+
+
Shares

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. तिवारी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १८:०३

२९ चैत, पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई शुक्रबार कुलपति नियुक्त गरेका हुन् ।

कुलपति बन्ने अन्तिम छनोटमा परेका ३ जनाबाट पोखरा विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत बनिसकेका तिवारीलाई मुख्यमन्त्री पाण्डेले कुलपति नियुक्त गरेका हुन् । उनीसँगै प्रा.डा. विश्वकल्याण पराजुली र सरोज कोइराला कुलपतिका आकांक्षी थिए ।

मुख्यमन्त्री पाण्डेले लोकतान्त्रिक पक्षका मानिने तिवारीलाई कुलपति नियुक्त गर्दै विवाद र राजनीतिक प्रभावमुक्त विश्वविद्यालय बनाउन आग्रह गरेका छन् । तर, गण्डकी विश्वविद्यालय पनि स्थापना कालदेखि नै विभिन्न विवाद र राजनीतिक प्रभावमा परेको भन्दै आलोचना हुँदै आएको छ ।

कुलपति प्रा.डा. गणेशमान गुरुङको फागुन ४ गते ५ वर्षीय कार्यकाल सकिएसँगै अर्का कुलपतिका लागि दरखास्त आह्वान भएको थियो । २०७६ सालमा ऐन बनाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वविद्यालय स्थापना गरेको थियो ।

विश्वविद्यालयलाई स्वयत्त र सरकारको प्रभाव नपार्ने हेतुले नै गण्डकीमा ऐनमै पूर्णकालीन शैक्षिक क्षेत्रको कुलपतिको व्यवस्था गरिएको छ ।

२०७६ सालमा ऐन बनाएर सरकारले गठन गरेको विश्वविद्यालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै मुख्यमन्त्री पाण्डे सुरुदेखि नै असन्तुष्ट थिए । पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा खुलेको विश्वविद्यालयमा अहिले करार सम्झौतामा रहेका ७८ जना शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया बढाइएपछि सरकार र विश्वविद्यालयबीचमै आखड देखिएको थियो भने विश्वविद्यालयविरुद्ध मुद्दा उच्च अदालतमै विचाराधीन छ ।

७८ जना शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया रोक्न अन्तरिम आदेशसमेत अदालतले दिएको छ । विश्वविद्यालयमाथि विभिन्न प्रश्नहरू उठ्दै आएको भन्दै मुख्यमन्त्री पाण्डेले त्यसलाई चिर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।

पोखरा विश्वविद्यालयमा डिन हुँदै उपकुलपतिसमेत भएका तिवारी अहिलेसम्म विवादमा तानिएका व्यक्ति होइनन् । स्वतन्त्र अनुसन्धानकर्ता तथा विकास योजना र मानव बस्ती विकासका प्राध्यापक तिवारीले भूगोलमा स्नातकोत्तर (एमए) हासिल गरेका हुन् ।

मानवबस्ती विकासमा एमएससी. र ग्रामीण तथा क्षेत्रीय विकास योजनामा पीएचडी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्डबाट प्राप्त गरेका तिवारीलाई मुख्यमन्त्री पाण्डेले कुलपति रोज्ने चर्चा थियो ।

विश्वविद्यालयको कुलपति बन्न ७ जनाले आवेदन दिए पनि ५ जनाको नाम स्वीकृत भएको थियो भने छनोट समितिले अन्तिम ३ जनाको नाम मुख्यमन्त्री पाण्डेलाई बुझाइसकेको थियो ।

विश्वविद्यालय न्यासिक परिषद् अध्यक्ष प्रा.डा. कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घले सदस्य रहेको छनोट समितिले ३ जनाको नाम बुझाएका थिए ।

कुलपति बन्न आवेदन दिनेमा प्रा.डा. कुसुमाकर न्यौपाने र प्रा.डा. नवराज देवकोटा समेत थिए । तर उनीहरू पनि अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?