 
																			२७ चैत, काठमाडौं । चितवन रत्ननगर नगरपालिकाका शालिक भण्डारी अहिले दिनहुँ केरा खेतीमा पानी ट्यांकर लिएर जानुपरेको छ ।
सामान्यतयता केरामा पानी अभाव नहुने भए पनि यसपालि केराको सुप्ला सुक्न थालेपछि ट्यांकरबाट सिँचाइ गर्न बाध्य भएका हुन् ।
‘पानी नपरेको ३/४ महिना भइसकेको छ । कतिपय केरा बुंगो हालेर निस्किन सकेको छैन, केहीको सुप्ला सुकेको छ,’ भण्डारी भन्छन् ।
यो समस्या उनको मात्र होइन, मकवानपुरगढी गाउँपालिकाका गिरिजा तिमल्सिना अहिले खडेरीले हैरान छन् ।
‘पानी नपर्दा मकै उम्रिन सकेको छैन । टुसा पलाएर फेरि सुक्न थालिसकेको छ । फागुनमा छरेको मकै अब पानी परेपछि फेरि जोतेर छर्नुपर्ला जस्तो छ । यहाँ सिँचाइ हुने ठाउँमा पनि गाह्रो छ,’ उनी भन्छन् ।
पहाडमा मात्र होइन, हिमाली भेगमा पनि हिउँ नपर्दा समस्या छ । बझाङ साइपाल गाउँपालिकाको आयस्रोत यार्सागुम्बा जडीबुटी नै हो । अन्नबाली एक महिनालाई पनि नपुग्ने साइपालवासीको जीविकोपार्जन यार्साबाटै हुने भए पनि यसपालि आम्दानी कम मात्रै भएको छ ।
गाउँपालिका अध्यक्ष मानवीर बोहराका अनुसार पहिले–पहिले घरको एकजनाले मात्रै जम्मा गरेको यार्सागुम्बा बेचेर वर्षभरि खान पुगेपछि विगत २/४ वर्षदेखि उत्पादनमै कमी आएको छ । गत वर्ष झैं यो वर्ष पनि साइपालका डाँडाकाँडामा हिउँ बाक्लो नपरेको उनले बताए ।
बझाङको ८० प्रतिशतभन्दा बढी भूभाग उच्च पहाडी र हिमाली क्षेत्रमा परे पनि समयमा हिउँ पर्न छाडेको भन्दै किसानले ५० प्रतिशत हाराहारीमा जमिन बाँझो हुन थालेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ ।
कृषि उत्पादन घट्छ, स्थिति गम्भीर छ : कृषि मन्त्रालय
कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ हिउँदमा पानी र हिउँ नपर्दा उत्पादन घट्ने बताउँछन् ।
‘अहिले पानी नपरेर कृषि क्षेत्रलाई मात्र होइन, सबैलाई समस्या परेको छ । तर, विशेषगरी कृषि क्षेत्रमा असर दीर्घकालीन रूपमा पर्ने देखिएको छ,’ श्रेष्ठ भन्छन् ।
उनले कृषि उत्पादन घट्ने भन्दै हिउँदे बालीमा परेको असरले कृषिको वार्षिक क्यालेन्डर पनि बिग्रिने खतरा रहेको सुनाए ।

‘कोदो, धान बाली उठाएपछि तोरी, गहुँ लगाएर उठाउने बेला भइसक्यो । यति बेला त गहुँ, तोरी उठाएर मकै उमार्ने बेला भइसकेको थियो तर पानी नपर्दा त्यो सबै रोकिएको छ । विशेषगरी पहाडी क्षेत्रमा ठूलो समस्या परेको छ,’ उनले भने ।
पानी नपर्दा साना कुला, राजकुलो, नहरहरू सुकेको भन्दै सिँचाइ नहुँदा कतिपय स्थानमा खेत फुटेर बसेको बताए । ‘आकाशे पानीको भरमा बस्ने बाली त ध्वस्तै भइहाल्यो, सिँचाइ हुने कतिपय स्थानमा पनि पानी सुकेर सिँचाइ हुन नपाएको मन्त्रालयमा रिपोर्टिङ छ । यसले कृषि उत्पादनमा पर्ने क्षति ठूलो देखिन्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
‘जलवायु परिवर्तनको सबैभन्दा ठूलो क्षति कृषिमा’
सहसचिव श्रेष्ठले जलवायु परिवर्तनकै कारण वर्षा नभएको भन्दै यसको असर सबैभन्दा धेरै कृषिलाई हुने बताए ।
‘अहिले हिउँ पर्याप्त परेन, कतिपय ठाउँमा पर्दै परेन, पानी नपरेर खडेरी लाग्यो, यसको असर नदीनालामा परिसक्यो । सिँचाइ रोकिएको छ, आकाशे पानीको भरमा हुने खेती नष्ट भएको छ,’ उनले भने, ‘जलस्रोत सुक्दा बिस्तारै सुक्खा क्षेत्र बढ्ने सम्भावना छ । यसको प्रत्यक्ष र पहिलो असर नै कृषिलाई परेको छ ।’

लामो समय पानी नपर्दा पहिलो असर निम्न वर्गका किसानलाई पर्ने उनले बताए । ‘जो जीवन निर्वाहमुखी खेती गरिरहेका थिए तर पानी नपर्दा त्यो खेतीले पनि निर्वाह हुँदैन, उनीहरूका लागि त भोकमरी आए झैं भइसकेको छ,’ उनी थप्छन्, ‘यी सबै कुराले के देखाइरहेको छ भने जलवायु परिवर्तनको खतरा मुखमै आइसकेको छ । अब छाड्दैन भन्ने नै हो ।’
पानी नपर्दा हुने उत्पादन कमी अध्ययन गर्न मन्त्रालयको गृहकार्य
कृषि मन्त्रालयका एक उच्च अधिकारीका अनुसार कृषि मन्त्रालयले चालु आर्थिक वर्ष कृषि उत्पादन कति घट्न सक्छ भन्ने अध्ययन गर्न गृहकार्य गर्न थालेको छ ।
‘अब कृषि उत्पादनमा कमी आउने निश्चित छ, त्यसकारण गत वर्षको उत्पादनको आधार र खेती भएको क्षेत्रका आधारमा यो वर्ष खेती हुन नसकेको, उत्पादन हुन नसक्ने क्षेत्रलाई अध्ययन गरेर कति उत्पादन घट्छ भन्ने तथ्यांक निकाल्ने तयारी भइरहेको छ,’ ती अधिकारीले भने ।
उनले स्थानीय तहहरूको एकीकृत तथ्यांक नपाउँदा विवरण जम्मा गर्न गाह्रो भएको बताए । ‘कुन क्षेत्रमा उत्पादन कति घट्यो भन्ने तथ्यांक एक ठाउँमा छैन तर खोज्नैपर्ने देखिन्छ । त्यसपछि मन्त्रालयले सार्वजनिक गर्छ,’ उनले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4