७ फागुन, काठमाडौं । पाकिस्तानमा बुधबारदेखि नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरु हुँदै छ । आईसीसीको ‘मिनी विश्वकप’ पनि भनिने यस प्रतियोगितामा आठ टोलीहरू सहभागी छन् ।
दुई समूहमा विभाजित आठ टोलीहरूमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् । पाकिस्तान साविक विजेता समेत हो ।
समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
त्यस्तै अस्ट्रेलियाले सन् २००६ र सन् २००९ मा लगातार उपाधि जितेको थियो । त्यसयता भएका दुई संस्करणमा भने अस्ट्रेलियाले राम्रो प्रदर्शन गर्न सकेको छैन । पछिल्लो संस्करणमा वर्षाका कारण पनि अस्ट्रेलिया अभागी सावित भएको थियो ।
यस प्रतियोगितामा केन्या, अमेरिका, जिम्बाबे र नेदरल्याण्ड्सजस्ता टोलीले पनि खेलिसकेका छन् । सुरुवातमा आईसीसीका पूर्ण सदस्य तथा शीर्ष एसोसियटका टोलीले पनि खेल्ने विविध प्रावधानहरू थिए ।
पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान पहिलोपटक च्याम्पियन बनेको थियो । हालसम्म च्याम्पियन्स ट्रफी जितेकम टोलीहरूको इतिहासबारे आज चर्चा गर्नेछौं ।
सन् १९९८ (उपाधि : दक्षिण अफ्रिका)
च्याम्पियन्स ट्रफी क्रिकेटको सुरुवात सन् १९९८ मा भएको थियो । त्यसबेला यसलाई आईसीसी नकआउट ट्रफी नाम दिइएको थियो । यस प्रतियोगिता गराउनुको उद्देश्य टेस्ट मान्यता नभएका देशहरूमा क्रिकेटको विकासका लागि रकम जुटाउनु थियो ।
यस संस्करणमा आयोजक बंगलादेशसँगै इंग्ल्याण्ड, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, न्युजिल्याण्ड, जिम्बाबे र पाकिस्तान सहभागी थिए ।
बंगलादेशमा भएको पहिलो संस्करणको उपाधि दक्षिण अफ्रिकाले जितेको थियो । फाइनलमा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिकाले उपाधि जितेको थियो ।
दक्षिण अफ्रिकाले हालसम्म जितेको आईसीसीको मुख्य प्रतियोगिताको उपाधि यही नै हो । त्यसयता राम्रो प्रदर्शनका बाबजुद दक्षिण अफ्रिकाले आईसीसीका प्रतियोगिता जित्न सकेको छैन ।
यस संस्करणमा वेस्ट इन्डिका फिलो वालेसले सर्वाधिक रन बनाउँदा दक्षिण अफ्रिकाका ज्याक कालिसले सर्वाधिक विकेट लिएका थिए ।
सन् २००० (उपाधि : न्युजिल्याण्ड)
सन् २००० को आईसीसी नकआउट ट्रफी केन्यामा भएको थियो । यस प्रतियोगितामा शीर्ष एसोसियट राष्ट्र बंगलादेश सँगै आयोजक केन्यासहित सबै टेस्ट राष्ट्र सहभागी थिए ।
आयोजक केन्यासँगै इंग्ल्याण्ड, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, न्युजिल्याण्ड, बंगलादेश, जिम्बाबे र पाकिस्तान सहभागी थिए ।
यस संस्करणको उपाधि फाइनलमा भारतलाई हराएर न्युजिल्याण्डले जितेको थियो । न्युजिल्याण्डले यस प्रतियोगिता जित्दै पहिलोपटक आईसीसी प्रतियोगिताको उपाधि जितेको थियो ।
प्रतियोगितामा भारतका सौरभ गांगुलीले सर्वाधिक रन बनाउँदा भारतकै वेनकटेश प्रसादले सर्वाधिक विकेट लिएका थिए ।
सन् २००२ (उपाधि : भारत र श्रीलंका)
सन् २००२ देखि आईसीसी नकआउट ट्रफीको नाम परिवर्तन गरी आईसीसी च्याम्पियन्स ट्रफी राखियो । भारतमा आयोजना हुने तय भएपनि कर छुटको विवादले यसलाई श्रीलंका सारिएको थियो ।
