+

रुँदा किन झर्छ आँसु ?

२०८२ वैशाख  ३ गते १५:०४ २०८२ वैशाख ३ गते १५:०४
रुँदा किन झर्छ आँसु ?

भनिन्छ, आँखाले पनि बोल्छ । किनकी, आँखा यस्तो अंग हो, जसले मन र मस्तिष्कमा चलिरहेको भावलाई पोख्ने गर्छ । त्यसैले त चाहे त्यो सुखको क्षण होस्, दुख:को अवस्था होस् त्यो आँखाले पनि व्यक्त गर्छ ।

यस्तो अवस्थामा आँखाबाट आँसु खस्छ ।

आँसुले हामीभित्र भावना हरू लाई व्यक्त गर्ने अद्‍भूत माध्यमको रूपमा काम गर्छ ।

तपाईंले कहिले सोच्नु भएको छ ? रुँदा किन आँसु आउँछ ? यो केवल भावनात्मक प्रतिक्रिया हो वा यसमा शरीर विज्ञानको पनि भूमिका छ ?

आँसु एक तरल पदार्थ हो, जुन आँखाको ल्याक्रिमल ग्रन्थीबाट उत्पादन हुन्छ ।

यो ग्रन्थी आँखाको माथिल्लो बाहिरी भागमा अवस्थित हुन्छ, यो आँसुको उत्पादन तथा स्रावका लागि जिम्मेवार हुन्छ ।

आँसुमा पानी, इलेक्ट्रोलाइट्स (जस्तै सोडियम र पोटासियम), प्रोटिन र लाइसोजाइमजस्ता एन्टिब्याक्टेरियल तत्वहरू हुन्छन् ।

आँसुलाई विज्ञानले तीन प्रकारका बाँडेको छ ।

बेसल आँसु

यी आँसु निरन्तर उत्पादन हुन्छन् । यसको उद्देश्य आँखालाई सुख्खा पार्न नदिनु, धूलो र ब्याक्टेरियाबाट जोगाउने र समग्र आँखालाई स्वस्थ्य राख्ने काम गर्नु हो ।

रिफ्लेक्स आँसु

यी आँसु बाहिरी उत्तेजनाको प्रतिक्रिया दिने क्रममा निस्कन्छन् । जस्तो कि, धूलो-धुवाँ हुँदा, प्याज काट्दा वा आँखामा केही पर्दा तुरुन्त आँसु बग्ने गर्छ ।

भावनात्मक आँसु

यी आँसु भावनात्मक अवस्थाहरू, दु:ख, खुसी, रिस वा तनावको प्रतिक्रियामा निस्कन्छन् । सबैभन्दा बढी मन दुखी हुँदा आँसु झर्छ ।

आँसु निस्कदा शरीरमा के हुन्छ ?

रुँदा आँसु निस्कनुमा शरीरको स्नायु प्रणाली र हार्मोनल प्रक्रियाको ठूलो भूमिका हुन्छ । जब हामी भावनात्मक रूपमा उत्तेजित हुन्छौँ, हाम्रो मस्तिष्कको लिम्बिक प्रणाली, विशेषगरी ‘हाइपोथ्यालमस’ र ‘अमिग्डाला’ सक्रिय हुन्छ ।

स्नायु प्रणालीसँग जोडिएको लिम्बिक प्रणाली भावनाहरू सँग सम्बन्धित हुन्छ, जसले मुटुको गति, श्वासप्रश्वास र आँसु उत्पादनलाई नियन्त्रण गर्छ ।

जब हामी रुन्छौँ, प्यारासिम्प्याथेटिक स्नायु प्रणाली सक्रिय हुन्छ । यो प्रणालीले ल्याक्रिमल ग्रन्थीलाई आँसु उत्पादन गर्न उत्तेजित गर्छ । यो प्रक्रिया मस्तिष्कको न्यूरोट्रान्समिटर एसिटाइलकोलिनमार्फत नियन्त्रित हुन्छ ।

हार्मोनल प्रभाव

एड्रेनोकोर्टिकोट्रोपिक हार्मोन र ल्यूसिन एन्केफालिनजस्ता तत्वहरू पाइन्छन्, जुन तनाव र भावनासँग सम्बन्धित हुन्छन् । भावनात्मक आँसुले यी तनाव हार्मोनलाई बाहिर निकाल्न सहयोग गर्छ, जसले मानसिक शान्ति प्रदान गर्छ। जसका कारण रोएपछि मन हल्का भएको अनुभव हुन्छ ।

कस्तो संकेतले आँसु झर्छ ?

मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स र सिंगुलेट कोर्टेक्सले भावनात्मक प्रतिक्रिया देखाउन भूमिका खेल्छ । यी क्षेत्रहरूले ल्याक्रिमल ग्रन्थीलाई सिग्नल पठाउँछन्, जसले आँसुको स्राव हुन्छ ।

अन्य प्राणीभन्दा मानवमा आँसु फरक

डार्विनको सिद्धान्तअनुसार रुनु एक विकासवादी विशेषता हो, जसले सामाजिक बन्धन र संचारलाई बलियो बनाउँछ । तनावलाई पनि कम गर्छ । रुँदा शरीरले तनाव हार्मोनहरू, कोर्टिसोल बाहिर निकाल्छ । इमोशन जर्नलमा प्रकाशित एक अध्ययन अनुसार रुँदा कोर्टिसोलको स्तर कम हुन्छ, जसले मानसिक र शारीरिक तनावलाई कम गर्छ ।

आँसुले सहानुभूति र समर्थनका लागि संकेतको काम गर्छ

इभोल्युशन साइकोलोजीमा प्रकाशित एक अध्ययन अनुसार व्यक्तिलाई देख्दा अरूमा सहानुभूति र सहयोगको भावना जाग्छ, जसले सामाजिक तथा पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ ।

त्यस्तै, रुँदा इन्डोरफिन र अक्सिटोसिनजस्ता हार्मोनहरू निस्कन्छन्, जसले शान्ति र सान्त्वनाको अनुभव गराउँछ । मोटिभेसन एण्ड इमोशन जर्नलमा प्रकाशित एक अनुसन्धानले यो प्रक्रियालाई ‘क्याथार्सिस’को रूपमा वर्णन गरेको छ ।

रोचक कुरा के छ भने आँसु एउटा मात्र नभई विभिन्न भावनासँग जोडिन्छ ।

जस्तो कि, दु:ख र शोक

दु:खमा रुँदा मस्तिष्कले भावनात्मक पीडालाई अभिव्यक्त गर्न आँसुलाई माध्यम बनाउँछ । जनरल अफ सोसल एण्ड किल्निकल साइकोलोजीमा प्रकाशित एक अध्ययनले दु:खमा रुनुले मानसिक स्वास्थ्यलाई सुधार गर्छ।

खुसी

खुसीको आँसुले भावनात्मक ओभरलोडलाई व्यक्त गर्छ । अत्याधिक खुसीले पनि लिम्बिक प्रणालीलाई उत्तेजित गर्छ, जसले आँसु निम्त्याउँछ भनेर ‘साइकोलोजिकल साइन्स’मा प्रकाशित एक अनुसन्धानले देखाएको छ ।

रिस र निराशा

रिसमा रुँदा मस्तिष्कले तनाव र निराशालाई बाहिर निकाल्छ। यो प्रक्रिया प्यारासिम्प्याथेटिक स्नायु प्रणालीको सक्रियतासँग सम्बन्धित छ ।

वैज्ञानिक अनुसन्धानले के भन्छ ?

वैज्ञानिकहरुले आँसुको रासायनिक संरचना र यसको कार्यलाई गहिराइमा अध्ययन गरेका छन् ।

अपथालमोलोजी नामक जर्नलमा प्रकाशित अध्ययन अनुसार भावनात्मक आँसुमा बेसल र रिफ्लेक्स आँसुको तुलनामा प्रोटिन र हार्मोनको मात्रा फरक हुन्छ ।

भावनात्मक आँसुमा ल्यूसिन एन्केफालिन नामक एक प्राकृतिक पेनकिलर समेत पाइन्छ । जसले रोएको केही क्षणमै आनन्दको अनुभव हुन्छ ।

जनरल अफ बिहेभिरियल मेडिसिन अनुसार रुँदा रक्तचाप र तनावको स्तर कम हुन्छ । साथै, प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउन पनि सहयोग गर्छ ।

तुलनात्मक रुपमा महिला बढी आँसु झार्छन्

जर्नलमा प्रकाशित एक अनुसन्धान अनुसार महिला पुरुषको तुलनामा धेरै रुन्छन् । आँसु आउनका लागि पुरुष र महिलाको शरीरमा भिन्दा भिन्दै हर्मानको आवश्यकता पर्छ ।

महिलाको आँखामा आँसु आउनका लागि प्रोल्याटिन नामको हर्मोनले काम गर्ने गर्छ भने पुरुषका लागि टेस्टेस्टेरोन हर्मोनले आँसु ल्याउन मद्दत गर्ने गर्छ ।

भावनात्मक रुपमा बढी महिलालाई प्रभाव पार्छ । त्यसको उपज प्रोल्याक्टिन हार्मोनको उच्च स्तर हो ।

यो हर्मोनले व्यक्तिलाई बढी भावुक बनाउँछ ।

कतिपय अवस्थामा सामाजिक अपेक्षाहरूले गर्दा पनि महिलाहरू बढी प्रभावित हुन सक्छन् ।

विज्ञहरुका अनुसार विभिन्न संस्कृतिमा रुनुको अर्थ र स्वीकार्यता फरक हुन्छ ।

उदाहरणका लागि, पश्चिमी समाजमा रुनु व्यक्तिगत कमजोरीको रूपमा हेरिन्छ, जब कि अन्य संस्कृतिहरूमा यो भावनात्मक शक्तिको प्रतीक रुपमा पनि मानिन्छ ।

आँसु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय