+
+

कार्यकर्तालाई प्रचण्डको अपिल : गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ

जनयुद्धकै क्रममा बुर्जुवा गणतन्त्रबाट अघि बढेर समाजवादको यात्रा आरम्भ गर्ने संकल्प गरेको भन्दै प्रचण्डले ती दिन सम्झिएर अघि बढ्न कार्यकर्ताहरूलाई अपिल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते १५:०८

१२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमै सीमित हुन दिन नहुने बताएका छन् ।

माओवादी केन्द्र दाङको तेस्रो घोराही नगर सम्मेलन उद्घाटन तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादतिरको यात्रामा ढिलाइ गर्न नहुने बताए ।

जनयुद्ध चलिरहेकै बेला आफूहरूले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिनेछैनौँ भनेर विश्वलाई नै भनेको चर्चा गर्दै उनले समाजवादको यात्रामा अब ढिला गर्न नहुने बताए ।

‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ,’ उनले भने, ‘ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु ।’

अहिले भूमाफिया, दलाल, बिचौलियाहरू र जालीझेलीहरूका विरुद्ध माओवादी आमनेसामनेको स्थितिमा रहेको उनको भनाइ थियो । उनले शान्तिपूर्ण संघर्षको माध्यमबाट तिनलाई परास्त गर्दै जनतालाई साच्चै अधिकारसम्पन्न बनाउनेतर्फ अग्रसर हुनुपर्ने बताए । जनयुद्धकै क्रममा आफूले यो दिन आउने चर्चा गरेको प्रचण्डले स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?