यस संस्करणमा आईसीसीका सबै पूर्ण सदस्य राष्ट्रहरूले सहभागिता जनाएकले यसलाई नयाँ दृष्टिकोणले हेरिएको थियो । १० टेस्ट राष्ट्रसँगै एकदिवसीय मान्यता पाएको केन्या र २००१ आईसीसी ट्रफीको विजेता नेदरल्याण्ड्स गरी १२ टोली सहभागी थिए ।
यस संस्करण अर्को कारणले पनि चर्चामा थियो किनभने फाइनल खेलको नतिजा सम्भव नहुँदा दुई फाइनालिस्ट भारत र श्रीलंका संयुक्त रूपमा विजेता घोषित भएका थिए ।
फाइनल खेलमा वर्षा बाधक बनेपछि रिजर्भ डे मा सारिएको थियो जहाँ फेरि सुरुबाट नयाँ खेल खेलाइएको थियो । रिजर्भ डे मा पनि वर्षा बाधक बनेपछि नतिजा आउन नसक्दा दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिएको थियो ।
यस संस्करणमा भारतका विरेन्द्र सेहवागले सर्वाधिक रन बनाउँदा श्रीलंकाका मुतिहा मुरलिधरनले सर्वाधिक विकेट लिएका थिए ।
सन् २००४ (उपाधि : वेस्ट इन्डिज)
यस संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी इंग्ल्याण्डमा आयोजना भएको थियो । यस संस्करणमा पनि १२ टोलीको सहभागिता थियो जसमध्ये ११ वटा टोली सन् २००२ कै सरह रहँदा अमेरिकाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्दै सहभागिता जनाएको थियो ।
अमेरिकाको च्याम्पियन्स ट्रफी सहभागिता भने सुखद रहेन । अस्ट्रेलिया र न्युजिल्याण्डसँग फराकिलो हार व्यहोर्दै अमेरिका समूह चरणबाटै बाहिरिएको थियो । त्यसयता अमेरिकाले आईसीसीको टी-२० बाहेक मुख्य प्रतियोगिता खेलेको छैन ।
इंग्ल्याण्डको चर्चित लन्डन ओभलमा भएको यस संस्करणको फाइनल खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई हराउँदै पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।
यस संस्करणमा इंग्ल्याण्डका मार्कस ट्रेस्कोथिकले सर्वाधिक रन तथा इंग्ल्याण्डकै एन्ड्रयु फिल्नटफले सर्वाधिक विकेट लिएका थिए ।
सन् २००६ (उपाधि : अस्ट्रेलिया)
यस संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट भारतमा आयोजना भएको थियो । सन् २००२ मा कर छुट विवादका कारण भारतमा हुन नपाएको प्रतियोगिता यसपटक भने भारत सरकारसँगको समझदारीमा आयोजना भएको थियो ।
प्रतियोगितामा आईसीसीका १० पूर्ण सदस्यहरूले सहभागिता जनाएका थिए जसलाई ओडिआई च्याम्पियनसिपका आधारमा सिडिङ गरिएको थियो ।
भारतको मुम्बईस्थित ब्राबोर्न स्टेडियममा भएको फाइनलमा वेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलियाले उपाधि जितेको थियो । समूह चरणमा अस्ट्रेलियालाई हराएको वेस्ट इन्डिजको प्रदर्शन फाइनलमा भने फितलो रह्यो ।
प्रतियोगिताको सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी दुवै वेस्ट इन्डिजका थिए । क्रिस गेलले सर्वाधिक रन बनाउँदा जेरोम टेलरले सर्वाधिक विकेट लिए ।
सन् २००९ (उपाधि : अस्ट्रेलिया)
दक्षिण अफ्रिकामा भएको यस संस्करणमा ८ टोलीको सहभागिता थियो । पाकिस्तानमा हुने तय भएपनि सुरक्षा कारणले प्रतियोगिता दक्षिण अफ्रिकामा सारिएको थियो ।
