+
+

नेशनल प्याथ ल्याब : एकै छानामुनि साइटोजेनेटिक्स, मोलिक्युलर जेनेटिक्स प्रयोगशाला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १८:०२

काठमाडौं । नेशनल प्याथ ल्याबले नेपालमै पहिलोपटक एकै छानामुनि साइटोजेनेटिक्स, मोलिक्युलर जेनेटिक्स ल्याब सञ्चालनमा ल्याएइको छ । ल्याबले १२औं शाखा ललितपुर लगनखेलमा विस्तार गरी सो सेवा ल्याएको हो ।

उक्त सेवा संचालनमा आएसँगै अब गर्भमा रहेको भ्रुणमा आनुवशिंक रोग भए/नभएको पत्ता लगाउन सकिन्छ। यसअघि यस्तो परीक्षणका लागि विदेशमा पठाउनुपर्ने बाध्यता थियो । आणविक तथा आनुवशिंक निदान सेवामात्र होइन, ल्याबमा सबैखाले परीक्षण सम्भव हुने गरी अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिक व्यवस्थापन गरेको प्रयोगशालाको दावी छ ।  

उक्त शाखाको शुक्रबार नेपाल मेडिकल काउन्सिल अध्यक्ष डा. चोपलाल भुसालले उक्त शाखा उद्घाटन गरे ।  कार्यक्रममा उनले नेसनल ल्याबका माध्यमबाट नागरिक तहमा रोजगारी समेत उत्पादन भएको उल्लेख गर्दै सरकारको सहयोग आवश्यक रहेको बताए ।

नमुना परीक्षण तथा कर्मचारीका हिसाबले नेसनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको समेत उनको दाबी छ ।

संस्था अध्यक्ष रुद्रबहादुर कार्कीले  नेपालभरि नै व्यवस्थित ल्याब विस्तार गर्ने लक्ष्य रहेको सुनाए । प्रयोगशालाका प्रबन्ध निर्देशक पवन जोशीका अनुसार प्रयोगशालामा ‘सामान्य जाँचदेखि विशेष प्रकारका जाँचहरु’ अत्याधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्तिबाट सेवा उपलब्ध गराइनेछ ।

१५ करोड रुपैयाँ लागतमा स्थापना भएको नयाँ शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा मोलिक्युलर, जेनेटिक्स र साइटोजेनेटिक्स सम्बन्धी परीक्षण गर्ने प्रयोगशालामा सूचीकृत रहेको जोशी बताउँछन ।

‘यो शाखामार्फत नेपालमा पहिलो पटक एकै छानामुनि नेक्स्ट—जेनेरेशन सिक्वेन्सिङ (एनजीएस), साइटोजेनिटिक्स र फिस तथा नवजात शिशु परीक्षणजस्ता सुपरस्पेशियालिटी परीक्षण हुनेछन् । नेक्स्ट–जेनेरेशन सिक्वेन्सिङ (एनजीएस) प्रविधि जटिल जेनेटिक परीक्षणका लागि प्रयोग गरिन्छ। यसले रोग पहिचान, क्यान्सर प्रगतिका चरणहरू र अनुवांशिक रोगहरूको निदान र उपचारमा महत्तत्वपूर्ण योगदान पुर्‍याउँछ,’ कार्यक्रममा एनपीएलले जानकारी दिएको छ।

प्रवन्ध निर्देशक जोशीले प्रयोगशाला देशकै अनुवांशिक अनुसन्धान स्रोत केन्द्रका रुपमा विकास हुने विश्वास व्यक्त गरे। उनले जेनेटिक सम्बन्धि राष्ट्रियस्तरमा विभिन्न अनुसन्धान गर्न नेपाल सरकारसँग सार्वजनिक निजी साझेदारी गर्न तयार रहेको बताए।

आनुवंशिक परीक्षण कस्तो अवस्थामा गर्ने ?

स्तन र पाठेघरको क्यान्सर, मोटोपना, पार्किन्सन्स, सिस्टिक फाइब्रोसिस जस्ता आनुवंशिक रोग परिवारमा पुस्तादेखि देखा परिरहेको छ भने परिवारका सदस्यले अनुवंशिक जाँच गर्नु पर्छ ।  गर्भावस्थामा यो परीक्षण गर्ने हो भने भविष्यमा बच्चालाई हुन सक्ने अनुवंशिक रोगको जोखिमबाट बचाउन सकिन्छ ।

यसको फाइदा भनेको आफ्ना पूर्खा वा आमाबाबुबाट कुनै रोग सरेको अवस्थामा त्यसको निदान गरी सही उपचार खोज्न सकिन्छ ।

तस्वीर : शंकर गिरी , अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?