+
+
Shares

बाकसमा सुदीप, शोकमा आफन्त

शव ल्याइपुर्‍याउनु अघि नै सुदीपको घरमा आफन्त र छिमेकीको भिडभाड थियो । घुम्न गएका सुदीप बन्दबाकसमा फर्किँदा उनका आफन्त र छिमेकी भक्कानिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ११ गते ९:०७

११ वैशाख, बुटवल । भारत जम्मुकश्मिरको पहलगाममा आतंकवादी हमलामा परेर ज्यान गुमाएका बुटवल–११ कालिकानगरका सुदीप न्यौपानेको शव आज बिहान घर ल्याइपुर्‍याइएको छ । सुदीपको शव आजै त्रिवेणी घाट लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मंगलबार दिउँसो बन्दुकधारीले गोली हानेर हत्या गरेका सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्‍याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए ।

आज (बिहीबार) बिहान सात बज्नै लाग्दा सुदीपको डेथ बडी बेलहिया नाका ल्याइएको थियो । त्यहाँबाट भारतीय पक्षले सुरक्षाकर्मीको रोहवरमा सुदीपका आफन्तलाई शव जिम्मा लगाएको थियो । त्यसपछि शव एम्बुलेन्समा राखेर बुटवल–११ कालिकानगरको मनकामनापथस्थित घरमा ल्याइएको थियो ।

शव ल्याइपुर्‍याउनु अघि नै सुदीपको घरमा आफन्त र छिमेकीको भिडभाड थियो । सुदीप नरहेको खबरले टोलका बासिन्दा र आफन्तजन मंगलबारदेखि नै शोकमा थिए । शव घर ल्याइपुर्‍याउँदा आफन्त र छिमेकी भक्कानिए ।

२७ वर्षीय सुदीप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्ले सहित शनिबार बुटवलबाट कश्मिरको मिनी स्वीटरजल्याण्ड समेत भनिने वैसरण उपत्यकामा घुम्न गएका थिए । त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए ।

सुदीपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाउन सफल भएका थिए । भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदीपको शव ल्याएर आमा, बहिनी र ज्वाइँ बुटवल आएका छन् । आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए ।

त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।

शिक्षण पेशामा आवद्ध बुवा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर थाहा पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?