 
																			१८ चैत, काठमाडौँ । प्रतिस्थापन विधेयकमाथिको छलफल संसद्मा सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनसँगै संघीय संसदमा जारी अवरोध खुलेको छ । अवरोध खुलेसँगै राष्ट्रिय सभामा रोकिएको प्रतिस्थापन विधेयकमाथिको छलफल अगाडि बढेको हो ।
सोमबार नै राष्ट्रिय सभाबाट पाँच वटा प्रतिस्थापन विधेयक पारित गर्ने तयारी छ । प्रतिनिधि सभाको बैठक पनि चलिरहेको छ । प्रतिनिधि सभाको बैठक चलिरहँदा नै राष्ट्रिय सभामा छलफल सकाएर पास गरेर प्रतिनिधि सभामा लगेर सन्देश सुनाउने तयारी छ । त्यसपछि सोमबार नै सभामुखले राष्ट्रपतिकहाँ पठाउँछन् । राष्ट्रपतिले पनि आजै राति १२ बजेसम्म ५ वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरिसक्नुपर्छ ।
सदनको अवरोध खुलेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव’ प्रस्तुत गरे ।
दफावार छलफल गरेपछि पारित गर्ने कार्यसूची छ । यही प्रक्रियामा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अगाडि बढ्नेछ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अगाडि बढ्नेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4