News Summary
Generated by OK AI. Editorially reviewed.- पलेँटीले २० वर्षदेखि नेपाली आधुनिक संगीतमा प्रत्यक्ष प्रस्तुति र कलाकारहरूको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेलेको छ।
- पलेँटी कार्यक्रमले ७० भन्दा बढी सर्जकहरूलाई प्रस्तुत गर्ने अवसर दिएको छ र कलाकारहरूको सांगीतिक यात्रा डिजिटल अर्काइभमा सुरक्षित छ।
- आभासले पलेँटीलाई काठमाडौं बाहिर विस्तार गर्ने योजना बनाएका छन् र देशविदेशमा दर्शकलाई लाइभ हेर्ने सुविधा उपलब्ध गराएका छन्।
२००६ को जनवरी ६ ।
एकाबिहानैको समय । धेरै त विछ्यानमै थिए सायद । काठमाडौं भर्खरै उठ्दै थियो । युवा उमेरका आभास एउटा अपेक्षा लिएर बागबजार जाँदै थिए, प्रेमध्वज प्रधानलाई भेट्न, उनकै घरमा । त्यहाँ गएर ‘यसो गर्छु, उसो गर्छु’ आभास मनमा कल्पिँदै थिए ।
संयोगवस मर्निङ वाकबाट फर्किरहेका प्रेमध्वज प्रधानसँग घरअगाडि नै उनको भेट भयो । बाटोमै उभिएर उनले प्रधानसँग आफ्नो कुरा राखे । तर, प्रधानले उनको कुरालाई ठाडै अस्विकार गरिदिए । र, घरमा समेत बोलाएनन् ।
खासमा प्रधानलाई पलेँटीमा गाउनका निमित्त आग्रह गर्न आभास गएका थिए ।
000
आज त्यो समय बितेको पनि वर्षौं भइसक्यो ।
दु:खको कुरो, प्रेमध्वज प्रधान हामी माँझ छैनन् । भलै पलेँटीमा प्रधानको उपस्थिति डिजिटल अर्काइभमा कैद छ । अर्थात्, कुनै समय गाउन अस्विकार गरेका प्रधान अन्तरालमा पलेँटी फर्किए ।
त्यही पलेँटी, डिसेम्बर २०२५ सकिएसँगै २० वर्षको वयस्क भएको छ । दुई दशक पार गरेको पलेँटी झरिलो भएको छ । वलिष्ठ, आकर्षक छ । चकमकाउँदो र एक सुन्दर युवतीले झैं शहरमा सुन्दरता छरिरहेको छ ।
तर बालसुलभमा हुँदा पलेँटीलाई कम्ता सकस थिएन । नाम चलिसकेका गायक/संगीतकारहरू हत्तपत्त पलेँटीमा पलेँटी कस्न आउन मान्दैनथे । त्यसको एउटै कारण– दुई घण्टासम्म पलेँटी कसेर लगातार गाउनु थियो । त्यो पनि प्रत्यक्ष ।
प्रेमध्वज प्रधानले आभासको सुरुआती प्रस्ताव अस्विकार गर्नुमा त्यही नै मुख्य कारण थियो । तर, आभासको आड पाएर पलेँटी हुर्किरह्यो । रोनाधोना गरेरै ठीक, पलेँटी अघि बढिरह्यो । यो मानेमा आभास पलेँटीका अभिभावक हुन् । उनले पलेँटीलाई साँच्नै कुनै बालकझैं गरेर हुर्काए ।

वर्तमान समयमा कुरा गर्ने हो भने, नेपाली आधुनिक संगीतको पुनरुत्थान गर्ने महत्वपूर्ण भूमिकामा छ, पलेँटी । यो मानेमा सानो कोठा, सीमित श्रोता र अन्तराल भए पनि पलेँटी शालिन र स्थिर छ । आखिरीमा पलेँटी कुनै हतारका लागि बनेको अथवा बनाइएको हुँदैहोइन । विशुद्ध प्रत्यक्ष संगीतमा डुबुल्की मार्न बनाइएको हो । शहरको कोलाहललाई भुलेर धुनहरूको नजिक झुम्न बनाइएको हो ।
यसले २० वर्षको कोशेढुङ्गा पार गरेको बखत आभासलाई एक विशेष कार्यक्रम गर्ने सोच नभएको पनि होइन । तर, अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नियमित कार्यक्रमहरू भइरहेकाले उनले ठूलै र अलग्गै कार्यक्रमको जरुरत ठानेनन् । बरू यही डिसेम्बरको पलेँटीमा ‘संगत र सहकार्य’ शीर्षकमा उनी आफैं गुञ्जिए । त्यसमा उनले पुराना स्मृतिहरू कोट्ट्याए । प्रसंगहरू सुनाए । र, पलेँटीमा आएका १२ सर्जकहरू अहिले यस धर्तीमा नरहेको दु:खान्त सुनाए ।
तन्नेरी पलेँटीलाई फर्केर हेर्दा आभास आफू पनि यससँगै हुर्के/बढेको बताउँछन् । पलेँटी नहुँदो हो भने यसबेला उनी भारत हुन सक्थे । किनकि झन्डै-झन्डै उनी कलकत्ता जाने तयारीमा थिए ।
तर त्यसैबखत फत्तेमान राजभण्डारीको कार्यक्रमको जिम्मा उनीमाथि आइलाग्यो । संगीतमै भविष्य बनाउने सोचिरहेका उनले फतेमानका लागि केही गीतहरू बनाए । अनि ती र पूराना गीतसहित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा फत्तेमान गुन्जिए ।
त्यसपछि साथीहरूको सल्लाहमा सन् २००५ मा ‘पलेँटी कसेर आभासलाई सुनौं’ भन्ने नामको कार्यक्रमको थालनी भयो । त्यसमा आभासले एउटा कोठामा गीत गाउँथे । उनका साथीहरू सुन्न आउँथे । त्यसरी उनले लगातार १२ वटा कार्यक्रम एक्लैले प्रस्तुत गरे । यद्यपि टिकटको शुल्क भने उही बेलादेखि लाग्थ्यो ।
अर्को वर्ष, नेपाली आधुनिक संगीतमा दार्जीलिङको योगदान रहेको महसुस गर्दै उनले दार्जीलिङ र नेपालका कलाकारहरूलाई जोडेर आफ्नो कार्यक्रमलाई परिमार्जन गर्ने सोचे । कार्यक्रममा एक महिना दार्जीलिङका कलाकार र अर्को महिना नेपालका कलाकारलाई पालैपालो प्रस्तुति दिन लगाउने योजना थियो । अनि त्यसैबेला पहिलेको लामो शीर्षकलाई छोट्याएर ‘पलेँटी श्रृंखला’ राखियो । अज पछि मात्र ‘पलेँटी’ मात्र राखियो । जुन आजपर्यन्त कायम छ ।

त्यस्तै कलालाई पुनर्जीवित गर्ने उद्देश्य कार्यक्रम गर्ने भएकाले गाउने ठाउँलाई ‘आर-शाला’ नाम दिइयो । त्यस नामले कलाको पुनरुत्थान र पुनरुत्पादनको भावनालाई समेत समेट्थ्यो । यो नाम पनि आजपर्यन्त कायम छ ।
त्यसयता अहिलेसम्म पलेँटीमा ७० बढी सर्जकहरू आइसकेका छन् । जसमा गीतकार, संगीतकार, गायक, गायिका सबै पर्छन् । मूल सर्जकबाहेकका अन्य कलाकारहरू जोड्ने हो भने त ७० माथि संख्या पुग्छ ।
चन्दन लोम्जेल, कर्म योञ्जन, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, रत्नशमशेर थापा, लक्ष्मीप्रसाद देवकोटा, अम्बर गुरुङ, मञ्जुल, प्रकाश गुरुङ, अशोक राई, किरण खरेल, मदनकृष्ण श्रेष्ठदेखि पलेँटीभन्दा कान्छी अभिज्ञा घिमिरेसम्म पलेँटीमा देखिइसकेका छन् ।
मुलत: पलेँटी संगीतको ‘माइक्रो इभेन्ट’ सिरिज हो । यसमा गीत रचनाको पृष्ठभूमि, रेकर्डिङ प्रक्रिया र विभिन्न यादहरूबारे अन्तरक्रिया पनि हुने गर्छ । प्रत्यक्ष गायन हुनाले कार्यक्रमभर दर्शकले सर्जकलाई नजिकबाट महुसस गर्न सक्छन् ।
आभासका अनुसार पलेँटीमा प्रस्तुति दिने अधिकांश कलाकारहरूका लागि यो नै पहिलो सोलो कन्सर्ट हुने गरेको पनि छ । तर, मुख्यत: पुरानो पुस्ताका कलाकारहरू जो गाउन छोडिसकेका थिए वा कुनामा पुगिसकेका थिए, उनीहरूलाई पुनर्जीवन दिनु र उनीहरूलाई नयाँ पुस्तासँग जोड्नु पलेँटीको प्रमुख उद्देश्य हो।
यस्तो उद्देश्य राखिएको पलेँटीको कार्यक्रम प्रायः वर्षभरिको क्यालेन्डर बनाएर तय गरिन्छ । अर्थात् आगामी वर्ष कुन समयमा कुन कलाकारले प्रस्तुति दिन्छन्, अघिल्लो वर्ष नै निश्चित हुन्छ । र, कलाकारहरूलाई तयारीका लागि समय दिन पहिले नै जानकारी गराइन्छ ।
