+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राष्ट्रपतिद्वारा नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण

मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न नहुनेमा राष्ट्रपति पौडेलले जोड दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १९:५९
राष्ट्रपति रामचन्द्र पौडेल सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको १०० औँ जन्मजयन्तिको अवसरमा बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा नातिकाजी स्मृति समाजद्वारा आयोजित कार्यक्रममा गायिका स्मिता दाहाललाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०८० प्रदान गर्नुहुँदै । तस्बिरः रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कला, साहित्य र संगीत एउटै सूत्रमा बाँध्ने तत्व भएको बताएका छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उनले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने बताए ।

राष्ट्रपति पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको दावी गर्दै भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीतसंगीत, आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’

मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न नहुनेमा राष्ट्रपति पौडेलले जोड दिए । उनले भने, ‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो । त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले नातिकाजी शब्द, संगीत र स्वर सबैको कालजयी त्रिवेणी भएको चर्चा गरे । उनले भने, ‘भौतिक कुराभन्दा भावना र अभौतिक कुरा महत्वपूर्ण हो । हामीले युवामा नेपालमा नै केही गर्छु भन्ने भावनाको विकास गर्ने हो भने सडक, बिजुली सिंचाई जस्ता सबै खाले पूर्वाधारको विकास गर्न सकिन्छ ।’

नातीकाजी स्मृति समाजद्धारा आयोजित समारोहमा सञ्चारकर्मी तथा प्रस्तोता धन लामा, लोकगायक बोमबहादुर कार्की, संगीत प्रवद्र्धक प्रकाश सायमी, सितारवाधक ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण केसी र गायिका यशोदा पराजुलीलाई नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान प्रदान गरिएको छ ।

नातिकाजी राष्ट्रिय संगीत पुुरस्कार गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बी पाण्डे, संगीतकार आशिष अविरल र संगीत संयोजक सम्राट थापालाई प्रदान गरिएको छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गीत रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शंकर, गायिका स्मिता दाहाल र संगीतकार कल्याण सिंह पुरस्कृत भएका छन् ।

नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार रमेश पोखरेललाई प्रदान गरिएको छ । नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विकलाई प्रदान गरिएको छ ।

नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार कला पत्रकार सुकृत नेपाल र सुशील अर्याललाई प्रदान गरिएको छ । लेखक विमल भौकाजी, संगीत सधना प्रतिष्ठान इटहरीका अर्जुन केसी, संगीत साधक अमीर सुनार र सन्तबहादुर गिरीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?