

गर्लफ्रेण्डलाई इम्प्रेस गर्नका लागि सिंहको खोरभित्र छिरेर भिडियो खिच्न खोज्दा एकजना व्यक्तिले ज्यानै गुमाएका छन् ।

यो घटना गत डिसेम्बर १७ मा उज्वेकिस्तानको पार्केन्टस्थित एउटा निजी चिडियाखानामा भएको हो । उक्त चिडियाघरमा रात्रीकालीन सिफ्टमा काम गर्ने ४४ वर्षीय कर्मचारी एफ आइरिसकुलोभले घरमा रहेकी आफ्नी गर्लफ्रेण्डलाई पठाउनका लागि सिंहको खोरभित्र छिरेर भिडियो खिच्ने निधो गरे ।

सिंहको खोरभित्र सिंहसँगै भिडियो खिच्ने कुरा निकै डरलाग्दो काम हो र जोकोही मानिसले त्यो गर्नसक्ने काम होइन । त्यसैले अरुले गर्न नसक्ने काम गरेर गर्लफ्रेण्डलाई प्रभावित गर्न चाहन्थे आइरिसकुलोभ।

सोही मनसुवासाथ उनी ड्युटीमै रहेको बेला मोबाइल फोन लिएर सिंह भएको खोरभित्र छिरे । तर दुर्भाग्यवस उनीमाथि त्यहाँ रहेका सिंहहरु जाइ लागे र उनको मृत्यु भयो । उक्त खोरमा तिनवटा अफ्रिकी सिंहहरु थिए ।

उक्त घटना पश्चात् सिंहको खोरबाट निकालिएको उनको मोबाइल फोनमा खिचिएको भिडियोमा ती व्यक्ति सिंह सिंहहरूको नाम लिएर बोलाउँदै गरेको सुनिन्छ। त्यसपछि काठको भुइँमा बसिरहेको सिंह सतर्क भई उनीतर्फ आएको देखिन्छ। त्यसबेला ती व्यक्ति आफुमाथि मडारिइरहेको खतराप्रति अनभिज्ञ रहेका छन् । त्यसपछि भिडियो अचानक अन्त्य हुन्छ र केवल उनको चिच्याएको आवाज सुनिन्छ ।

प्रहरीले उक्त घटनाको चार घण्टापछि सिंहको खोर भित्रबाट सिंहले केही अंश खाएको अवस्थामा उनकोे शव फेला पारे। साथै खोरको ढोका खुला भएका कारण त्यहाँ रहेका सिंहहरु पनि बाहिर निस्किएका थिए । सिंहहरूलाई नियन्त्रणमा लिन एउटालाई गोली हानिएको र अन्य दुईलाई डार्टिंग गरेर बेहोस पारिएको थियो ।

आइरिस कुलोभ एक अनुभवी चिडियाखाना कर्मचारी थिए र सिंहहरूको स्याहार सुसार गर्न पोख्त थिए । त्यसैले सायद सिंहले आफुलाई चिनेको हुँदा आक्रमण नगर्लान् भन्ने गलत आत्मविश्वास भएकैले उनी सिंहको खोरभित्र छिरेका थिए ।

स्थानीय प्रहरीले भने घटनालाई फरक ढंगले सार्वजनिक गरेको छ। प्रहरीको दाबी अनुसार चिडियाखानामा खोरबाट सिंहहरू बाहिर निस्किएर आक्रमण गर्दा ती कर्मचारीको ज्यान गएको हो । यद्यपि, समाजिक सञ्जाल एक्समा भाइरल भएको भिडियोले प्रहरीले दिएको विवरणलाई खण्डित गर्छ। भिडियोमा ती व्यक्र्ति सिंहको खोर खोल्दै, भित्र छिरेर र सिंहहरुको नामै लिएर बोलिरहेको सुन्न सकिन्छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?