आयोजक दक्षिण अफ्रिका स्वत: छनोट हुँदा आईसीसी ओडिआई च्याम्पियनसिपको वरियता अनुसार शीर्ष सात टिम गरेर ८ टिमले प्रतियोगिता खेलेका थिए ।
साविक विजेता अस्ट्रेलियासँगै भारत, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, इंग्ल्याण्ड र वेस्ट इन्डिजले प्रतिस्पर्धा गरे ।
लगातार दोस्रोपटक उपाधि जित्ने क्रममा अस्ट्रेलियाले फाइनलमा न्युजिल्याण्डलाई हरायो । प्रतियोगिताभर अपराजित रहँदै अस्ट्रेलियाले उपाधि जितेको थियो ।
यस संस्करणमा अस्ट्रेलियाका रिकी पोन्टिङले सर्वाधिक रन बनाउँदा दक्षिण अफ्रिकाका वायन पार्नेलले सर्वाधिक विकेट लिए ।
सन् २०१३ (उपाधि : भारत)
इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा भएको यस संस्करणमा पनि ८ टिम सहभागी थिए । आयोजकका रूपमा इंग्ल्याण्डले सिधै खेल्दा अस्ट्रेलियासँगै भारत, पाकिस्तान, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज सहभागी थिए ।
प्रतियोगिताको फाइनलमा आयोजक इंग्ल्याण्डलाई हराउँदै भारतले एकल रूपमा च्याम्पियन्स ट्रफीको उपाधि पहिलोपटक जित्यो भने समग्रमा दोस्रो उपाधि जित्यो । सन् २००२ मा भारतले श्रीलंकासँग उपाधि बाँडेको थियो ।
साविक विजेता अस्ट्रेलियाको प्रदर्शन भने फितलो रह्यो । एक खेल नतिजाविहीन बन्दा दुई खेल अस्ट्रेलियाले हारेको थियो । सन् २००९ फाइनलमा जितेपछि अस्ट्रेलियाले हालसम्म च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जित्न बाँकी छ ।
यस प्रतियोगितामा भारतका शिखर धवनले सर्वाधिक रन बनाउँदा रविन्द्र जडेजाले सर्वाधिक विकेट लिएका थिए ।
सन् २०१७ (उपाधि : पाकिस्तान)
यसपटक पनि इंग्ल्याण्ड र वेल्समै आयोजित च्याम्पियन्स ट्रफीमा ८ टिमको सहभागिता रह्यो । आईसीसी ओडिआई च्याम्पियनसिपका आधारमा शीर्ष ८ टिम खेल्दा वेस्ट इन्डिज छनोट हुन सकेन भने बंगलादेश सन् २००६ पछि पहिलोपटक च्याम्पियन्स ट्रफीमा फर्कियो ।
यस संस्करणको फाइनलमा पाकिस्तानले भारतमाथि शानदार जित निकाल्दै पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । समूह चरणमा हराएपनि भारतले फाइनलमा भने हराउन सकेन ।
यस संस्करणमा पुन: शिखर धवन नै सर्वाधिक रन बनाउने खेलाडी बन्दा पाकिसतानका हसन अलीले सर्वाधिक विकेट लिए ।
सन् २०१७ को च्याम्पियन्स ट्रफीपछि प्रतियोगिता खारेज हुने बताएपनि आईसीसीले सन् २०२१ मा पुन: यो प्रतियोगिता सन् २०२५ मा पाकिस्तानमा हुने घोषणा गरेको थियो ।
***
आठ वर्षपछि हुन लागेको आईसीसीको यस ‘मिनी विश्वकप’मा एक खेलमा मात्र भोगेको पराजयले पनि प्रतियोगिताबाट बाहिरको बाटो देखाउन सक्छ । त्यसकारण यस नकआउट खेल ‘वान मिस, गेम फिनिस’ को रूपमा रहनेछ ।
बुधबार उद्घाटन खेलमा साविक विजेता पाकिस्तान र न्युजिल्याण्ड खेल्दै छन् । यस खेलको विजेता सेमिफाइनल पुग्ने सम्भावनामा बलियो रहनेछ । यसै समूहमा भारत र बंगलादेश पनि छन् ।
भारत र अस्ट्रेलिया प्रतियोगिताको उपाधि जित्दै सर्वाधिक विजेताको रेकर्ड बनाउन चाहने छन् भने इंग्ल्याण्ड, अफगानिस्तान र बंगलादेश पहिलो उपाधिको खोजीमा हुनेछन् ।
प्रतिक्रिया 4