 
																			१३ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुंगाका यात्री भएको बताएका छन् ।
उनले अर्थतन्त्र सुधारमा सबै पक्ष गम्भीर बन्नुपर्ने समेत बताएका छन् । संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार आयोजना गरेको ‘संघीय संरचनामा लगानी प्रवर्द्धन : सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा’ विषयका कार्यक्रममा ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भए पनि सोही अनुरूप समग्र वातावरण नहुँदा राज्यले प्रतिफल पाउन नसकेको बताए ।
उनले देश विकासका लागि लगानी प्रवर्द्धन आवश्यक रहेको र यसका लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राखे ।
‘सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुंगाका यात्री हौं । डुंगामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन,’ उनले भने, ‘यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौं र हुनुपर्छ ।’
उनले २०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट संघात्मक पद्धतिमा रूपान्तरित गरी शासन सञ्चालनको स्वायत्तता, सहभागिता र जवाफदेहीताको परिकल्पना गरे पनि तीनै तहका सरकार सोही अनुरूप चल्न नसकेको बताए ।
अध्यक्ष ढकालले लगानी प्रवर्द्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूबीचको अन्तरसम्बन्ध र समन्वय अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको बताए ।
लगानी प्रवर्द्धनका लागि प्रशासनिक सरलता र पारदर्शिता तथा सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको बताउँदै उनले सरकार वा निजी क्षेत्रबाट प्रवर्द्धित पूर्वाधार एवं विकास परियोजना निर्वाध सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
यस्तै उनले तीनै तहका सरकार राजस्व केन्द्रित हुनु, व्यवसाय दर्ता नवीकरण एवं अन्य सेवा प्रवाह चुस्त नहुनु औद्योगिक व्यवसाय ऐनमा एकरूपता नहुने जस्ता समस्याले गर्दा अपेक्षा अनुसार लगानी र व्यवसाय प्रवर्द्धन हुन नसकेको धारणा राखे ।
ढकालले लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन, लगानी आकर्षित गर्न प्रतिष्पर्धा, व्यवसाय दर्ता नवीकरण एवं राजस्व बुझाउन डिजिटल माध्यम प्रयोग, नागरिक एपमा व्यवसाय सम्बन्धी आइकन थप गरी सबै सुविधा दिनुपर्ने बताए ।
उनले लगानी प्रवर्द्धनका लागि केन्द्रको औद्योगिक व्यवसाय ऐनमा थप सुविधा दिने, घरेलु उद्योगलाई उद्योग वाणिज्य संघहरूसँग समन्वयमा सेवा विस्तार गर्नुपर्ने समेत बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4