+
+
Shares

गुठीको जमिन भूमाफियाले उपभोग गर्न पाउनु हुँदैन : कांग्रेस सांसद गिरी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते ११:०३

३० माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले स्वर्गद्वारी गुठी संरक्षण हुने गरी आन्दोलनरत मोही किसानहरूलाई न्याय प्रदान गर्न माग गरेका छन् ।

वास्तविक मोही किसानको पक्षमा भएको सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्नुपर्ने उनको माग छ ।

‘स्वर्गद्वारी आस्थाको धरोहरका रुपमा रहेको छ । यसको संवद्र्धन र प्रवद्र्धनका लागि सरकारको चासो रहनुपर्छ’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।

सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै यही माघ २० गतेदेखि स्वर्गद्वारी गुठी पीडितहरू आन्दोलनमा छन् ।

मोही किसानहरूलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गिरीले वास्तविक मोही किसानको पक्षमा सहमति अनुसार सरकारले उनीहरुलाई न्याय प्रदान गरोस् भन्ने माग गरेका हुन् ।

उनले तपोभूमि, आस्थाको धरोहर स्वर्गद्वारी आश्रमको जमीन अन्य कुनै संघसंस्था वा नक्कली मोहीले भोग चलन गरिरहेका छन् भने त्यसको पनि छानबिन गर्न उनले माग गरे ।

‘स्वर्गद्वारी आश्रमको दाङ देउखुरी र घोराही लगायतमा रहेको जग्गा यदि कुनै संघसंस्थाले वा गैरमोही किसानका नाममा भोगचलन भइरहेको छ भने त्यसको पनि राज्यले खोजतलास गरोस् । गुठीको जमीन कुनै पनि भू माफियाले उपभोग गर्न पाउनु हुँदैन’ उनले भने ।

२०८० साल चैत ७ गते बीच भूमिसुधार तथा व्यवस्था मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित भूमि किसान संघर्ष समिति बीच सहमति भएको थियो । जसमा मोही किसानको माग लाई सम्बोधन गर्ने गरी सरकारले एकीकृत नयाँ कानून तर्जुमा गर्ने भनिएको थियो । तर उक्त सहमति लागू नभएको भन्दै स्वर्गद्वारी गुठीका मोही किसानहरुले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

दाङमा स्वर्गद्वारी आश्रमको स्वामित्वमा रहेको एक हजार पचास बिघा जग्गामध्ये ७ सय ५३ बिघामा मोही लागेको छ । ३ हजार ५ घरधुरीका १६ हजार किसान यसमा आश्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?