 
																			२० चैत, पोखरा । नयाँ/पुराना दलहरुले आउँदो निर्वाचनमा बलियो उपस्थिति जनाउने योजनासहित ‘मिसन ०८४’ चलाइरहेका छन् । व्यवसायी विन्दुकुमार थापाको मिसन भने २०७४ अगाडि नै सुरु भएको हो, पोखराको मेयर बन्ने ।
रियलस्टेटदेखि बैंकिङ, अस्पिटालिटीसम्मको ब्यापार व्यवसायमा जमेका थापा जतिबेला नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिए, त्यो बेला नै उनको पहिलो नजर पोखराको मेयरमै थियो । तर, त्योबेला कांग्रेस नेतृत्वलाई रिझाउन नभ्याइसकेका थापाले मेयरको टिकट त पाएनन् गण्डकी प्रदेश सभाको टिकट हात पारे ।
त्यसयता उनी कास्कीबाट दुईपटक प्रदेश सभा सांसदमात्रै भएनन्, दुईपटक नै मन्त्री बने । कांग्रेस राजनीतिमा होमिएपछि उनको प्रभाव उकालो लागिरहेकै छ । अघिल्लो कार्यकालमा कानुनमन्त्री र पछिल्लो कार्यकालमा सामाजिक, युवा तथा खेलकुल र स्वास्थ्य मन्त्रालयसमेत सम्हालेका थापाले कार्यवाहक मुख्यमन्त्रीको भूमिकासमेत निभाइसके ।
गण्डकीमा धनाढ्य सांसद तथा मन्त्रीको परिचय बनाएका थापाले आफूले पाएको सुविधा तथा भत्ता जनताको काममा लगाइरहेका छन् । पोखरा महानगरभित्रका वडामात्र पर्ने उनको कास्की-२ (ख) निर्वाचन क्षेत्रमा उनले दुई कार्यकालमा सांसद र मन्त्री भएर पाएको झण्डै ८० लाख रुपैयाँ जनताकै काममा खर्च गरेको फेहरिस्त सार्वजनिक गरेका छन् ।
अघिल्लो कार्यकालदेखि नै आफूले पाएको सुविधा जनतालाई पर्ने साना साना समस्या समाधान गर्न खर्च गर्ने घोषणा गरेका थापाले त्यसरी नै बाँड्दै आएका छन् । निर्वाचन क्षेत्रमै केन्द्रित गरेर अधिकांश सुविधाबापतको रकम जनतालाई सहयोग गरेको सूची सार्वजनिक गरेका थापाले अबको पहिलो आकांक्षा पोखराको मयर बन्नेसमेत व्यक्त गरे ।
उनकै शब्दमा दोस्रो पटक उनलाई टिकट नदिन ‘दुश्मनहरु’ सक्रिय भए पनि पाए र फेरि केही सहयोगका बाबजुद् पनि जिते र जनतासँग प्रत्यक्ष जोडिने सामाजिक, युवा तथा खेलकुद र स्वास्थ्यमन्त्रालयको जिम्मेवारीसमेत पाए । अब भने उनको पहिलो प्राथमिकता पोखराकै मेयर हुने र फेरि पनि ‘दुश्मन हेरेको हेर्यै’ बनाउने छ ।
मन्त्री थापाको पोखराको मेयर मिसन सुरुदेखि नै रोकिएको छैन । २०७९ को स्थानीय तहको निर्वाचनमा पनि उनी कानुनमन्त्री छँदाछँदै पनि मेयरका निम्ति आकांक्षा देखाएका थिए । तर, ५ दलीय गठबन्धनबाट अर्का व्यवसायी तथा लायन अभियान्ता एकीकृत समाजवादीका धनराज आचार्यले हात पारे र थापाले फेरि पनि प्रदेश सभाकै टिकट पाए ।
बाहुन क्षेत्रीको आन्दोलन छेड्दै तत्कालीन अखण्ड नेपालबाट एकमात्र सांसद हुँदै मन्त्रीसमेत भएर कांग्रेस प्रवेश गरेपछि प्रदेशमा समानुपातिक सांसदका रुपमा संसद छिरेका कुमार खड्का यही निर्वाचन क्षेत्रमा टिकट ल्याउने दाउमा दिए । तर, उनलाईसमेत पाखा पार्दै टिकट हात पारेका थापाले एमाले सांसद मीना गुरुङलाई पराजित गरे र आफ्नो प्रभावलाई पुष्टी गर्दै कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पछाडिको दोस्रो बरियताको मन्त्रीसमेत यथायत छन् ।
पछिल्लो एक वर्षमा सांसद र मन्त्री भएर पाएको १० लाखभन्दा बढी रकम जनताको काममा लगाएको सूची सार्वजनिक गर्ने कार्यक्रममा थापाले पत्रकारको प्रश्नमा आफ्नो आगामी आकांक्षा पनि सुनाएँ, ‘एक पटक पोखराको मेयर भएर सेवा गर्नुपर्छ भनेर धेरैले भन्नुभएको छ, मेरो पनि ईच्छा हो ।’
दुई पटक प्रदेशको मन्त्री भइसकेको व्यक्ति पोखराको मेयर बन्न आकांक्षा देखाउनुका पछाडि त्यो पदको शक्ति नै हो । ३२ अर्ब हाराहारीमा सिंगो गण्डकीको प्रदेशको बजेट रहेकोमा पोखरा महानगरकोमात्रै झण्डै ८ अर्ब छ । त्यसमाथि मेयरको कार्यकारी भूमिकाको शक्ति थापाले बुझेको हुनुपर्छ ।

नेपाल प्रेस युनियनको ब्यानरमा कांग्रेसकै जिल्ला सचिव, क्षेत्रीय सभापतिहरु र नेताहरुलाई सांक्षी राखेर थापाले आफ्नो आगामी आकांक्षा सार्वजनिक गरे । पहिलो प्राथमिकता पोखराको मेयर, दोस्रो, कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा जाने र अवसर मिल्यो भने प्रदेशमै दोहोरिएर मुख्यमन्त्री हुने दाउ मन्त्री थापाको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, टिकट वितरणदेखि भागबण्डा मिलाउनेसम्म प्रभाव पार्ने भनिएकी देउवा पत्नी आरजू राणसँग निकट रहेका थापाले अहिलेसम्म इच्छाएको पाएकै छन् । कास्की कांग्रेसमा प्रभाव र अन्य आकांक्षीलाई डर पनि थापाकै छ । थापासँग पैसा र पहुँच दुबै छ । अबको दाबी पनि स्वभाविक हुने कांग्रेसीको भनाइ छ ।
व्यापारबाट कांग्रेसको राजनीतिमा लागेर पहिलो पटक कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’बाट चुनावी मैदानमा होमिएका थापाले जितमात्रै हात पारेनन्, आफ्नो प्रभाव र शक्ति प्रदर्शनसमेत गरे । एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाकाबाट माओवादीका प्रभावशाली नेता मानिने राजकाजी गुरुङ ‘करण’ लाई पराजित गरेका थिए ।
बागी उम्मेदवारीकाबीच बाम गठबन्धनलाई हराएका थापा कास्कीमा उम्मेदवार बडाहारिँदा कास्कीमा कांग्रेसको बिऊ जोगाइदिने एकमात्र पात्र बने । संसदमा नेकपाको दुईतिहाई बहुमतका साथ सरकारको नेतृत्वले एमालेका प्रभावशाली नेता पृथ्वीसुब्बा गुरुङले गरिरहँदा कांग्रेसको सरकार बन्ने सम्भावना नभए पनि सांसद भएकोमा नै थापालाई बधाईको ओइरो थियो ।
जब नेकपामा दरार सुरु भयो तब कांग्रेसभित्र सरकारमा जाने आकांक्षाको विजारोपण भएको थियो । नेकपा विभाजनसँगै कांग्रेसको सरकार बनाउने रणनीति थापाकै अगुवाइमा उनकै निवासतिर बढी हुने गरेको थियो ।
पृथ्वीसुब्बाको सरकार ढलाउँदै कृष्णचन्द्र नेपालीको सरकार बनेपछि भने कास्कीकै संसददेखि सरकारसम्म चतुर भूमिका निर्वाह गरेर कुमार खण्डासँग थापाको दूरी बढ्न थाल्यो । सुरुमै खड्का सुरुमै प्रभावशाली मन्त्रीसहित सरकारमा हुँदा थापा अटाएनन् । पछि थापा कानुनमन्त्री हुँदा दलित सांसद डोबाटे बिकको नाम खोसिएको आरोपसमेत खेपे तर पछि डोबाटे पनि आन्तरिक मन्त्री बनेका थिए ।
दोस्रो कार्यकालमा पनि प्रदेशको मन्त्री भएर जनअपेक्षाअनुसार काम गर्न नसकिएको बताइरहेका थापाले निर्वाचन क्षेत्रकेन्द्रित गतिविधि भने बढाइरहेका छन् । आफूले पाएको सुविधालाई जनताकै काममा लगाएको सार्वजनिक गर्दै ‘लोकप्रियता’ बढाइरहेका थापाको मिसन अब कास्की कांग्रेसबाट मेयर, नभए प्रतिनिधि सभा हुँदै मन्त्री नत्र प्रदेशको मुख्यमन्त्री भन्ने छ । तर, २०८४ को निर्वाचन आउन अझै ३ वर्ष बाँकी नै छ ।
टिकट पाउन र पाइसकेपछि पनि कतिबेला कहाँ कस्तो पत्तो काटिन्छ र कांग्रेसीलाई नै कुन कांग्रेसले हराउँछ भन्ने ठेगान नभएको कास्कीमा अहिले नै मिसन ०८४ को कुरा गर्न हतार हुने नेताहरुको भनाइ छ । तर, थापा भने मिसन ०८४ पूरा गर्ने दाउमा अहिलेदेखि नै योजना बनाइरहेका छन् ।
थापाले पछिल्लो एक वर्षमा जनताको काममा लगाएको सुविधाको सूची –

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4