
३० माघ, काठमाडौं । सवारी दुर्घटना न्युनीकरणको उपाय खोज्नका लागि प्रतिनिधिसभामा छलफलको माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पुगेको छ । नेपालमा वार्षिक १० हजार बढी मोटरसाइकल दुर्घटना हुने गरेको र पछाडि सवार यात्रुहरू जोखिममा रहेको उक्त प्रस्तावमा उल्लेख छ ।
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले लगेको प्रस्तावमा वर्षेनि १० हजार भन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको उल्लेख छ । बजगाईंले यो तथ्याङ्क सरकारी संयन्त्रबाटै लिएको बताएका छन् ।
प्रस्तावमा उल्लेख भए अनुसार ४० प्रतिशत दुर्घटनामा पछाडि सवार यात्रुहरू बढी जोखिममा पर्ने गरेका छन् । हेलमेट लगाएका चालकहरूको बाँच्ने सम्भावना ७० प्रतिशत बढी हुने तर यात्रुहरूले हेलमेट नलगाउँदा मृत्युदर उच्च रहेको उल्लेख गरिएको छ ।
‘बीमा कभरमा यात्रुहरूको सहभागिता न्यून छ, जसले दुर्घटनापछि आर्थिक भार बढाउँछु,’ प्रस्तावमा उल्लेख छ ।
नेपालमा मोटरसाइकल यातायातको प्रयोग तीव्र गतिमा बढिरहेको छ । हाल नेपालमा ५० लाखभन्दा बढी मोटरसाइकल दर्ता भएका छन् ।
यातायात विभाग तथा ट्राफिक प्रहरीको तथ्यांकअनुसार, नेपालमा हुने कुल सडक दुर्घटनामध्ये ७० प्रतिशत भन्दा बढीमा मोटरसाइकल संलग्न रहेको छ । तीमध्ये ठूलो संख्यामा मृत्यु तथा गम्भीर घाइते हुनेहरू पछाडि बस्ने यात्रुहरू रहेका छन्, जसले हेलमेट लगाउने गरेका हुँदैनन् ।
जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमार्फत सांसद बजगाईंले मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि ठोस कदमहरू चाल्नुपर्ने बताएका छन् ।
‘पछाडि सवार यात्रुहरूका लागि हेलमेट अनिवार्य गर्ने कानुनी व्यवस्था लागु गरिनुपर्छ,’ उनको माग छ ।
सार्वजनिक सचेतना कार्यक्रमहरू सञ्चालन गरी हेलमेट नलगाउँदा हुने खतराहरूबारे जानकारी दिने, यातायात नियम उल्लंघन गर्नेहरूका लागि कारबाही कडा पार्नुपर्ने उनको आग्रह छ ।
हेलमेट नलगाउने यात्रु र चालक दुवैलाई जरिवाना वृद्धि गर्ने पनि उनको प्रस्ताव छ ।
सडक सुरक्षासँग सम्बन्धित अध्ययन तथा अनुसन्धानलाई प्रवद्र्धन गर्ने, मोटरसाइकल यात्रीहरूको लागि बीमा योजना ल्याउनुपर्ने उनको प्रस्ताव छ ।
उनी लेख्छन, ‘मोटरसाइकल यात्रीहरूको लागि अनिवार्य बीमा योजना लागू गरिनुपर्छ ।’
बीमाले दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार खर्च तथा क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, बीमा नीतिहरूलाई सरल र पहुँचयोग्य बनाई कम आय भएका नागरिकले पनि बीमा लिनसक्ने व्यवस्था गर्नुपर्ने उनको माग छ ।
दुर्घटना जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वाधार सुधार गरिनुपर्नेमा पनि जोड दिइएको छ ।
‘सडक संकेत, जेब्रा क्रसिङ, ट्राफिक लाइटको प्रभावकारी व्यवस्थापन गरिनुपर्छ । सडकहरूमा सीसीटीभी निगरानी बढाएर ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई तत्काल कारबाही गर्नुपर्छ,’ प्रस्तावमा उल्लेख छ ।
मोटरसाइकलका लागि अलग लेनको अवधारणा लागू गर्नुपर्ने प्रस्ताव पनि राखिएको छ ।
यसबारे छलफल गर्नु पर्नाको कारणबारे प्रस्तावमा अगाडि भनिएको छ, ‘मोटरसाइकल दुर्घटनाको जोखिम न्यूनीकरण गर्न हेलमेट अनिवार्यताको कार्यान्वयन, बीमा सुरक्षाको पहुँच, र सडक सुरक्षासम्बन्धी सुधारको आवश्यक छ ।’
सरकारले हेलमेट अनिवार्यता, बीमा सुरक्षा, र सडक सुरक्षामा लगानी बढाउने हो भने दुर्घटनाबाट हुने ज्यान गुमाउने संख्या न्यून गर्न सकिने विश्वास राखिएको छ ।
यो प्रस्तावको समर्थकमा सांसदहरू उदयशम्शेर जबरा, राजेन्द्र कुमार केसी र संजय कुमार गौतम रहेका छन् ।
प्रतिक्रिया 4