+

स्वास्थ्य जनशक्ति थप्न बाटो खुल्यो

२०८१ माघ  २० गते १७:२३ २०८१ माघ २० गते १७:२३

यही माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ओएनएम सर्वेक्षणका लागि स्वीकृति दिएको हो ।

स्वास्थ्य जनशक्ति थप्न बाटो खुल्यो

२० माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनशक्ति थप गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पेश गरेको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्वस्वीकृति दिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रवक्ता डा. बुढाथोकीका अनुसार यही माघ १५ गतेको मन्त्रिपरिषद बैठकले ओएनएम सर्वेक्षणका लागि स्वीकृति दिएको हो ।

संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयता मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन । यसबीचमा जनसंख्या चाप, सेवाको माग बढे पनि ओएनएम सर्वेक्षण नहुँदा कार्यसम्पादनमा कठिनाइ भइरहेको मन्त्रालयका अधिकारीहरूको गुनासो रहने गरेको थियो । कतिपय क्षेत्रमा जनशक्ति अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भइरहेको अधिकारीहरुले बताउने गरेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य सेवा विस्तार तथा प्रभावकारी बनाउन आवश्यक जनशक्ति थप गर्ने घोषणा गरेका थिए । उनले मन्त्रालय सम्हालेलगत्तै जनशक्ति थप गर्ने गृहकार्य थालेका थिए ।

गत पुष ११ गते मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्न गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठकले पूर्व स्वीकृतिका लागि प्रक्रिया अघि बढाउन मन्त्रालयलाई अनुरोध गरेको थियो ।

अब मन्त्रिपरिषदबाट पूर्वस्वीकृति प्राप्त भएपछि मन्त्रालयले सर्वेक्षणको काम अघि बढाउने मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले जानकारी दिए । ‘स्वास्थ्य जनशक्ति थप गर्नुपर्छ भन्ने आवाज पहिल्यै देखिको हो’ डा.बुढाथोकीले भने ‘मन्त्रीज्यूको प्राथमिकता पनि यसैमा रहेकाले पूर्वस्वीकृतिपछि जनशक्ति व्यवस्थापनमा प्रगति हुने अपेक्षा छ।’

मन्त्रालयले ओएनएम सर्वेक्षणका लागि मन्त्रालयका सहसचिव ऋषिराज आचार्य संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन तथा अर्थका प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको छ।

कार्यदलको प्रतिवेदनका आधारमा दरबन्दी पुनरावलोकनको प्रस्ताव पुनः अर्थ हुँदै मन्त्रिपरिषदमा लैजाने गरी मन्त्रालयले काम थालेको छ ।

हाल मन्त्रालयमा १०६ दरबन्दी तथा ८३१ पुल दरबन्दीका रुपमा जनशक्ति कार्यरत छन् ।

ओएनएम सर्वेक्षण स्वास्थ्य जनशक्ति
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय