News Summary
Generated by OK AI. Editorially reviewed.- गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा दार्जिलिङका गायक पवन गोले र संगीतकार रमेश गुरुङको सांगीतिक ‘पलेँटी’ सम्पन्न भयो।
- कार्यक्रममा पवन गोलेले १६ गीत प्रस्तुत गरे भने रमेश गुरुङले आठवटा गीतमा संगीत भरेका थिए र शैलीमा विविधता देखाइयो।
- पलेँटीको समापन पवनको लोकप्रिय गीत ‘हावासँगै बगुँ भन्छ’ बाट भयो र आगामी महिनाको पलेँटीमा गीतकार शिवशंकर थापालाई निम्त्याइएको छ।
काठमाडौं । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार पवन गोले र रमेश गुरुङको सांगीतिक ’पलेँटी’ सम्पन्न भएको छ ।
यसपालिको ‘पलेँटी’ मा गायक पवन गोलेले नयाँ पुराना गरी १६ वटा गीत प्रस्तुत गरेका थिए । विभिन्न संगीतकारका धुन समेटिएको सो कार्यक्रममा आठवटा गीतमा भने संगीतकार रमेश गुरुङका एकल धुन रहेका थिए ।
कार्यक्रममा प्रस्तुत हुने क्रममा पवनले आजभन्दा १४ वर्षअघि पहिलो पल्ट ‘पलेँटी’मा प्रस्तुत भएको सम्झना गरे । संगीतकार रमेश गुरुङ पनि आजभन्दा २० वर्ष पहिले ‘पलेँटी’ मा संलग्न भएका कलाकार हुन् । सन् २००६ मा रमेशले अग्रज कण्ठ शिल्पी दावा ग्याल्मोलाई हार्मोनियममा साथ दिएर ‘पलेँटी’ कसेका थिए ।
कार्यक्रमको थालनी कवि तथा गीतकार दिनेश अधिकारीको शब्द ‘माटो मात्र देश होइन’ बाट गरिएको थियो । दिवंगत संगीतकार दिव्य खालिङले धुन भरेको यस रचनामा सांस्कृतिक सिमाना देश सिमानाभन्दा बाहिर पनि फैलिएको हुन्छ भन्ने भाव बोकेको थियो ।
सधैँ झैँ यसपालि पनि कार्यक्रमको सञ्चालन ‘पलेँटी’ संयोजक तथा गायक संगीतकार आभासले गरेका थिए । उनले कार्यक्रमलाई दुई चरणमा विभाजन गरेर प्रस्तुत गरेका थिए ।
कार्यक्रमको पहिलो चरणमा संगीतकार रमेश गुरुङले धुन भरेका गीत प्रस्तुत गरिएका थिए । त्यस क्रममा गीतकार मधुकर बल, नरदेन रुम्बा, संजय बान्तवा, संजय बिष्ट, पुरन गिरी, कालुसिंह रनपहेली, जस योन्जन प्यासी, नगेन्द्र खड्का र जितेन्द्र बर्देवाका शब्दहरू समेटिएका थिए ।

संगीतकार रमेश गुरुङले धुन भरेका आठवटा गीतमा शैलीको विविधता झल्कन्थ्यो । उनले नेपाली आधुनिक संगीतमा अपनाइने शास्त्रीय, लोक र समसामयिक तीनवटै शैलीलाई आफ्नो सृजनाको आधार बनाएको झल्को पाइन्थ्यो ।
कार्यक्रमको दोस्रो चरणमा पवन गोलेको स्वरमा रेकर्ड भएर लोकप्रिय बनेका गीतका साथै केही नयाँ गीत पनि प्रस्तुत गरेका थिए ।
दोस्रो चरणको आरम्भमा पवन गोलेका पहिलो संगीतकार सुवर्ण लिम्बुका दुई धुन समेटिएका थिए । ‘छाडी जाने मायालु’ बोलको गीतको प्रस्तुतिपछि गायक पवन गोलेले मुस्कुराउँदै जानकारी गराए- ‘यो गीतको गीतकार ओम विक्रम बिष्ट दाइ हुनुहुन्छ है ।’
दोस्रो चरणको दोस्रो प्रस्तुतिमा गीतकार अरुण तिवारीको ‘मलाई थाहा छैन’ बोलको गीत रहेको थियो । जुन गीतलाई पवनले केही दिन पहिलेमात्र संगीतकार सुवर्ण लिम्बुबाट प्राप्त गरेर सिकेको जानकारी गराए ।
त्यस चरणमा प्रस्तुत भएका थप गीतमा ‘कहीँ तिमीलाई’, ’कति संगालेँ’, ’भत्किएको महल’, ’कहाँ दिन खुल्छ’ बोलका गीतहरू रहेका थिए। उल्लेखित गीतहरू क्रमशः नरदेन रुम्बा, अशोक गुरुङ, पारस गजमेर र प्रमोद स्नेहीले सृजना गरेका शब्दहरू हुन् । संगीतकार बसन्त छेत्री, पवन गोले, पारस गजमेर र प्रदीप छेत्रीले धुन भरेका गीतहरूको प्रस्तुतिपछि कार्यक्रमले अन्तिम चरण प्रवेश गरेको थियो ।
कार्यक्रमको समापन गोलेको अत्यधिक लोकप्रिय गीत ’हावासँगै बगुँ भन्छ’ बाट भयो । संगीतकार सुवर्ण लिम्बुले नै धुन भरेको यस गीतलाई अग्रज गीतकार शिवशंकर थापाले सिर्जना गरेका हुन् । आगामी महिनाको पलेँटीमा उनै गीतकार शिवशंकर थापालाई निम्त्याइएको छ । शिवशंकर थापा प्रसिद्ध गायक दीप श्रेष्ठका प्रारम्भिक चरणका गीतकार हुन् । उनले रचेका गीतहरूमा ’भन्थी मेरी उनी’ ’बिधुवालाई सिन्दूरको रहर’ लगायत अनेकौं गीतहरू लोकप्रिय छन् ।
आयोजकले आगामी ‘पलेँटी’ को बुकिङ खुलिसकेको कुरा पनि जानकारी गराएका छन् । त्यसका निम्ति पलेँटीको आधिकारिक वेभसाइटमा प्रवेश गर्नुपर्ने हुन्छ ।
यसपालिको पलेँटीमा बाद्यवादनतर्फ हार्मोनियममा संगीतकार रमेश गुरुङ, किबोर्डमा सुनील सिंह नेपाली, बाँसुरीमा मिलन घिमिरे, ताल बाजाहरूमा मिलेश तण्डुकार र सुन्दरकुमार महर्जन, रिदम गिटारमा प्रवीण पुलामी मगर र बेस गिटारमा कृपेश लोहनीको साथ थियो ।
प्रतिक्रिया 4