
काठमाडौं । सन् २००५ देखि सञ्चालनमा आएको सांगीतिक ‘पलेँटी’मा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । यो मञ्चमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी उनले शुक्रबार र शनिबार गीत गाउने भएकी हुन् ।
‘पलेंटी’मा उनले शास्त्रीय संगीत प्रस्तुत गर्नेछिन् । उनी अहिले ‘पलेँटी’को कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ ।
१८ वर्षपछि ‘पलेँटी’मा एकल गायनको तयारीमा रहेकी संगीता उत्साहित देखिन्छिन् । भन्छिन्, ‘पलेँटीमा एकल गायन लिएर लामो समयपछि उत्रँदै छु, उत्साहित छु । यस मञ्चले मलाई सधैँ आनन्दित बनाउँछ । खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म ‘नोस्टाल्जिक’ बन्ने गर्छु ।’
२० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका संगीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन् । उनी भन्छन्, ‘यो पलेँटीमा शास्त्रीय संगीत अथवा क्लासिकल र सेमी-क्लासिकलको मिश्रण हुनेछ । खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ । मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु ।’
प्रधान नेपाली संगीतमा लामो समयदेखि क्रियाशील कण्ठ-शिल्पी हुन् । विश्वभारती विश्वविद्यालय शान्तिनिकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छिन् ।
पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्नशमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन् । ती शब्दहरूमा धुन अग्रज संगीतकार नातिकाजी, शन्ति ठटाल, मानवीर सिंहः गुरुदेव कामत, अमृत गुरुङ र आभासले भरेका छन् । पलेँटी अंग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा आयोजना हुन्छ ।
प्रतिक्रिया 4