+
+
Shares

काव्य स्नानले भिज्यो भूषिताको ‘पलेँटी’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साहित्यकार भूषिता वशिष्ठले गत शुक्रबार र शनिबार कालिकास्थानको नेपालयमा ‘पलेँटी’ कार्यक्रमअन्तर्गत काव्यवाचन सम्पन्न गरिन्।
  • भूषिताले ‘बसन्त स्नान’ शीर्षकमा साहित्यका नवरसमा केन्द्रित काव्यवाचन गर्दै ‘विभत्स’ र ‘भयानक’ रस नसमेटेको जानकारी गराइन्।
  • कार्यक्रममा भूषिताले आफ्ना पिताजी कवि भरतमणि भट्टराईका कविता र आफैंले सृजना गरेका कविता पनि प्रस्तुत गरिन्।

काठमाडौं । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’ शालामा साहित्यकार भूषिता वशिष्ठको काव्यवाचन सम्पन्न भएको छ ।

साहित्यको अध्ययन र अन्वेषणमा क्रियाशील भूषिताले झण्डै ७ वर्ष पहिले पनि ‘पलेँटी’ को मञ्चमा छन्द काव्यवाचन प्रस्तुत गरेकी थिइन् । यसपालिको ‘पलेँटी’ मा अग्रज र समकालीन कविका डेढ दर्जन काव्यात्मक रचना समेटिएका थिए ।

‘पलेँटी’ का बाद्यवादकसहित मञ्चमा देखिएकी भूषिताले आफ्नो काव्यात्मक साँझलाई ‘बसन्त स्नान’ का रुपमा ग्रहण गरिदिन अनुरोध गरेकी थिइन् ।

भूषिताले आफ्नो कार्यक्रमको थालनीमा ‘कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् । सदा बसन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि ।।’ बोलसमेटिएको मङ्गलगानबाट गरेकी थिइन् ।

यो रचना वाचन गर्दा श्लोकको भाव झैँ उनको मुहारमा करुणा भावको स्निग्धता झल्कन्थ्यो । काव्य साहित्यप्रति आफ्नो धारणा राख्दै प्रस्तुत भएकी भूषिताले यसपालिको पलेँटीलाई साहित्यका नवरसमा केन्द्रित गरेकी थिइन् । उनले ‘विभत्स’ र ‘भयानक’ रसलाई भने सचेतनापूर्वक नसमेटेको जानकारी पनि गराएकी थिइन् ।

उनी भन्दै थिइन्, ‘मैले आजको साँझको शीर्षक नै ‘बसन्त स्नान’ दिएँ, यति सुन्दर जमघटमा ‘विभत्स’ र ‘भयानक’ रस घोप्ट्याउन मन लागेन यद्यपि ती पनि साहित्यभित्रका रस हुन् । तर मैले आज तिनलाई आफ्नो तालिकामा पार्न चाहिन ।’

कवि सोमनाथ शर्मा सिग्द्यालको ‘बसन्त ऋतु’ शीर्षकको कविता हुँदै अघि बढेको कार्यक्रममा मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, अग्निप्रसाद शर्मा बराल, भैरव अर्याल जस्ता मूर्धन्य कविहरूका रचनाहरू समेटिएका थिए ।

कार्यक्रमका क्रममा भूषिताले आफ्ना पिताजी कवि भरतमणि भट्टराई र आफैंले सृजना गरेका कविताहरु पनि प्रस्तुत गरेकी थिइन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी लोकप्रिया देवकोटाको कविता प्रस्तुत गर्ने क्रममा भूषिता भन्दै थिइन्, ‘महिला भएर साहित्यमा स्थापित हुनु र स्थापित गराइनु हाम्रो समाजमा मात्र होइन पाश्चात्य समाजमा पनि गाह्रो कुरा थियो ।’

