News Summary
Generated by OK AI. Editorially reviewed.- २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपालयको 'पलेँटी' सांगीतिक कार्यक्रम डिसेम्बर २६ र २७ मा 'आर'शालामा आयोजना हुनेछ।
- यसपटक गायक तथा संगीतकार आभासले 'संगत र सहकार्य' शीर्षकमा झन्डै एक दर्जन रचनाकारका गीत प्रस्तुत गर्नेछन्।
- पलेँटी कार्यक्रमलाई प्रत्यक्ष उपस्थित नभए पनि विश्वभरका दर्शकले वेबसाइटमार्फत पे–पर–भ्यू सेवाबाट हेर्न सक्ने व्यवस्था गरिएको छ।
काठमाडौं । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जना प्रस्तुत हुने भएका छन् ।
२० वर्ष पहिले सुरु भएको ‘पलेँटी’ कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन् । डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा अभिज्ञा घिमिरे रहने छिन् । घिमिरे एक वर्षदेखि पलेँटीसँग संगत गर्दै आएकी नयाँ पुस्ताकी कण्ठ-शिल्पी हुन् ।
यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको छ । आभास आफै गीत लेखनमा क्रियाशील कलाकार हुन् । उनले अन्य गीतकारका रचनामा पनि धुन भर्ने गरेका छन् । अन्य संगीतकारका धुनलाई स्वर दिनेसमेत गरेका छन् ।
नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झन्डै एक दर्जन रचनाकारका शब्द र धुन समेटिएका छन् । त्यसैले यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको हो ।
यो पलेँटीका निम्ति आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेटेका छन् । उनले तयार पारेको सूचीमा संगीतकार अम्बर गुरुङ, भीमबिराग र चन्द्र भण्डारी; गीतकार कालीप्रसाद रिजाल, मञ्जुल, वूँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचना छन् ।
पलेँटीमा प्रस्तुत गर्नका निम्ति आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतलाईसमेत समेटेर अभ्यास गरिरहेका छन् । जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीत पनि रहेका छन् ।
आभास भन्छन्, ‘गीत, संगीत जीवन्त कला हो । यसले हरदम सर्जकको संगत र सहकार्यको खोजी गरिरहेको हुन्छ । हामीले सञ्चालन गर्दै आएको पलेँटी त्यही खोजको एउटा पाटो हो । यसपालिको पलेँटी पनि त्यही खोजको निरन्तरता हो ।’
उनी थप्छन्, ‘संगीतमा सर्जकको मात्र होइन श्रोता र दर्शकको संगत र सहकार्यको पनि आवश्यकता हुन्छ । मलाई विश्वास छ सधैँ झैँ यसपालि पनि पलेँटीका श्रोता र दर्शकबाट न्यानो संगत पाउने नै छौं ।’
सन् २००५ को जनवरी महिनादेखि आरम्भ भएको पलेँटीले यही महिनाबाट आफ्नो २० औँ वर्ष पूरा गर्दैछ । आउँदो सन् २०२६ मा पनि पलेँटी निरन्तर रहने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।
यो महिनाको पलेँटी कार्यक्रम डिसेम्बर २६ तारिख शुक्रबार र २७ तारिख शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ । टिकट लगायत यस कार्यक्रमको सम्पूर्ण जानकारी पलेँटीको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
पलेँटीलाई आर’शालामा पुगेर प्रत्यक्ष अनुभव गर्न असमर्थ संसारभरका संगीतप्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न, पलेँटीलाई लाइभ हेर्ने व्यवस्था पनि गरिएको छ । पलेँटीकै वेबसाइटमार्फत पे–पर–भ्यूको अवधारणाअनुरुप यो सेवा प्रयोग गर्न सकिन्छ ।
प्रतिक्रिया 4