+

आहारारा पोखरा गोल्डकप : एनआरटीलाई सडनडेथमा हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा

२०८१ माघ  २४ गते १७:३३ २०८१ माघ २४ गते १७:३३
आहारारा पोखरा गोल्डकप : एनआरटीलाई सडनडेथमा हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा

२४ माघ, काठमाडौं । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सडनडेथमा चर्चब्वाइजले ६-५ ले बाजीमा मारेको हो ।

निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा खेलाडीहरु निकै थकित देखिन्थे । तर थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् । खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

कुल १८ पेनाल्टी प्रहार भएको खेलमा चर्च ब्वाइज सडन डेथमा विजयी भएको हो । सुटआउटमा चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापा नायक बने । उनले ३ पेनाल्टी बचाउनुका साथै पेनाल्टीमा गोल समेत गरे । टिकेन्द्र प्लेअर अफ दि म्याच बने । चर्च ब्वाइजले अब विभागीय टोली त्रिभुवन आर्मी एफसीसँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

खेलमा अग्रता भने एनआरटीले लिएको थियो । खेलको २५औं मिनेटमा एनआरटीका रिचर्ड विल्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । कृतिश रत्न छुन्जुले बक्सभित्रबाट हानेको प्रहार चर्च ब्वाइजका किपर टिकेन्द्रले रोकेका थिए । तर, पूर्ण रुपमा क्लियर नभएको बललाई विल्सनले ट्याप इन गर्दै गोलमा परिणत गरे ।

खेलको पहिलो हाफमा एनआरटीले अग्रता लिए पनि दुवै टिमले कमजोर प्रदर्शन गरेका थिए । पाएका अवसर सदुपयोग गर्न नसक्दा उनीहरु चुकिरहेका थिए ।

दोस्रो हाफमा भने चर्चब्वाइजले गोल फर्काउँदै अग्रतालाई बराबरीमा झार्‍यो । खेलको ६३औं मिनेटमा चर्चब्वाइजका नवीन लामाले गोल फर्काउँदै खेललाई सहज स्थितिमा ल्याए । चर्चब्वाइजले पाएको पेनाल्टीमा लामाले कुनै गल्ती गरेनन् र अवसरलाई गोलमा परिणत गरे ।

एनआरटी र चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपमा पहिलो पटक भिडेका हुन् । पछिल्लो दुई संस्करणमा चर्च ब्वाइजले सहभागिता जनाउँदा एनआरटी सहभागी भएको थिएन । एनआरटी भने दशकपछि आहारारा पोखरा गोल्डकपमा पुनरागमन गरेको हो । २३औं संस्करणमा चर्च ब्वाइज सेमिफाइनलबाट बाहिरिएको थियो ।

आहारारा पोखरा गोल्डकप सहारा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय