 
																			७ माघ, विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सुरक्षा हिसाबले प्रदेशमा थ्रेटको अवस्थामा रहेको बताएका छन् ।
आफूमाथि हातपात भएको विषय उल्लेख गर्दै उनले सुरक्षाको विषयमा प्रदेश संवेदनशील बन्नुपर्ने बताए ।
आफूमाथि भएकाे आक्रमण नियाेजित नभएकाे उनले बताए । ‘यो कुनै नियोजित घटना होइन, कुनैले उद्देश्य बोकेर घटना भएको होइन, …यसलाई मुद्दा नबनाऊँ’ उनले भने, ‘घरजान हतार थियो, अलिकति अगाडि जाऊँ, चाँडै जाऊँ भनेर अगाडि बढ्न खोज्दै गर्दा मेरो चालकले हर्न बजाए, साइड मागे, मभन्दा अगाडि हिंड्ने गाडीले साइड दिन चाहेन ।’
डाइभर्सनमा पुगेपछि गाडी रोकेको बताउँदै उनले सेक्युरेटीले साइड किन नदिएको भन्दा आक्रमण भएको बताए । साइड किन नदिएको भनेर राम्ररी नै सोध्दा पनि भीआईपीलाई किन साइड चाहिने भन्दै जवाफ आएको थापाले बताए ।
‘भीआईपीलाई साइड दिनुभएन ठिकै छ तर सडकमा त भीआईपी मात्रै होइन, अरु पनि हिंड्छन्, सडकको त नियम पनि हो नि भन्ने कुरा राख्दा मेरो सेक्युरिटीलाई पन्छाएर मलाई हानेको हो’ उनले भने, ‘… सदनलाई नढाँटी भन्नुपर्छ, म पनि २–४ मुक्का चाहिँ लगाउने हिसाबमा थिएँ, तर मलाई साथीहरूले रोक्नुभयो ।’
उनले आफूमाथि योजनाबद्ध घटना नभएका कारण उजुरी पनि नदिएको बताए ।
पूर्व मुख्यमन्त्री थापाले गाडी सुविधा लिएको विषयमा पनि विरोध नगर्न आग्रह गरे । अघिल्लो संसदमा पनि सत्ता पक्षीय दलका नेतालाई सरकारले नै सवारी साधन उपलब्ध गराएको बताए । ‘त्यसमा पनि मुद्दा परेको छ’ उनले भने, ‘कुरा उठिसकेपछि मैले फिर्ता गर्ने सोच बनाएको थिएँ, मैले मागेको होइन सरकारले दिएको हो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4