दुई घण्टाको पलेँटीको एउटा शृङ्खलामा करिब १४ देखि १६ वटा गीत गाइन्छ । यदि गीतहरू पुराना छन् भने संख्या अलि बढी हुन सक्छ । तर, कार्यक्रम दुई घण्टा बढी जाँदैन । कारण दर्शक र कलाकार दुवैको सहजता हो ।

रिहर्सललाई पलेँटीले एकदमै महत्व दिँदै आएको छ । जो सुकै कलाकार भए पनि भए पनि कार्यक्रम हुनुभन्दा १० दिन अगाडि रिहर्सल सुरु गरिन्छ । कार्यक्रमपश्चात भने दार्जीलिङ/सिक्मिकका कलाकारहरूलाई घुम्न समय दिइन्छ ।
यसरी नै पलेँटीले आजको दिनसम्म आफ्नो अस्तित्व बचाइरहेको छ । सन् २००६ तिर भने एक टेलिभिजनसँगको सहकार्यमा सर्जकहरूको सांगीतिक यात्रामा केन्द्रित रहेर अन्तर्वार्ता लिने र अर्काइभ पनि गर्ने गरेको थियो । यद्यपि, त्यो समयको रेकर्डिङका टेपहरू हाल उपलब्ध नभएको आभासले बताए ।
पछि उनी आफैंले पनि अन्तर्वार्ता लिए । जसको अर्काइभ भने पलेँटीको आफ्नै युट्युब च्यानलमा समेत राखिएको छ । आजको समयमा भने छुट्टै अन्तर्वार्ता नलिई प्रस्तुतिकै क्रममा अन्तरक्रिया गरिन्छ ।
पलेँटी लक्का जवान हुँदै जाँदा नेपाली संगीत क्षेत्रमा एउटा गुण लगाएको छ । किनकि धेरै हस्तीहरूको अर्काइभ पलेँटीसँग छ । फत्तेमानले कसरी गाउँथे ? प्रेमध्वज प्रधानले कसरी गाउँथे ? लक्ष्मी प्रसाद देवकोटाले कस्ता गीतहरू लेखेका थिए ? जस्ता कुराहरू पलेँटीको आफ्नो आर्काइभमा सुरक्षित छन् ।
धेरै त युट्युबमा पनि राखिएका छन् । तर त्यहाँ गुणस्तर राम्रो भएको मात्र राखिएको आभास बताउँछन् । यद्यपि अनुसन्धानकर्ताहरूलाई आवश्यक परेको खण्डमा ती सबै सामग्री उपलब्ध गराइने उनले जानकारी दिए । त्यस्तै कतिपय सर्जकको फोटो र प्रस्तुतिको दुर्लभ अर्काइभ पलेँटीसँग भएको उनले बताए ।
आज पलेँटी काठमाडौंमा सीमित छ जस्तो लाग्न सक्छ । तर नेपाली आधुनिक संगीतमा एक किसिमको जागरण ल्याएको पलेँटी काठमाडौंबाहिर र विदेशमा पनि पुगेको छ । सुरुमा पलेँटीमा गाउन अस्विकार गरेका प्रेमध्वज प्रधानलाई लिएर नै पलेँटी अस्ट्रेलिया पुग्यो । फतेमान र अम्बर गुरुङलाई लिएर चीन गयो । उपत्यकाबाहिर हेटौँडा, नारायणगढ, पाल्पा, पोखरा र नेपालगञ्ज पुग्यो ।

पलेँटीको अर्को स्परुप हो, सानो । अर्थात् पलेँटीको नियमित कार्यक्रम सानो हलमै हुने गर्छ । विगतमा शुभचिन्तकहरूको अनुरोधमा ठूलो हलमा पनि पलेँटी गरिएको थियो । तर, कालिकास्थानमा रहेको आर-शालामा समेत दर्शक कम हुने हुँदा ठूलो हलमा आँट्न नसकेको आभासको भनाइ छ ।
यद्यपि पलेँटीलाई चाख्ने दर्शकहरू क्रमश: फेरिंदै छन् । अहिले त घरमै बसेर पलेँटीलाई लाइभ हेर्न सकिन्छ । यो सुविधा देशविदेशमा रहेका दर्शकहरूले प्रयोग गर्न सक्छन् ।
भविष्यमा पलेँटीलाई अझै सशक्त बनाउने र काठमाडौँ बाहिरका शहरहरूमा पनि कार्यक्रम विस्तार गर्ने योजनामा छन् आभास । ‘ट्राभल पलेँटी’ । उपत्यका बाहिरका शहरमा जनघनत्व पनि बाक्लै भएकाले त्यो सम्भव हुने अपेक्षा आभासको छ ।
त्यसभन्दा बढी नेपालमा हरेक कुरा अस्थिर भइरहँदा एउटै संस्थाले २० वर्षसम्म एउटा अभियानलाई निरन्तरता दिन पाउनुलाई उनी ठूलो महत्त्वपूर्ण मान्छन् ।
प्रतिक्रिया 4