+
+

पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १६:३२

काठमाडौं । नेपाली इतिहास, संस्कृति र पुरातत्व क्षेत्रको अनुसन्धानमा सक्रिय महेशराज पन्तले पृथ्वीनारायण शाहबारे पुस्तक तयार पारेका छन् । पुस्तक पब्लिकेसन नेपालयबाट यही पुस २७ मा पृथ्वी जयन्तीका दिन बजारमा आउने भएको छ ।

नेपालको आधुनिक इतिहास निर्माण गर्ने श्रेय पाएका राजा पृथ्वीनारायण शाहका कदम र भूमिकाबारे विभिन्न पाटोबाट चर्चा परिचर्चा चलिरहेकै छ । पन्तले झण्डै आधा शताब्दी लगाएर पृथ्वीनारायण शाहबारे गरेका खोजी पुस्तकमा अटाएका छन् । २०२९ सालदेखि २०७६ सालसम्म पृथ्वीनारायण शाह र उनको काम वरिपरि रहेर लेखेका थुप्रै आलेखबाट छनोट गरिएका ११ लेखको विस्तारित–परिमार्जित–अनूदित रूप पुस्तकमा समेटिएको छ ।

बुवा प्राज्ञ नयराज पन्तद्वारा स्थापित संस्था ‘संशोधन मण्डल’को पाठशालामा संस्कृत भाषा र वाङ्मय अनि नेपालको इतिहास अनुसन्धानका लागि आवश्यक शिक्षा आर्जन गरेका पन्त हाल त्यसै संस्थाका अध्यक्ष बनेका छन् ।

जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट इन्डोलजीमा विद्यावारिधि गरेका पन्तका जर्मनी र भारतबाट एक–एकवटा पुस्तकसहित हालसम्म १८ वटा पुस्तक र ८०० जति अनुसन्धानमूलक लेख प्रकाशित छन् । नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनामा लामो समय काम गरेका पन्तले जर्मनीका विभिन्न विश्वविद्यालयमा शोध अध्यापन तथा फ्रान्सको ‘सेन्टर फर साइन्टिफिक रिसर्च’मार्फत शोध गरेका छन् । पन्त इतिहासप्रधान त्रैमासिक जर्नल ‘पूर्णिमा’को स्थापनादेखि हालसम्मकै सम्पादक पनि हुन् ।

नेपालको आधुनिक इतिहास पृथ्वीनारायण शाहबाटै सुरु हुने भएकाले उनको कामलाई नबुझी नेपाल बुझ्न नसकिने पन्तले बताएका छन् ।

‘पृथ्वीनारायण शाहको समयका आधिकारिक सामग्रीको परिशीलन गरी पृथ्वीनारायण शाहबारे चल्दै आएका विभिन्न भ्रम चिर्दै वस्तुस्थिति खोतल्ने काम यस पुस्तकमा गरिएको छ,’ पन्तले भने, ‘यतिबेला यस विषयमा धेरै चासो रहेपनि तात्कालिक सामग्रीका अनुशीलनको अभाव भएकाले मैले यसलाई पुस्तकाकार दिने निधो गरेको हुँ ।’

‘पृथ्वीनारायण शाहमा ‘इतिहासको चेतना’, ‘पृथ्वीनारायण शाह पहिले नायक, अनि प्रतिनायक, अहिले नायकदेशीय’, ‘एकीकरण दिवस कहिले ?’, ‘के पृथ्वीनारायण शाहको उपदेश नक्कली हो ?’, ‘पृथ्वीनारायण शाहको उपदेशको औचित्य’, ‘आज्ञापत्र, उपदेश र राजविधानसार’, ‘जर्ज किन्लकको डायरी’, ‘पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूका नाक काटे कि काटेनन् ?’, ‘नाकाबन्दी र पृथ्वीनारायण शाह’, ‘काठमाडौंमा द्यौभाजू र पृथ्वीनारायण शाह’, ‘भक्तपुर विजयको प्रत्यक्ष वर्णन’ जस्ता शीर्षक पुस्तकमा छन् ।

यसबाहेक पृथ्वीनारायण शाहले निधन हुनु केहीअघि आफ्ना भाइभारदारबीच नुवाकोट दरबारमा गरेको भाषण अर्थात् चल्तीको भाषामा दिव्योपदेशको सम्पूर्ण पानाको फोटो तथा पूर्णपाठ पनि पुस्तकमा समेटिएको छ ।

‘पब्लिकेशन नेपालय २० वर्ष पुगेको सुखद् अवसरमा हामी नयाँनयाँ योजनामा छौं,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले भने, ‘यस क्रममा हरेक विधाका खासखास अध्येताहरूसँग सहकार्य बढाउँदै पाठकहरूसम्म पुग्ने लक्ष्य लिइएको छ ।’

१३३ पृष्ठको पुस्तकलाई ४९५ रुपैयाँ मूल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?