२९ माघ, काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई फराकिलो गोलान्तरले हराउँदै ब्ल्याक बुल्स सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा ब्ल्याक बुल्सले ३-० गोलान्तरले जित निकालेको हो ।
ब्ल्याक बुल्सको जितका लागि इस्लोम्जन अब्दुकोडिरोभ, सयदज्मोल दब्लाजोनोभ र शाब्कात्जोनले १/१ गोलको योगदान दिए । खेलको ३८औं मिनेटमा ब्ल्याक बुल्सले पहिलो गोल गर्दै खाता खोलेको थियो । टिमका लागि पहिलो गोल इस्लोम्जन अब्दुकोडिरोभले गरे । उनले साभकात्जोनले मिलाएको पासलाई सदुपयोग गर्दै पेनाल्टी बक्सको बायाँ भागबाट गोल गरे ।
त्यस्तै खेलको ७३औं मिनेटमा सयदज्मोल दब्लाजोनोभले व्यक्तिगत पहिलो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । उनले साभकातले दायाँ साइडबाट दिएको पासमा गोल गरेका हुन् ।
त्यसको केहीबेर पछि नै शाब्कात्जोनले गोल गर्दै टिमलाई ३-० को सहज स्थितिमा ल्याए । उनले खेलको ७५औं मिनेटमा बक्स बाहिरबाट हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजिजले नेपाल आएर थोरै समयको प्रशिक्षणपछि पहिलो खेल खेलेकोले केही कठिन भएको प्रतिक्रिया दिए । उनले अब आउने खेलहरुमा अझ सुधार गर्दै जाने बताए । यस्तै थ्री स्टारको यसअघिका खेलको भिडियो हेरेर सेमिफाइनलका लागि रणनीति तयार गर्ने उनले बताए ।
सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडले पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने ब्ल्याक बुल्स बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । ब्ल्याक बुल्स पहिलो पटक नेपालमा आएर खेलिरहेको हो ।
योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
सेमिफाइनल अन्तर्गत भोलि हुने पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । त्यस्तै फागुन १ गते दोस्रो सेमिफाइनलमा थ्री स्टार र ब्ल्याक बुल्सबीच हुनेछ ।
प्रतिक्रिया 4