अङ्ग्रेज साहित्यकार भर्जिनिया वुल्फले लेखेको निबन्धको सन्दर्भ कोट्याउँदै भूषिता अगाडि भन्दै थिइन्, ‘सेक्सपियरकी काल्पनिक बहिनी ‘जुडिथ सेक्सपियर’ साँच्चिकै प्रतिभाशाली हुन्थिन् भने पनि उनलाई स्थापित हुन सेक्सपियरलाई जतिको सजिलो हुने थिएन ।’ लक्ष्मीप्रसाद देवकोटाकी सहोदर दिदीको साहित्यिक योगदानको कतै उल्लेख नहुनुलाई व्यङ्गय गर्दै उनी टिप्पणी गर्छिन् ।

हाँस्यरसप्रधान भैरव अर्यालको कविता सुनाउने क्रममा भूषिताले उल्लेख गरेको भानुभक्त र देवकोटाको परलोक भेटको सन्दर्भ रोचक सुनिएको थियो ।

त्यस क्रममा उनले भानुभक्तको ‘अलकापुरी कान्तिपुरी नगरी’ माथि सोही शीर्षकको प्यारोडी वाचन गरेकी थिइन् । भैरव अर्यालले आफ्नो प्यारोडी रचनामा स्वर्गबाट धरतिमा झरेका भानुको काल्पनिक अनुभूतिलाई समेटेका छन् । जसमा राजधानिको कटु यथार्थ चित्रित छ ।

कविताको अर्को चरणमा भूषिताले आफ्ना पिताजीले सृजना गरेका दुईवटा कविता वाचन गरेकी थिइन् । बाल्यकालको स्मृतिमा डुब्दै; आफू हुर्किएको परिवेश सम्झँदा उनी निकै भावुक बनेकी थिइन् ।

कार्यक्रमको अन्तिम चरणमा ‘हजुरआमालाई’ शीर्षकको स्वः रचित कविता वाचन गर्दा उनका गहहरू टिलपिलाएका देखिन्थे । जसको तरङ्ग दर्शक दीर्घसम्म फैलिएको अनुभूत हुन्थ्यो ।

कार्यक्रमको समापन लक्ष्मीप्रसाद देवकोटाको ‘एक सुन्दरी वेश्याप्रति’ शीर्षकको कविताबाट भएको थियो । पञ्चचामर छन्दमा आवद्ध यो कविता तालमय सुनिन्थ्यो । भूषिताको चेहरामा कविताको भाव अनुरुपको रौद्रता पनि झल्कन्थ्यो ।

पलेँटीका संयोजक भन्दै थिए, ‘भूषिताको कविता वाचन मनमोहक त छँदै छ । उनले कविता र साहित्यप्रति राख्ने दृष्टिकोण र दर्शनको छुट्टै महत्व छ । भूषिताको काव्यात्मक अध्ययन र अन्वेषणको माध्यमबाट हामीले नेपाली समाजको विकासक्रम र इतिहासलाई समेत चिहाउन सक्छौँ ।’

यसपालिको पलेँटीमा बाद्यवादनतर्फ किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, गिटारमा विक्रम कार्की र प्रकसन (रिदम) र इफेक्टमा पारसमणि सुवेदीले साथ दिएका थिए ।

पलेँटी हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार आयोजना हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो । प्रेक्षालयभन्दा बाहिर रहेका दर्शकलाई ध्यानमा राखेर पलेँटीको पहिलो दिनको कार्यक्रम ‘लाइभ स्ट्रिमिङ’ गर्न आरम्भ गरिएको कुरा आयोजकले जानकारी गराएका छन् ।

कार्यक्रमको अन्तमा आगामी मार्च, अप्रिल र मे महिनाको तालिका प्रस्तुत गरिएको थियो । जसमा क्रमशः मार्च महिनामा दुर्गा खरेलमार्फत दार्जिलिङका पुराना रचनालाई अभिलेखमा ल्याउने । अप्रिल महिनामा गायक पवन गोलेलाई प्रस्तुत गर्ने र मे महिनामा संगीतकार रन्जित गजमेरलाई प्रस्तुत गर्ने जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?