+
+

कोहलपुरबाट पनि यातायात व्यवस्था कार्यालयले दिन थाल्यो सेवा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १७:२१

९ माघ, बुटवल । बाँकेको कोहलपुरमा यातायात व्यवस्था कार्यालय विस्तार गरिएको छ । बुधबारदेखि कोहलपुरबाट पनि यातायात सम्बन्धी सेवा प्रवाह सुरु भएको हो ।

लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेको थियो ।

बुधबार लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कोहलपुरमा यातायात सेवा कार्यालयको उद्घाटन गरे ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री न्यौपानेले नागरिकलाई यातायात सम्बन्धी सेवा सहज रूपमा प्रदान गर्नका लागि यातायात सेवा कार्यालय विस्तार गरिएको बताए ।

साथै उनले आवश्यकताका आधारमा अन्य जिल्ला तथा स्थानहरूमा समेत यातायात कार्यालय विस्तारको योजना बनाइने समेत बताए ।

उनले केही जिल्लामा यातायात व्यवस्था कार्यालय सञ्चालन गर्ने गरी मन्त्रालयले अध्ययन गरिरहेको बताए ।

‘मुलुक संघियतामा गइसकेपछि राज्यका हरेक संयन्त्र वा शक्ति विकेन्द्रीकरण हुनुपर्छ भन्ने मान्यतामा हामी प्रतिबद्ध छौं,’ मन्त्री न्यौपानेले भने, ‘संघीयताको यही मर्म अनुरूप यातायात सम्बन्धी सेवालाई हरेक नागरिकको पहुँचसँग जोड्नु पर्छ भन्ने उदश्यसहित यातायात कार्यालयहरूको विस्तार गर्न जरुरी देखेका छौं । यो उदेश्य पूरा गर्नका लागि मन्त्रालय लागिपरेको छ ।’

यसैगरी उनले यातायातसम्बन्धी सेवा नागरिकमैत्री हुनुपर्ने भन्दै नागरिकको सहजताका लागि मन्त्रालयले काम गरिरहेको समेत बताए ।

सेवाग्राहीहरूलाई कुनै पनि झन्झट नहोस् भन्नेमा मन्त्रालय गम्भीर रहेको भन्दै यातायात सम्बन्धी सेवालाई प्रविधिमैत्री बनाइने समेत बताए ।

कोहलपुरमा बुधबारदेखि सञ्चालन भएको यातायात सेवा कार्यालयबाट तीन प्रकारका सेवा प्रवाह हुनेछन् ।

मन्त्रालयका अनुसार सवारी चालक अनुमती पत्र,सवारी दर्ता किताव नवीकरण र पटके सेवा यो सेवा कार्यालयबाट प्रवाह गरिने छ ।

प्रदेश सरकारको कुनै पनि थप आर्थिक दायित्व सृजना नहुने गरी यातायात सेवा कार्यालय विस्तार गरिएको मन्त्री न्यौपानेले जानकारी दिए ।

यो सेवा कार्यालयमा यातायात व्यवस्था कार्यालय नेपालगञ्जकै जनशक्तिबाट सेवा प्रवाह हुने पनि मन्त्री न्यौपानेले जानकारी दिए ।

‘प्रदेशको कुनै पनि आर्थिक दायित्व सृजना नहुने गरी कोहलपुरमा यातायात सेवा कार्याल स्थापना भएको हो,’ मन्त्री न्यौपानेले भने, ‘यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट कर्मचारी व्यवस्थापन गरेर सेवा प्रवाह गरिएको छ ।’ कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार भएपछि कोहलपुर तथा त्यस आसपासका क्षेत्रका सेवाग्राहीलाई यातायात सम्बन्धी सेवा लिन सहज भएको छ ।

यातायात सेवा कार्यालयमा सेवा दिन पुगेका सेवाग्राहीहरूले कोहलपुरमा यातायात सेवा कार्यालय सञ्चालनमा ल्याइदिएर प्रदेश सरकारले आफूहरूलाई धेरै सहजता प्रदान गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?