
१६ माघ, गोरखा। दुई धार्मिक स्थल मनकामना र देवघाट जोड्ने गरी नेशनल र्याफ्टिङ म्याराथन प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रदेश खेलकुद बिकास परिषदको आयोजनामा वुधवारबाट अल्ट्रा र्याफ्टिङ म्याराथन सुरु भएको हो।
गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने त्रिशुली नदीबाट सुरु भएको र्याफ्टिङ चितवनको देवघाटस्थित नारायणी नदीमा पुगेर टुंगिने छ ।
‘दुई दिनसम्म प्रतियोगिता चल्छ,’ परिषदका साहसिक खेलकुद संयोजक वसन्तराज दवाडीले भने, ‘आज सिमलताल पुगेर बास बसेका छन्, भोली देवघाट पुगेर टुंगिन्छ ।’ निर्धारित ५० किलोमिटरको दुरी पार गर्न लागेको समयको आधारमा बिजेता घोषणा गरिने उनले बताए।
प्रतियोगितामा ६ टिमको सहभागीता रहेको छ । ‘गण्डकी प्रदेशबाट दुई टिम, नेपाली सेनाका दुई टिम र कोशी र वाग्तमी प्रदेशका एक÷एक टिम प्रतियोगितामा सहभागी छन्,’ उनले भने ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश ६० हजार, ४० हजार, २० हजार र १० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् । नजिकिदै गरेको राष्ट्रिय खेलको छनोट प्रतियोगितामा समेत उनीहरु सहभागी हुने पाउने बताइएको छ। परिषदको बार्षिक स्वीकृत कार्यक्रममा समावेश साहसिक प्रतियोगिता अन्तरगत नेपालमै पहिलो पटक अल्ट्रा र्याफ्टिङ म्याराथन प्रतियोगिता गरिएको दवाडीको भनाइ छ।
शुक्रवार तनहूँको आँवुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीबाट नवलपुरको देवचुलीसम्म कायक प्रतियोगिता समेत हुने उनले जानकारी दिए । कुल २७ किलोमिटर दुरीको उक्त प्रतियोगितामा २७ जना सहभागी हुने छन्।
पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ३० हजार, २० हजार, १० हजार र ७ हजार पुरस्कारको व्यवस्था गरिएको दवाडीले बताए । पर्यटन प्रवर्द्धनसँगै विपद व्यवस्थापनमा समेत सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता गरिएको उनले जानकारी दिए ।
गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष कृष्ण सिं बस्नेत (शान्त) लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया 4